विदेशी फिल्म नेपाल भित्रिँदा ‘चपली हाइट ३’ निर्माताको आक्रोश

 

 

काठमाडौं-  नेपाली फिल्म क्षेत्र बिस्तारै चलायमान हुदैँछ तर दर्शक तान्ने काम भने विदेशी फिल्मले गर्यो । महामारीले सिनेमा घर बन्द भएपछि बनेका फिल्म कहिलेसम्म यत्तिकै राख्ने, निर्माता उपायविहीन थिए । बाहिर जस्तो नेपालमा ओटिटीको विकल्प पनि छैन । पुस २ गते फिल्म ‘चपली हाइट ३’ रिलिज हुँदैछ । तर, यसै दिन अल्लु अर्जुन अभिनित साउथ चलचित्र ‘पुष्पा’ पनि नेपालमा रिलिज हुँदैछ । यो चलचित्रलाई वितरक मनोेज राठीले नेपाल भित्र्याएका हुन् ।आफूले घोषणा गरेकै मितिमा विदेशी फिल्मका वितरकले दक्षिण भारतीय फिल्म रिलिज गर्ने भएपछि निर्माता अर्जुनकुमार भने आक्रोशित बनेका छन् ।

उनले आइतबार बारम्बार स्ट्याटस लेख्दै डब फिल्म ल्याउने वितरकलाई दलाली गरेको आरोप लगाएका छन् । ‘दुई लाखमा हिन्दी डब फिल्म लेराएर दलालहरू अझै नेपाली फिल्मलाई तर्साउन खोज्छस् । याद गर नेपाली फिल्ममेकरलाई सधैँ यसरी नसताउ । फेरि पछुताउनु पर्ला ।’निर्माता अर्जुनकुमारले संकेत गरेको डब फिल्म तेलगु फिल्म ‘पुष्पा’ हो । दुई भागमा बनेको यो फिल्म अर्जुनकुमारको ‘चपली हाइट ३’ प्रदर्शन हुने दिन नै नेपालमा पनि प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई गोपीकृष्ण मुभिजले नेपालमा वितरण गर्न लागेको हो ।