“देश र परिवार मिस गरिरहेकी छु” – भुटानी अभिनेत्री उगेन छोदेन

लकडाउन भएसंगै भुटानी अभिनेत्री उगेन छोदेन काठमाडौँमै फसेकी छिन् । उनि दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ को छायांकनको लागि जनवरी २९ मा नेपाल आएकी थिईन् । कोरोनाको प्रभाब संगै फिल्मको छायांकन रोकिएको थियो । उनले मेरोफिल्म संग कुरागर्दै आफु २६ दिन देखि ठमेलको तिब्बत होटेलमा बसिरहेको जानकारी दिइन् । भुटानकी चर्चित अभिनेत्री छोदेनले त्यहाँ विभिन्न फिल्महरुमा अभिनय गर्नुका साथै फिल्म निर्माण तथा निर्देशन पनि गरेकी छिन् ।

उनि यतिबेला दिनको २ वटा फिल्म हेर्छिन् र पुस्तकहरु पनि पढ्दैछिन् । यो समयमा उनि बिशेषगरि सन् १९४० ताकाको फिल्महरु हेरिरहेकी छिन् । त्यस्तै पुराना नेपाली फिल्महरु हेरेर नेपालको रहन सहन पनि बुझिरहेकी छिन् । उनले भनिन् – “टाईम पास गर्न नेपाली न्युज, सिएनएन, बि.बि.सी को न्युजहरु हेरी बस्छु । पुरानो साथीहरु संग रियूनियन हुँदै छ तर ३ दिन देखि इन्स्टाग्राम ह्याक भएकोले अलिक तनाबमा पनि छु” । ‘२ नम्बरी’ को प्रोडक्सन टिमसंग पनि उनको कुराकानी भइनै रहेको छ ।

उनि दिनको २-३ पटक घर परिवारसंग पनि कुरा गर्छिन् । उनले यतिबेला आफ्नो देश र आफन्तहरुलाई अत्यन्तै मिस गरेको बताएकी छिन् । उनले भनिन् – “यतिबेला जीवन के हो ? कती महत्वपूर्ण छ ? भन्ने बुझें, साथै आफुलाई माया गर्न पनि जानें” ।

उनि आफ्नो देश फर्कने प्रयास पनि गरिरहेकी छिन् । उनि भन्छिन् – ‘परिवारको मान्छेहरुले पनि कसरि छिटो बोलाउने भन्ने पहल गरिरहनु भएको छ, मेरो पनि सरकारसंग कुरा हुदैछ, हिजो मात्र इमेल गरेकी छु । २-३ दिनमा रेस्क्यु फ्लाइट हुने सम्भावना छ, त्यतिबेला घर फर्किन्छु होला । चार्टर्ड गरी जानु पर्नी रहेछ, मेरो देशले पहल गर्दै होला । उता गएर पनि २१ दिन क्वरेन्टाइनमा बस्नु पर्छ” । उनि संग अप्रिल ३ सम्मको मात्र नेपालको भिसा रहेको छ तर संकटको समय भएकोले भिसाको समस्या भने हुने छैन ।

उनले भुटानमा अहिले सम्म ४-५ वटा केसहरु मात्र देखिएको, यता सुरक्षितनै भए पनि केसहरु बढ्दै गर्दा अलिक डर लागेको र आफ्नो देश तथा परिवार मिस गरिरहेको बताईन् ।

भुटान गएपछि उनले एक नारी प्रधान फिल्ममा काम गर्ने जानकारी दिइन्, उक्त फिल्मको स्क्रिप्ट तयार अवस्थामा रहेको उनले बताईन् ।

‘२ नम्बरी’ मा उनले अभिनेता दयाहांग राइसंग स्क्रिन शेयर गर्दैछिन् । फिल्मको ३०-३५ प्रतिशत शुटिग बाँकी नै छ त्यसैले स्थिति सामान्य भएपछी उनि फेरी नेपाल आउनेछिन् ।