‘एक्स नाइन’ बाट कमब्याक गर्दै ‘सुधांशु जोशी

 

काठमाडौँ-  बलिउडका सुनिल सेठ्ठीलाई समेत अनुबन्ध गरेको दाबी गरिरहेको निर्माण टिमले मंगलबार सुधांशु जोशीलाई अनुबन्ध गरेको जनाएको छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’मार्फत दर्शकमाझ फर्कन लागेका हुन् ।

आफूले निर्माण गरेको फिल्म ‘नेपाल’ व्यावसायिक रुपमा असफल भएपछि उनी अमेरिका उडेका थिए । सुधांशुले ‘जाली रुमाल’, ‘विशालु’, ‘रणभूमि’ र ‘हत्या’ जस्ता फिल्ममा अभिनय गरेका छन् । निर्देशक मुकुन्दका अनुसार आफ्नो फिल्ममा सुधांशुको अभिनय रहने करिब पक्कापक्की भइसकेको छ । यो फिल्ममा यसअघि अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल अनुबन्धित भइसकेका छन् । फिल्ममा बलिउड अभिनेता सुनील सेठ्ठीको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

फेब्रुअरीबाट छायांकनमा जाने फिल्म नेपालसँगै युरोप र अमेरिकामा खिचिनेछ । निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको फिल्ममा वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको लगानी रहनेछ ।