“के मेरा मालिक जिउँदै छन् ?” – अर्जुन पोखरेल
रातदिन दाम्लोमा बाँधिएर एकैै थलोलाई आफ्नो पूरा संसार सम्झेर बाँचिरहेका ति पशुहरु तबसम्म दाम्लो चुडाएर बाहिर जाने आँट गर्दैनन् जबसम्म आफ्नो स्वार्थ पूरा गर्न मालिकले दानापानी दिइरहेका हुन्छन् ।
जुन दिन खान पाउँदैनन् त्यो दिन डोरी र किलोको भरमा अडिएका ति अबोध पशुहरु नियम तोडेर दाम्लो बाहिर आउनेछन् । त्यो दिन तिमीले आफ्नो पुस्ताका लागि जोगाएर राखेका र सम्हालेका सबै धन सम्पति र तिम्रो मालिकपन पनि जमिनमै पसारिनेछन् । ए मालिकहरु सुन्दै छौ ! तिमीहरुलाई लाग्छ होला मैले पालेको छु र खान पाएका छन् । अलिक परसम्म आँखा डुलाउ त मालिक, जङ्गलमा भएका पशुपन्छीलाई पनि तिमीले नै अन्नपानी भर्छाै ? तैपनि तिनीहरु हामी भन्दा सुखी छन् , के कहिल्यै यो सत्यबोध गरेका छौ ।
हो हामी गरीब छौं, निमुखा छौं । आज हामी मालिकका लागि पशु समान भएका छौं । टाँगा घोडा गाडी तान्दा तान्दा पुरै जिन्दगी पार गरेर बुढो भएका, गाडा तान्दातान्दै खुट्टा भाँच्चिएर मालिकलाई फाइदा नहुने अवस्थामा पुगेपछि घरबाट निकालिएका घोडा गधाले खानेकुरा खान नपाएर अन्तिममा माटो खादा खाँदै तेहि माटो निल्ने पानी पनि नपाई केही समयमा यो पापी दुनियाबाट पार हुन्छ ? ए मालिक हामी पनि माटो खाउँ त अब ? अब हामी काम नलाग्ने भएका नै हौ त ? तागत सकिएका र खुट्टा भाँचिएका घोडा गधा जस्तै ?
जुन बेला सरकार फेर्नु पर्यो त्यो बेला सडकमा उत्रेर छातीमा गोली थाप्ने हामी हौं । तिम्रा पार्टीको शक्ति प्रदर्शन गर्ने बेलामा तालुको पसिना तालुमै सुकाउँदै घाममा पानी नखाई उभिने र तिम्रै इसाराको घोडा गाडी तान्ने हामी नै हो । आज तिमीहरु जुन ठाउँमा छौ त्यो ठाउँमा पुर्याउनलाइ घरपरिवारको वास्तै नगरी खट्ने हामी हो । मालिकहरुको सम्झना शक्ति एउटा चुनावबाट अर्को चुनाव नआउन्जेलसम्मका लागि कमजोर हुन्छ । तर, हामी सम्झिरहन्छौं मालिक । धोका हो मालिक , धोका कसरी बिर्सिइन्छ ? हामी त अझैपनि तिम्रा कुरा मानिरहेछौ र सहिरहेछौ । हाम्रो प्राण भन्दा तिम्रो नियम ठूलो लाग्दैन अब हामीलाई । बालबच्चाको पेटमा पटुका कसेर धेरै दिन अडिन सक्दैनौ हामी । जुन दिन सकसको सीमा नाघ्छ हो त्यो दिनबाट मालिकहरुका कुनै नियम कानुनले छेक्न सक्दैन हाम्रो बाटोलाई । ढुक्क हुनु, मालिकहरुलाई मालिकहरुकै पहरेदारहरुले बचाउन सक्दैनन् । याद राखिबक्सेला मालिक !
सडकमा हिड्दा हिड्दै खुट्टा बाङ्गिएर, पानी प्यासले खान नपाएर सडकमै ढलेका छौं हामीहरु । के यो खबर मालिकहरुको कानसम्म कसैले पुर्याएन ? हामी यति लामो बाटो जीवन मरणको सङ्घारबाट अघि बढिरहेछौ । के सहरमा खानेकुराको व्यवस्था मालिकहरुबाट भएको भए यस्तो गर्न हामीलाई रहर थियो ?
तिम्रा हातले खै क-कस्लाई के गर्यो ? तिमीहरुलाई नै थाहा होला हामीलाई कसैले केही खुवाएका छन् भने ति विवेकी नेपाली जनताले हो । जनतालाई आफै राहत दिन देऊ । बरु हामीकहाँ तुरुन्त आइपुग्छ । कोरोना लागेर मरिन्छ कि भन्ने डर उनीहरुलाई हो जस्लाई खान लाउन बस्नको कुनै पीर छैन । तर, हामीलाई कोरानाभन्दा बढी डर भोकको छ । हामी भोक भोकै कोठामा थुनियर, कोठामै मरेर यहाँहरुलाई कोरोनाबाट बचाइ दिनु पर्ने हो ? भोकले आन्द्रा बटारिएको बेलामा साथीले एक फुको चाउचाउ कताबाट पाएर दिन्छ त्यो खानु अघि म हात धुनु कि स्यानिटाईजर खोज्न जाउँ मालिक मेरो भोक र प्यासको बेगलाई महसुस गर्नसक्छौ ? गाँउ गाँउ , सहर सहर सरकारका साना देखि ठुला मालिकहरु छन् जो आँखा भएर पनि देख्दैनन् । कान भएर पनि सुन्दैनन् । मन भएर पनि विवेकी बन्दैनन् । के मालिकहरु जिउदै छन ? मरेका भएनी मालिकहरुको लास बोकेर दुखी हुँदै आँशु बगाउँदै घाट पुर्याउने हामीले नै हो । तिम्रा अरु मालिक त तिम्रो मृत्युमा आफ्नो भविष्य देख्छन् तर हामी तिम्रो मृत्युमा अभिभावक गुमाउँछौं ।
मालिक हामी निमुखा सानो मुख बोली ठूलो गयौं कि ? मालिकहरुलाई ननिको लागे माफ गरिदिनुहोला तर हामीलाई चै साह्रै ननिको लागेको छ । जुन दिन जिउँदै घर पुग्छौं । त्यो दिन झ्याल ढोका बन्द गरेर धित मारेर डाँको छोडेर रुने मन छ । ति साना साना बालबच्चाको भविष्य हेर्दै र आफ्नो रित्तो जिन्दगी नियाल्दै साँच्चै कराउन मन छ । मलाई यो बन्धनको दाम्लो चुडाउन मन छ । मेरो परिश्रमी हातलाई बजार्न मन छ, आखिर तैले कस्ता मालिकहरु चुनिस ?
प्रतिक्रिया