“सरकारसँग संबेदना नै छैनकि जस्तो देखिन्छ” – ऋचा शर्मा

लकडाउनका कारण बसिरहेको ठाउँमा दैनिक गुजारा गर्न गार्हो भएपछि धेरै मानिसहरु आफ्नो घर तर्फ पैदलै हिंडीरहेका छन् । बिबिध कष्ट सहेर सयौ किलोमिटरको यात्रा गरिरहेका मानिसहरुबारे सरकारले भने केहि थाहै छैन झैँ गरिरहेको छ । यतिबेला समाचार हेर्दा र फोटोहरु हेर्दा दिक्क लागेर आउँछ ।

देशको विभिन्न ठाउँहरुबाट ८६८ पर्यटकहरुलाई प्लेन चार्टर गरेर झिकाउन सक्ने सरकारले आफ्नै नागरिकहरु दुखमा पर्दा चाहिं किन केहि गर्न नसकेको ? चाइनाबाट एअरलिफ्ट गरेर मान्छे ल्याउन सक्ने सरकारले नेपालमै एक ठाउँबाट अर्कोमा जाँदा सहज वातावरण बनाउनु पर्ने हो । युरोप, अमेरिकामा नियोगमा काम गर्ने सिमित मान्छेहरुको चिन्ता गर्ने सरकारले आफ्नै देशका मजदुरहरु १० दिन लगाएर घर गइरहेको देख्दा पनि केहि गर्न नखोज्दा मैले भगवान पुकार्नु बाहेक केहि गर्न सक्दिन । सधै मनोरंजनको फ्रन्टलाइनमा देखिने हामी कलाकारहरु यतिबेला लेख्न र बोल्न बाहेक केहि गर्न सकिरहेका छैनौ । एक-दुइ बसहरु व्यवस्था गरेर हुने हो भने हामी पनि गर्न सक्थ्यौ तर कसरि गर्ने त्यो पनि थाहा छैन ।

देशमा मजदुरहरुको यस्तो अवस्था छ, सबैकुरामा भारतको हेरेर सिक्ने सरकारले यस बिषयमा पनि त्यहाँको सरकारले जस्तै गरेको भए हुन्थ्यो । लकडाउन पछि भारत सरकारले हजारौ बसको व्यवस्था गरेर अप्ठेरोमा परिरहेका मानिसहरुलाई उनीहरुको घरसम्म पुर्याएको थियो ।

दुइ तिहाईको सरकार साना-साना कुराहरुमा चुकिरहेको छ । समाचारहरु सुन्दा सरकारले सबैलाई जहाँ हुनुहुन्छ त्यहि बस्नुस भनिरहेको हुन्छ । पैदल हिंडेर अहिले बीच बाटोमा पुगेकाहरु कहाँ बस्ने ? दोलखा बाट नेपालगंज हिंडेको मान्छे काठमाडौँ पुगेको छ, उ कहाँ बस्ने ? सुर्खेतबाट काभ्रे हिंडेको मान्छे चितवन पुगेको छ, उ कहाँ ? कसरि बस्ने ?

सरकारले गर्न नसक्ने केहि छैन, गर्न सक्छ तर उचित ब्यबस्थापनको कमजोरी मात्र हो । अझ देश संघियतामा गैसकेको छ र स्थानीय निकायलाई पूर्ण अधिकार छ । वडा वडामा बिशेष संयन्त्र बनाएर जाने आउने मान्छेहरुको सुची बनाएर स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर लान-ल्याउन सकिन्छ । वडामा पर्याप्त जनप्रतिनिधिहरु छन्, उनीहरुले घरजना चाहनेहरुको सुची बनाउन सक्छन् । यसमा सुरक्षाकर्मीहरु संग पनि सहायता लिन सकिन्छ । यातायात ब्यबसायीहरु संग समन्वय गरेर मानिसहरुलाई सुरक्षित तवरले घर पुर्याउन सकिन्छ । दुख सुख जे भए यस्तो संकटको बेलामा मानिसहरुको आफ्नो परिवारसंग समय बिताउने चाहना हुन्छ र त्यो पुरा हुन सकेन भने यसले मानसिक रोग निम्त्याउना पनि सक्छ, त्यसैले सरकार यसमा सजग हुनुपर्छ ।

सरकार यतिबेला ठुलो ठुलो काम गरिरहेको देखाईरहेको छ, उसका कामहरु प्रशंसनीय पनि छन् तर मजदुरहरुको बिषयमा सरकारको मौनता भने आलोचना योग्यनै छ । अहिलेको परिस्थिति हेर्दा सरकारसँग संबेदना नै छैनकि जस्तो देखिन्छ । यस बिषयमा सरकारले बेलैमा पहल गर्नु अतिआवश्यक छ ।