विषको बोत्तलले परिवर्तन गरेको दयाराम दाहालको जीवन
बिहिबार बसेको मन्त्रि परिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाललाई नियुक्त गरेको छ । लामो समय देखि नेपाली फिल्म उद्योगमा सक्रिय दाहाल २ वर्षे कार्यकालका लागि अध्यक्षमा छनोट भएका हुन् । उनलाई हार्दिक बधाई दिदै आज हामी उनको जीवन र संघर्षको चर्चा गर्दैछौ ।
तुलसी घिमिरेसंगको साथ कै कारण भन्नु पर्छ, दयाराम दाहाल एक सफल निर्देशक बन्न सफल छन् । एम एस प्रधानांगलाई दाहालको लेखन शैली मन पर्ने । सोही कारण उनले घिमिरे र दाहालको भेट गराईदिए । फिल्ममा स्पट ब्वाई देखि कुक असिस्टेन्टसम्मको काम गर्दै दाहालले फिल्म क्षेत्रको यात्रा शुरु गरे । त्यस पश्चात उनले ३-४ वटा फिल्ममा यसै काम गर्दै रहे । तर जब यसरी त हुदैन भन्ने लाग्यो उनले तुलसी घिमिरे समक्ष आफुले कुनै एक क्षेत्रमा काम अगाडी बढाउने इच्छा ब्यक्त गरे । त्यसपछि उनले घिमिरे निर्देशित फिल्म ‘चिनो’ मा क्ल्याप ब्वाईको रुपमा काम गर्ने अवसर पाए । तेस्रो सहायक निर्देशकको रुपमा काम गरेका उनले त्यसपछि समेत धेरै फिल्ममा घिमिरेको साथ काम गरे ।
बि. सं. २०५१ सालमा फिल्म ‘दाइजो’ मार्फत उनले फिल्म निर्देशनमा पाइला टेके । तर दुखद कुरा उनले मन लगाएर काम गर्दा गर्दै पनि बिभिन्न कारण केही छायांकन पश्चात फिल्म बन्द भयो । आफ्नाहरु टाढिए । हिम्मत कम हुदै गयो । स्थिति यति सम्म खराब भयो की उनी डिप्रेसनको शिकार भए । केहि विकल्प नदेखेर उनले आत्महत्या गर्ने निर्णय लिए ।
उनी विषको बोत्तल लिएर बुद्धनगर स्थित कोठामा आए । खाना बनाए र खानामा विष मिलाए । योजना अनुरुप उनले बियर खाएर विष मिसाएको खाना खाने तयारीमा थिए । तर ‘मिराकल’ मान्नु पर्छ, खाना खान लाग्दा उनलाई अर्को फिल्म निर्देशनको अफर लिएर केही व्यक्ति उनको कोठामै आइपुगे । ‘भरिया’ फिल्मको लागि राजकुमार शाही, सुरेश शाही लगायतले उनलाई निर्देशक बनाउने योजना लिएर उनको कोठामा गएका थिए । त्यही रातनै उनीहरुले नायक राजेश हमाललाई समेत अनुबन्धित गरे । उक्त रात दाहालको लागि साँच्चैनै जीवन परिवर्तनको मोड बन्यो ।
फिल्म ‘भरिया’ सफल मात्रै बनेन, फिल्मले उनलाई सक्षम निर्देशकको रुपमा समेत स्थापित गर्यो । त्यसपछि उनले ‘जंगे’, ‘चाँदनी’, ‘तँ त सारै बिग्रिस नी बद्री’, ‘म तिमी बिना मरिहाल्छु नी’, ‘अर्जुन’, ‘लुटेरा’, ‘दशगजा’ लगायतका सफल फिल्महरु निर्देशन गरे । उनले फिल्म क्षेत्रमा गरेको योगदानको लागि गोरखा दक्षिण बाहु, प्रवल जनसेवा श्री, राष्ट्रिय फिल्म अवार्ड लगायत सम्मान तथा अवार्ड प्राप्त गरेका छन् ।
दाहाल बि. सं. २०२९ साल जेठ १४ गते काभ्रेको नालामा जन्मिएका थिए । उनी बाबु पदम प्रसाद र आमा घन कुमारीका सात सन्तान मध्ये साइलो सन्तानको रुपमा जन्मिएका हुन् । सानोमा चन्चले उनी हामफाल्दै स्कुल जाने गर्थे । आफु अन्तरमुखी नरहेको बताउने उनलाई परिस्थितिले नै चकचके बनाएको थियो ।
उनको लेखनको प्रसङ्ग पनि रमाइलो छ । सानै उमेरमा एक साथिसंग मिलेर उनले एउटा नयाँ पुस्तक किनेका थिए । त्यस समय नयाँ पुस्तक किन्नु ठुलो विषय हुन्थ्यो । तर दुखद विषय उनको पुस्तक पढ्न नपाइ हरायो । यसैको रिसमा उनले एक नाटक लेखे ‘किताव चोर’ । नाटक मन्चन भए संगै किताब समेत भेटियो । नाटक पनि सबैले मन पराए । अनि त के थियो र उनी आफ्ना दु:ख सुख शब्दमा पोख्न थाले ।
८ वर्षको उमेरमा कक्षा ३ मा पढ्दा बाहिरबाट आएको नाट्य समूहको साथ अभिनय गरे पश्चात उनको कला प्रतिको निकटता शुरु भएको थियो । रेडियो नेपालमा पाण्डव सुनुवारले सन्चालन गर्ने चौतारी कार्यक्रमका नियमित श्रोता उनमा गायनको भुत पनि सवार थियो । बि. सं. २०४२ सालमा उनले रेडियो नेपाल मार्फत स्वर परिक्षा पास गरे । अर्को वर्ष साल ०४३ मा भने उनले आफ्नै शब्द संकलनमा ‘माया गोदावरी’ बोलको गीत समेत रेकर्ड गराए । उनको उक्त गीत पछि उदित नारायण झाको आवाजमा रेकर्ड गराएर आफ्नै फिल्म ‘इज्जत’ मा समावेश गरे । उनको संगीत प्रतिको रुची उनका छोरामा पनि सरेको छ । उनका छोरा दर्शनको फिल्ममा त रुची छैन तर गायन प्रति भने उनको गहिरो लगाव देखिन्छ ।
आफ्नो सफलताको श्रेय दाहालले आफ्नो परिवार र विशेष गरी आफ्नी श्रीमती सरला खनाललाई दिने गर्छन । उनी श्रीमतीले आमाले झैँ माया र हेरचाह गरेकै कारण आफु सफल भएको ठान्छन् ।
चार दशक लामो जीवनमा उनीसंग कति व्यक्ति भेट भए कति । तर उनको नजिकका मित्र स्वर्गीय केशब भट्टराई थिए । एकै समय काम शूरु गरेका यी दुइले फिल्म ‘ठुल्दाई’, ‘दौतरी’, ‘खलनायक’ लगायतमा एक साथ काम पनि गरे । साथै, निर्मल शर्माको समेत निकट रहेका उनले शर्माको साथ फिल्म ‘अंगरक्षक’ मा एक साथ काम गरेका छन् ।
बोर्ड सदस्य भएर काम गरिसकेका दाहाललाई नयाँ कार्यकाल सफलताको शुभकामना ।
प्रतिक्रिया