फिल्म ‘परदेशी-२’कहिले ?

काठमाडौं- २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ फिल्म ‘परदेशी-२’ को छायाँकन शुरु गरिएको थियो । २०७७ सालको दसैंमा चलचित्र प्रदर्शन गर्ने योजना भए पनि कोरोना महामारीका कारण फिल्म प्रदर्शन हुन सकेन ।निर्देशक नारायण रायमाझीले आउँदो दसैंमा नेपाली कथानक चलचित्र ‘परदेशी २’को प्रदर्शन गर्ने तयारी गरेका छन् । निर्देशक रायमाझीले २०७८ को दसैंमा प्रदर्शन गर्ने तयारी गरे । तर, पुनः अर्को लहरको कोरोना आयो । दोस्रो लहरको कोरोना महामारीले ‘परदेशी २’को प्रदर्शन रोकियो । चलचित्रमा दसैंको परिवेशको कथा भएकाले पनि ‘परदेशी २’दसैंको अवसर पारेर प्रदर्शन गर्नु पर्ने निर्देशक रायमाझी बताउँछन् ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रबाट गायक प्रकाश सपुत ठूलो पर्दामा डेब्यू गर्ने तयारीमा छन् । निर्देशक रायमाझीले राजेश वंशलसँग निर्माणमा सहकार्य गरेको चलचित्रमा प्रकाशका साथमा दिलीप रायमाझी, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लू लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । दसैंको कथा भएकाले आउँदो दसैंमा प्रदर्शन गर्ने सोच बनाए पनि औपचारिक रूपमा चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।