फिल्म हिट, कलाकार फ्लप ?

लूट फिल्मबाट एकाएक हिट भएका कलाकार हुन्, सौगात मल्लदयायाङ राई । तर, यो फिल्मभन्दा अघि नै सिने क्षेत्रमा आएका कर्मा अहिले पनि गतिलो फिल्मका लागि संघर्षरत छन् ।
फोटोमा दाँयाबाट क्रमस : कर्मा शाक्य र संयम पुरी
‘फस्ट लभ’बाट नै चर्चा पाएका कर्मालाई अझै पनि फिल्म क्षत्रेमा ठूलै संघर्ष गरिरहनु परेको छ । दयाहाङ र सौगातलाई भने फिल्मको स्क्रिप्ट पन्छाएर भ्याइनभ्याइ छ । अब्बल अभिनय क्षमता भएर पनि अभागी ठहरिनेमा कर्मा पहिलो नम्बरमा आउँछन् । पहिलो फिल्म हिट भएर लामो यात्रा तय गर्न नसक्नेमा संयम पुरी पनि अग्रपंक्तिमा आउँछन् । उनको पहिलो फिल्म सायद सुपरहिट भएको थियो तर त्यसयता भने संयमको करिअरले गति लिन सकेको छैनन् ।
फोटोमा दाँयाबाट क्रमस : विनिता बराल, अमिर गौतम, गरिमा पन्त, सविन श्रेष्ठ, राज तिमल्सिना
सिने क्षेत्रमा त्यस्ता धेरै नाम छन्, जुन कलाकारले फिल्म चलाए । तर, आफू चलेनन् । पहिलो फिल्मबाटै नोटिस भएर ‘ब्याक टु ब्याक’ फिल्म हात पार्ने र सफल हुँदै जाने कलाकारहरु धेरै छन् । तर, त्योभन्दा बढी पहिलो फिल्मबाट चर्चा बटुलेर गुमनाम भएकाहरु छन् ।
कुनै समय ‘चपली हाइट’बाट चर्चामा आएकी नायिक विनिता बराल त्यसपछि फिल्म क्षेत्रमा टिक्न सकिनन् । केही अरु फिल्म खेले पनि उनलाई ती फिल्मले चपलीको हाइट दिन सकेनन् ।
‘चपलीहाइट’मै देखिएका नायक अमिर गौतमको हकमा पनि त्यही भयो । फिल्म व्यवसायिक रुपमा सफल रह्यो । तर, आमिरलाई एकादुई पत्रकारले बाहेक कसैले चिन्दैनन् । फिल्म हिट भएर पनि कलारकार फ्लप भएका त्यस्ता धेरै उदाहरण छन् ।
एनआरएनसँग बिवाह गरेर फिल्म क्षेत्रबाट अलग्गिएकी गरिमा पन्त पनि त्यस्तै अभागी कलाकार हुन् । उनले अभिनय गरेको फिल्म ‘झोला’ले निकै चर्चा कमायो । पैसा पनि । तर, गरिमालाई भने त्यसले कुनै फाइदा भएन । त्यसैले उनलाई फिल्म क्षेत्रमा टिकिरहन मुस्किल पर्यो र विदेश भासिइन् ।
केही वर्ष अघि रिलिज भएको फिलम ‘सिलसिला’का कलाकारले पनि त्यही नियति भोगे । सिलिसिला व्यवसायिक रुपमा निकै सफल भयो । तर, नायक राज तिमल्सिनालाई फिल्म क्षेत्र फापेन । सोही फिल्मकी हिरोइन सोनिया केसी पनि फ्लप भइन् । त्यसपछि केही फिल्म खेले पनि दुवैले फिल्म क्षेत्र अंगालिरहन सकेनन् ।
त्यस्तै कलाकारको सूचीमा आउँछन् नायक सविन श्रेष्ठ । रेखा थापाको ब्यानरमा थुप्रै चलचित्रमा काम गरेका सविन सुगठित शरीर भएका सीमित नेपाली नायकमध्ये अग्रपंक्तिमा पर्छन् । रेखा थापाले पत्याए पनि सविनलाई अरु निर्माता निर्देशकले पत्याउन सकेका छैनन् । उनले अझै पनि फाटफुट बाहेक फिल्महरु पाइरहेका छैनन् । रेखाकै फिल्मबाट उदाएका किशोर खतिवडा पनि यही क्याटोगोरीमा पर्छन् । रेखाले निर्माण गरेर हिट भएका धेरै फिल्ममा किशोर पनि छन् तर किशोर अहिले एक दिन लागेर अर्को दिन उत्रने फिल्ममा मात्र बिजी छन् ।
फोटोमा दाँयाबाट क्रमस : नीता ढुंगाना, स्वरुपपुरुष ढकाल, सोनिया केसी, किशोर खतिवडा
यस्तै अभागी कलाकारको सूचीमा पर्छिन्, नायिका नीता ढुंगाना । चर्चाको हिसावले उनी अरु हिरोइनभन्दा कम छैनन् । उनले खेलेको ‘६ एकान ६’ले ठूलो व्यवसायिक सफलता पाएको थियो । यही फिल्मबाट दीपकराज गिरीदीपाश्री निरौलाले स्टारडम कहाँबाट कहाँ पुर्याए तर सोलो हिरोइन भएको फाइदा नीताले लिन सकिनन् । तर, त्यसपछिका उनका फिल्मी यात्रा त्यति सुखद् रहेन ।
तर, उनलाई पनि जुन दरमा ब्यानरका फिल्म हात लाग्नुपर्ने हो त्यो भइरहेको छैन । उनले खेलेका धेरै फिल्मले चर्चा पाएका छन् । उनको अभिनय क्षमताले चर्चा पाएको छ । तर, उनी पनि हिट फिल्महरुका फ्लप हिरोइनको सूचीमै पर्छिन् ।
दीपक दीपाकै ब्यानरबाट आएका स्वरुपपुरुष ढकाल पनि यही क्याटोगोरीमा पर्छन । छक्का पन्जा २मा स्वरुपको रोल पनि राम्रो थियो र फिल्म पनि सुपरहिट थियो । तर स्वरुपले त्यसयता अर्को फिल्म पाएको खबर छैन । यही नियति प्रेमगीत २ हिरोइन अश्लेषा ठकुरीको पनि छ । उनलाई पनि कुनै निर्माताले लिन चासो देखाएको जानकारीमा आएको छैन । अनमोल केसीको अपोजिटमा डेब्यु गरेकी रिस्ता बस्नेतको पनि पहिलो फिल्म होस्टल हिट थियो । तर रिस्ताले त्यसयता एकदुई फिल्म खेलेर बिट मारिसकेकी छिन् । रिदमबाट भित्रिएका सोहित मानन्धरले पनि आफैंलाई हिट गराउन भरमग्दुर प्रयास गरे पनि सकेनन् । यस्तै अवस्था रिस्मा गुरुङको पनि छ । कबड्डी सिरिजबाट चर्चामा आएकी रिस्मालाई तेस्रो फिल्म झुम्कीमा देखियो तर त्यो फ्लप भएपछि उनको पनि नाक मुख देखिएको छैन ।
सावित भएको सत्य के हो भने फिल्म क्षेत्रमा टिकेर गरिखान निकै गाह्रो छ । यहाँ कतिपयलाई एउटा फिल्मबाट प्राप्त हुने सफलताले नै लगातार नयाँ उचाइमा लगिरहेको हुन्छ । कतिपयलाई जति गर्दा पनि ‘हातमा लाग्यो शून्य’ । त्यसैले धेरैले यसलाई भाग्य मान्छन् भने कतिपयले परिश्रमको फल । भाग्य र परिश्रमबीचको तादम्यतामा पनि धेरैको विश्वास टिकेको छ । कलाकार सफल हुन उसले खेलेको फिल्म त हिट हुनैपर्छ । तर, त्यतिले मात्रै नपुग्ने रहेछ । फिल्म चलेर आफू चलिएन भने ? माथि चर्चा गरिएकाबाहेक त्यस्ता धेरै कलाकार छन्, जसका फिल्म सफल भए । तर, कलाकार भने ‘असफल’ । असफलता हात लागिरहँदा लगातार मिहिनेतले मात्रै नपुग्ने रहेछ भन्ने प्रमाण धेरै छन् । त्यसैले भाग्य र परिश्रमको तादम्यता नमिल्दा फिल्म हिट भएपनि कलाकार ओझेल परेको मान्नेहरुको पनि कमी छैन । तर, खासमा यस्तो हुनुका पछाडि केही कारणहरु छन् । परिश्रम सही ठाउँ लगाउन नजान्दा पनि यस्तो हुने गरेको छ । अनि परिश्रम सही ठाउँमा गरे पनि आफ्नो प्रस्तुति फितलो हुँदा पनि कलाकारलाई यस्तो दुःख परिरहेको छ ।
फोटोमा दाँयाबाट क्रमस : अश्लेषा ठकुरी, रिस्ता बस्नेत, सोहित मानन्धर, रिस्मा गुरुङ
किन यस्तो हुन्छ ?
फिल्मका कथा सबै एक प्रकारका हुँदैनन् । प्रस्तुति पनि फरक खालका नै हुन्छन् । कतिपय फिल्महरु कथा प्रधान हुन्छन् । जसमा कथालाई बढी महत्व दिइएको हुन्छ । कथाबाटै दर्शकलाई प्रभावित गर्ने सोचमा स्क्रिप्ट आउँछन् । त्यही कथालाई डोहोर्याउन पात्रहरु सिर्जना गरिन्छन् । ती पात्र कथाका माध्यम मात्र बनिदिन्छन् । कथा नै त्यहाँ कूल र प्रधान बनेर रहन्छन् ।
यो अवस्थामा कथाले नै दर्शकको मन जित्यो भने कलाकार ‘माइनर’ भइदिन्छन् । कतिपय फिल्मका कथावस्तुले पात्रहरुको प्रस्तुतीलाई थिचिदिन्छ । उत्कृष्ट किसिमको कथावस्तुले धेरै हदसम्म पात्रलाई अझेलमा पार्ने खतरा हुन्छ ।
हुन त नेपाली फिल्ममा प्रायः कथावस्तु आयातित हुन्छ भन्नेमा कसैको दुई मत नहोला । तर, पछिल्लो समयमा मौलिक कथावस्तुमा पनि फिल्म बन्न थालेकाले फिल्म चलेपनि कलाकार नचल्ने क्रम बढेर गएको छ । त्यसैले अब पूर्वसमीक्षा नगरी कथावस्तुमात्रै हेरेर फिल्म लिने कलाकरलाई दुबै हातमा नरिवल लिन गाह्रो छ ।
फोटोमा दाँयाबाट क्रमस : मदन कृष्ण,श्रेष्ठ हरीबंश आचार्य (मह जोडी), राजेश हमाल, भुवन केसी
विगतलाई हेर्ने हो भने दर्शकहरुले फिल्मको कथावस्तुलाई भन्दा ‘कलाकार’लाई बढी महत्व दिने अवस्था थियो । जस्तो कथा जे जस्तो भएपनि राजेश हमाल, भुवन केसी लगायतका तत्कालीन सुपर स्टारहरु एउटा सिनमामा देखिए पनि त्यो फिल्मको ब्यापार उच्च हुन्थ्यो । त्यसैले पनि त्यतिबेला आथिति कलाकारका रुपमा नै भएपनि ‘स्टारडम’ धेरै भएका कलाकारलाई उभ्याइन्थ्यो । कथावस्तु मिचेर भएपनि जबरजस्ती ‘स्टार’हरुलाई फिल्ममा घिसारेर ल्याइन्थ्यो ।
तर, अब त्यस्तो दिन रहेनन् । जस्तासुकै स्टारलाई फिल्मलाई कास्ट गराए पनि फितलो कथावस्तु छ भने फिल्म फ्लप हुने अवस्था छ । यस्तो अवस्थामा कथा बलियो बनाउन सबैको जोड दिएका छन् । त्यसैले कथालाई मजबुत बनाउने होडमा फिल्मका पात्रलाई कम महत्वमा राख्ने प्रचलन बढ्दै गएको छ । यसका कारण धेरै फिल्महरु हिट हुँदा पनि त्यसका कलाकार खासै नोटिस भएका हुँदैनन् । तर, कथा चरित्रप्रधान छ भने फिल्म फ्लप भए पनि कलाकार हिट हुने अवस्था हुन्छ ।
त्यसैले कलाकारले अब फिल्मको कथावस्तु मात्रै नभएर आफ्नो चरित्र कसरी फिल्ममा प्रस्तुत गरिन्छ भन्ने हेर्नुपर्ने अवस्था छ ।
कथाप्रधान चलचित्रमा चरित्रलाई कमजोर बनाइएको हुन्छ । त्यसैले आफ्नो चरित्रलाई बोल्ड गर्दै कथालाई सशक्त ढंगबाट प्रस्तुत गर्न लगाउने मामिलामा कलाकार चुके भने फिल्म हिट हुने र कलाकर फ्लप हुने नियति बारम्बार दोहोरिरहन्छ ।
कलाकारका लागि कथा जति महत्वको हुन्छ चरित्र त्यो भन्दा बढी महत्वको हुन्छ । उदाहरणका रुपमा मह जोडीलाई हेरौं, यो जोडीले कति धेरै फिल्म र टेलिफिल्महरु खेले । तर, उनीहरुलाई मान्छेले कुनै फिल्मको कथावस्तुसँग जोडेर सम्झँदैनन् । नोट हुन्छ त ‘हरिबहादुर र मदनमहादुर’ लगायत विभिन्न फिल्मी चरित्रहरु ।
फोटोमा दाँयाबाट क्रमस : सुनिल थापा, सौगात मल्ल, विपिन कार्की
चरित्रको महत्व कति हुन्छ भन्ने अर्को प्रमाण हुन्, खलनायक सुनिल थापा । ‘चिनो’ फिल्ममा राते काइँलाका जस्तो बोल्ड चरित्र पाएपछि उनको फिल्मी यात्रा कसरी अघि बढ्यो भन्ने धेरैलाई थाहा छ । सयौं फिल्ममा सयौं चरित्र निभाउँदा पनि उनी अहिलेसम्म ‘राते काइँला’कै रुपमा चिनिन्छन् । उनी त्यसकै जगमा टेक्दै बलिउडसम्म पुगे ।
यस्तै सौगात मल्ल पनि चरित्रका कारण फिल्म क्षेत्रमा जमिरहेका कलकार हुन् । ‘लूट’ मा सौगातले निभाएको ‘हाकु काले’को भूमिकाले एकाएक उनलाई चर्चाको नयाँ शिखरमा पुर्याइदियो । तर, लुटमा देखिएका धेरै कलकार चरित्र कमजोर हुँदा छाँयामा परे ।
विपिन कार्की पनि यो विषयमा राम्रो उदहारण हुन् । विपिन कार्कीलाई हिट हुन धेरै फिल्म नै खेल्नु परेन । उनी पात्रको चरित्रलाई हेरेर फिल्म गर्ने थोरै कलाकारमध्ये एक हुन् । उनले काम गरेको ‘छड्के’ व्यवसायिक रुपमा असफल भएपनि फिल्म क्षेत्रले विपिनलाई नोटिस गर्यो । झन पशुपतिप्रसादमा विपिनले निभाएको ‘भष्मे डन’को भूमिका उनी आँफैका लागि चुनौती बन्यो । उनी अहिले पनि भष्मेलाई डोमिनेट गर्ने चरित्र खोज्दै फिल्म त गरिरहेका छन्, तर भेटिरहेका छैनन् ।
फिल्ममा कथाको महत्व जति छ, पात्रका चरित्रको महत्व उति धेरै भन्ने यिनै तथ्यबाट पुष्टी हुन्छ । अहिले कलाकारहरु कथावस्तु राम्रो छान्ने धुनमा छन् । उनीहरु पहिले कथा कस्तो छ भन्नेमा चासो राख्छन् । तर, कथा छान्दा आफूले निभाउने चरित्रका विषयमा उनीहरुले खासै ध्यान राख्दैनन् । तर, विगतदेखि वर्तमानसम्मको अभ्यासले के देखाउँछ भने कथासँगै पात्र बलियो भएनन् भने कलाकारलाई फाइदा हुँदैन ।
फिल्म व्यवसायिक रुपमा सफल भए पनि कलाकाकारको व्यवसायिक ग्राफ माथि जान सक्दैन । कलाकारले जति मिहिनेत गर्दा पनि आफूले निभाउने पात्र कमजोर छ भने त्यसले कुनै सुखद् परिणाम दिँदैन ।