गाउँबाट एक फार्मरको फिल्म सन्देश

दर्शक सबै उमेर, वर्ग, लिंग, जात र धर्मका हुन्छन् । पेशागत रुपमा डाक्टर, इन्जीनियर, शिक्षक, विद्यार्थी, नेता, कार्यकता सबै सबै हुन्छन् । यहां भने एक फार्मर अर्थात किसान दर्शकको कुरा पस्कीन खोजीएको छ । हाल वराहनगर वडा नम्बर १ स्थीत पहाडी भुभागमा पर्ने धापामा उनलाई भेट्न शनिवार त्यहां पुग्यौं । उनी साजसब्जी गोड्नमा व्यस्त थिए । उनी हुन्, दिपन कुलुङ(३६) अर्थात आधुनिक फार्मर । उनले त्यहां नमुना तरकारी खेती गरिरहेका छन् । लकडाउनले उनीहरुलाई खासै असर परेको रहेनछ । सबै आफ्नो कृषी कर्ममा जुटिरहेका थिए । पाकेका स्ट्रबेरी लटरम्म फलेका थिए । हरिया साग लपक्कै थिए । राता राता टमाटरहरु थाङगरामा झुण्डीईरहेका थिए । हरिया क्याप्सीकमहरु हरिया पात भित्रबाट हामीलाई नियालिरहेका थिए ।

हामी त्यहां पुगेपछि उनी हामीलाई लिन आईपुगे । भर्खरै धोएका चिसा हातलाई कमिजको छेउ पुस्दै छेउमा आएर बसे । लगभग केही समयको भेटघाट पछि हाम्रो कुराकानी सुरु भयो । लकडाउनले के कस्तो असर परिरहेको छ त ?  भन्ने हाम्रो पहिलो प्रश्न थियो । उनले खासै काम नरोकिएको बताए तर बजार बन्द भएकाले भने उत्पादन बेच्न नसकिएको गुनासो गरे । तर त्यसको विकल्पमा काम गर्न थालेको उनले बताए । यहांको उत्पादन धरानको भाटभटेनी र गोर्खा डिपार्टमेन्ट स्टोर ईटहरीमा विक्री हुन्छन् । तर लकडाउनले सबै बन्द छन् । केही उत्पादन विग्रने अवस्था छ । यसैले चांडै फल्ने र चांडै विग्रने स्ट्रबेरीबारे उनले भने स्ट्रबेरीको लोकल रक्सी बनाउने योजना छ । उनले सागको गुन्द्रुक बनाउने, टमाटरलाई सुकाउने बताए । तरकारी क्याप्सीकम, खुर्सानी, तिते भिण्डी, घिरौला, लौका, तिते करेला, भिण्डीलाई भने धरान लग्ने बताए ।

अब भने हामीले फार्मर दिपनको फिल्म मोहबारे जिज्ञासा राख्यौं । प्रश्न गरियो फिल्म हल नगएको कति भयो ? उनले पनि भनिहाले पन्ध्र वर्ष भयो होला शायद ! यसले नेपाली फिल्म हेर्न दर्शक हलमा नगएको प्रष्ट बताउंछ । किन त ?  हाम्रो प्रश्नलाई भुईमा खस्न नदिई उत्तर दिईहाले । उनले भने –हाम्रो कथानै छैन अनि किन हेर्ने । अहिले नेपाली फिल्ममा दर्शकले अपनत्व खोज्न थालेका छन् । अझ बुझ्नेगरी भन्दा फिल्मको कथामा आफूलाई खोज्न थालेका छन् । जुनकुरा वर्तमान फिल्ममा पाउन मुश्किल छ । दुरदराजमा बसेका फार्मर दिपनले समेत आफ्नो अस्तीत्व खोजीरहेको यस्तो अवस्था छ भने बांकी दर्शकले नखोज्लान भन्न सकिन्न ।

दिपनले आफ्नो दर्शक दृष्टीकोण प्रस्ट्याउंदै भने म फिल्म नहेर्ने मान्छे त हैन । उनी आफ्नो फिल्म मोहबारे खुले । उनले आफ्नो मोवाइलमा अहिलेपनि दुई वटा नेपाली फिल्म मेमोरी कार्डमा रहेको बताए । उनले विगत सम्झीदै भने हामी फिल्म हेर्न हरेक हप्ता चतरा बजार झथ्र्यो । त्यहां हल थियो । त्यति मात्र हैन, त्यहांबाट पानी ब्याट्री र भिडियो चक्का बोकेर हेर्ने गर्थौ । पछि सिडी बोकेर पनि हेरियो । अहिले मेमोरी कार्डमा फिल्म राखेर पनि हेरीनै रहेका छौ । उनले वैदेशीक रोजगारीको शिलशिलामा साउदीमा सात वर्ष विताएका थिए । त्यहां बस्दा खुब युट्युबाट फिलिम हेरेको पनि उनले सम्झीए । भन्छन् पहिला फिल्ममा कथा सांचो हुन्थ्यो अहिले हुंदैन सबै काल्पनिक हुन्छन् । पहिलाको फिल्मले मन छुन्थ्यो अहिलेकोले छुनै सक्दैन । अनि किन हेर्नु बेकारमा पैसाको नास, उनले भने ।

उनको नेपाली फिल्मप्रतिको अगाध मोह र अरुचि दुवै थियो । उनले खोजेको विषय नहुनु साथै उनको मोवाइलमा नेपाली फिल्म राखिनुले फिल्म प्रतिको दुवै पक्ष झल्कीथ्यो । उनले भर्खरै मात्र अन्तीम पटक हेरेको फिल्म ‘साली कस्को भेनाको’ हो । उनलाई खुबै मनपर्यो रे । त्यहांबाट यता भने हेरेका छैनन् । त्यो फिल्म पनि उनले मोवाइलमा हेरेका हुन् । नेपाली फिल्मका दशर्क घटेका छैनन् बरु हेर्ने माध्यम फरक भएको बुझ्न सकिन्छ । दिपन जहां जहां गए नेपाली फिल्म हेरिनैरहेका छन् । हल गएनन्, तर फिल्म भने विभिन्न माध्यमबाट हेरिनै रहे । दर्शक घटेको भन्दा पनि उनीहरुको हेर्ने शैली फेरीएको पाईयो । यो कुरालाई हरेक निर्माता र निर्देशकले बेलैमा विचार पुर्याउनु आवश्यक भैसकेको छ । किनकी दिपन जस्ता लाखौ मानिस अहिले मोवाइल दर्शकमा रुपान्तरीत भएका छन् । जो फिल्म हलमा चाहेर पनि जान सकेका छैनन् ।

उनी प्राय सबै कलाकार चिन्दा रहेछन् र उनीहरुको फिलिम पनि हेरेका रहेछन् । उनी पुराना कलाकारहरु सबै चिन्दा रहेछन् । फटाफट उनले पुराना कलाकारहरुको नाम फलाके । राजेश हमाल, निखिल उप्रेती, शिव श्रेष्ठ, गणेश उप्रेती, श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी, भुवन केसी । हिरोईनहरुको नाम पनि लिन भ्याए । गौरी मल्ल, करिष्मा मानन्धर, मेलिना मानन्धर, रेखा थापा । उनले कति नेपाली फिल्मलाई मनपराउंदा रहेछन् भन्ने कुरा यसरी पनि थाहा हुन्छ । पछिल्लो छिमलका हिरोहरुको पनि नाम लिन भ्याए । प्रदिप खड्का, पल शाह, अनमोल केसी, नाजिर हुसैन, दयांहाङ राई र विपिन कार्कीलाई पनि चिन्दा रहेछन् । सांच्चै उनी नेपाली फिल्मका दर्शक रहेछन् । यति मात्र हैन यो क्षेत्र हामीले जानेसम्म शुद्ध नेपाली दर्शक भएको स्थान हो । जहां उनी जस्ता थुप्रै नेपाली फिल्मलाई माया गर्ने दर्शकको बसोबास रहेको छ ।

अहिले भने फिल्म हेर्ने समय नभएको उनी बताउंछन् । भन्छन् कामले लखतरान भएपछि बेलुका बिस्तारामा पल्टीयोकी भुसुक्कै गईन्छ । उनले थपे, आजकल कामले गलेकाले निद्रा प्यारो भएको छ, समय मिलाएर फिल्म त हेरिन्छ । अबको फिल्म कस्तो बन्नुपर्छ त भन्ने जिज्ञासामा उनी यसरी खुले । उनले बताए फिल्ममा कथा रोजगार मुलक खालको हुनुपर्यो । फिल्म हेरेर दर्शक रोजगारमुखी बन्न सकोस् । उत्प्रेरणा जगाउन सकोस् । कृषी प्रधान भनिएको देशमा किसानको कथा आउनुपर्यो हैन र भन्दै हामीसंग प्रतिप्रश्न गरे । उनले यसो भनिरहंदा हामीले गोपी फिल्म यस्तै विषयमा बनेको बतायौं । उनलाई यो फिल्मको बारेमा जानकारी रहेनछ । अब चांडै उक्त फिल्म हेर्ने बताए । उनले भने गोपी फिल्म युट्युवमा आयो भने हेर्ने हो ।

कुलुङ गाउं कृषी फर्मको नाममा दिपन कुलुङ लगायत पांचजना युवा छन् । जसमा अर्जुन कुलुङ, ससन देवकोटा, दिपक कुलुङ, मणि कुमार कुलुङ र जिवन राई रहेका छन् । ‘कृषीमा गरौं लगानी ल्याउंछ सुनौलो विहानी’ भन्ने नारा दिएका उनीहरुले यो योजना वर्ष दिन अघि मात्र सुरु गरेका हुन् । हाइटेक टनल खेतीमा बेमौसमी तरकारी खेतीमा भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय, प्रदेश १ विराटनगरको सहयोग र उनीहरुको आफ्नो समूहको लगानी रहेको दिपन कुलुङले बताए । वैदेशीक रोजगारीबाट फर्केपछि दिपन यतातिर लागेका हुन् । साउदीमा सात वर्ष विताएका दिपन अहिले भने कृषिमा लागेका हुन् ।

अन्त्यमा नेपाली फिल्मको दर्शक हराएको कुरा भैरहदा उनले यो कुरालाई मानेनन् । उनी भन्दै थिए – राम्रो फिल्म बनोस् न टाइम मिलाएर हलमै गएर हेरिन्छ नी ।