वर्ष २०७६ का चर्चित तर असफल फिल्महरु (वर्ष समीक्षा)
२०७६ सालमा ५५ वटा फिल्म प्रदर्शन भए । त्यस मध्ये १५ वटा फिल्म सबै भन्दा बढि चर्चामा रहे ।
जेठको ३ गते प्रर्दशनमा आएको फिल्म ‘वीरबिक्रम २’ को बजारमा हल्ला मात्रै भयो । यसको हल्ला हुनुको एउटा कारण थियो – यो सफल फिल्म ‘वीरबिक्रम’ को सिक्वेल थियो । मिलन चाम्सको फिल्म भनेपछी राम्रै हुन्छ भन्ने पनि थियो । त्यस्तै अभिनय गर्ने अभिनेत्री बर्षा शिवाकोटी र मिलन चाम्सको प्रेमको चर्चाले पनि पत्रपत्रिका र अनलाईन भरिए । तर फिल्मले सफलता पाउन सकेन । मिलन चाम्सले फिल्म हिट भएको भन्दै पार्टी दिएको प्रसङ्गले चर्चा नपाउने कुरै भएन जसका कारण पनि यो फिल्म चर्चामा रह्यो ।
त्यस्तै ‘आप्पा’ फिल्मले पनि चर्चा मात्रै कमायो पैसा भने कमाउन सकेन । यसको चर्चा अरु फिल्मको जति नभए पनि हलबाट पैसा मनग्य उठायो भन्ने नै थियो । फिल्मलाई नवनिर्देशक अनमोल गुरुङले निर्देशन गरेका थिए ।
विकासराज आचार्यले निर्देशन गरको फिल्म ‘हजार जुनी सम्म’ यो बर्ष निकै चर्चामा रह्यो । चर्चामा रहनुको कारण हो – उनले बनाएको फिल्म डुव्दैन भन्ने चर्चा । यस फिल्मबाट अभिनेता आर्यन सिग्देलले आफ्नो पुरानै क्रेज फर्काउने धोको थियो । आर्यन मात्र होइन सञ्चिता लुइटेल पनि चर्चामा रहने कुरा थियो तर फिल्मले सोचे अनुसारको प्रतिफल दिन सकेन । फिल्मले हावा नै खायो । यो फिल्म चर्चामा रहनुको अर्को कारण पनि रहेको थियो – चलेका कलाकारहरु सबै यसमा नै थिए । अभिनेत्री प्रियंका कार्की देखि लिएर स्वस्तिमा खड्का लगायत ‘हजार जुनी सम्म’ मा अटाएका थिए । तर पनि फिल्मले दर्शक हलसम्म तान्न सकेन । जसका कारण पनि यो सदावहार चर्चामा रह्यो ।
यो बर्ष फिल्म ‘जायरा’ पनि उतिकै मात्रामा चर्चामा रह्यो । अभिनेत्री नम्रता श्रेष्ठले पहिलो पटक एक्सन फिल्ममा डेब्यु गरेकी थिइन । राम्री अभिनेत्रीमा गनिने उनले यो फिल्मबाट सफल हुन्छु भन्ने ठोकुवा गरेकी थिइन् तर अन्तिममा चिप्लिएपछि थन्किएर बसिन् । फिल्म लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका थिए ।
फिल्म ‘मारुनी’ ले पनि यो बर्ष राम्रै चर्चा कमायो तर नवल नेपाल निर्देशित फिल्मले दर्शक कमाउन सकेन । फिल्मले चर्चा कमाए अनुसार सफलता हात नपारेकोले चर्चा त पाउने नै भयो । फिल्मको भन्दा पनि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विदेशमा ब्वाइफ्रेण्डसँगको मस्तीले गर्दा फिल्मको नाम जोडिएर बढि चर्चा भइदियो । यसै विषयलाई लिएर बढि गसिपका पात्र बनिन् साम्राज्ञी ।
सनि लियोनको डान्सका कारण बढि चर्चामा रह्यो फिल्म ‘पासवर्ड’ । करोड खर्च गरेर फिल्मको गीतमा खेलाइएको भनेर हल्ला पिटाइएको फिल्म थियो यो । तर दर्शकले हलमा सनि लियोनलाई हेर्न कुनै मतलव नै राखेनन् । फिल्मकै नाम अनुसारको दर्शकले गोप्य नै हेर्न चाहेको देखियो ।
‘रातो टिका निधारमा’ साम्राज्ञीका कारण पनि चर्चामा रह्यो । गाउँले परिवेशको फिल्ममा अभिनय गर्न आफुलाई मन पर्दैन भन्दै आएकी साम्राज्ञीले गाउँले भुमिकामा खेलेपछि चर्चामा रहिन् । यतिले मात्र होइन पुराना चलचित्रकर्मी अशोकले छोरालाई ‘रातो टिका निधारमा’ बाट फिल्ममा डेव्यु गराए । तर छोराको अभिनयमा नकरात्मक टिप्पणी आएका कारण पनि फिल्मले फ्लपको टयाक भिर्नु पर्यो ।
त्यस्तै फिल्म ‘पोइ पर्यो काले’ यस बर्ष निकै चर्चामा आएको अर्को फ्लप फिल्म हो । प्रेमिल जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ एउटै फिल्ममा भएका कारण फिल्म चर्चामा रह्यो भने अर्का प्रेमिल जोडी पुजा शर्मा र आकाश श्रेष्ठको जोडीले पनि राम्रै चर्चा पायो । फिल्म हलबाट निस्कने बेलामा वितरक विचको झगडाले पनि उग्र रुप लियो । विके इन्टरटेन्टमेन्ट र रिच इनटरेन्मेन्ट बिचको सम्झौताले फिल्म बजार तातेको थियो ।
अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड सेरे’ ले हलमा पानी पनि भन्न पाएन । तर चर्चामा भने रहिरह्यो । चर्चामा रहनुको कारण थियो – नेपाली काँग्रेशका सभापतीको टाउको जोडेर गरिएको फिल्मको प्रचारबाजी । यसका कारण निकै विवाद पनि भएको थियो ।
आर्यन सिग्देलका लागि ‘चच हुई’ आस लाग्दो फिल्म थियो । प्रचारप्रसारमा खुव खटिएका पनि थिए । प्रेसमिट देखि लिएर पार्टीको समेत व्यवस्था गरेको ‘चच हुई’ टिमले अन्तमा दर्शकले ‘चच हुई’ नै बनाइदिए पछि थन्किएको थियो । चर्चा रहनुको मुख्य कारण चाहिं बढि प्रचार नै थियो ।
‘सरौतो’ फिल्म सुमी मुक्तानको अपेक्षित फिल्म थियो । एक्सन प्रदान फिल्म भनेर हल्ला फिँजाइयो । तर फिल्म चल्ने बेलामा रिलिज समय सारिरहेको कारण पनि फिल्मले हल्ला बढि पायो । लामो समय फिल्म उद्योगमा काम गरेर नाम कमाएका हरि हुमागाईंको डेब्यु निर्देशन भएकोले पनि फिल्मको चर्चा थियो तर फिल्म असफल भयो ।
रामबाबु गुरुङ र दयाहांग राईले निर्माण गरेको तथा सौगात मल्ल भएका कारण पनि चर्चा पाएको ‘माछा माछा’ पनि वर्षको अर्को फ्लप फिल्म बन्यो । फिल्मलाई सुनिल गुरुङले निर्देशन गरेका थिए ।
‘सेल्फी किंग’ विपिन कार्कीको फरक लुक्सका कारण चर्चामा रह्यो । उनलाई हलिउड फिल्मको जोकरसँग दाँजेर पनि हेरियो । जसका कारण चर्चा रहिरह्यो । फिल्मको पोस्टरमा भने जस्तो कथा भित्र नदेखपछि दर्शक भड्किएका थिए ।
कुनै समय नेपाली फिल्ममा एकछत्र राज गरेका विराज भट्टको आगमनको कारण पनि यो बर्ष ‘साङ्लो’ चर्चामा रह्यो । अभिनेता आफै निर्माता निर्देशक भएर काम गरेका थिए । त्यस्तै ‘साङ्लो’ फिल्मको ‘चरिले काफल टिप्यो ’ बोलको गीत दर्शकमाझ हिट भयो । फिल्ममा मिस नेपाल निकिता चण्डकको अभिनयले पनि तारिफ पायो । तर फिल्म असफल रह्यो ।
हाँस्यकलाकार धुर्मुस-सुन्तलिले बनाएको र राम बाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टी भाईरस’ सबै भन्दा बढि चर्चामा रह्यो । क्रिकेट रंगशाला अभियन्ताका रुपमा आफुलाई अगाडी बढाइरहेका सिताराम कट्टेल र कुन्जना घिमिरेले निर्माण गरेका फिल्म रंगशालाका लागि सहयोगार्थका लागि भन्दै हल्ला फिजाए पछि उनको फिल्मको राम्रै चर्चा भयो । अभिनेत्री कुन्जनाले लामो समय देखि फिल्म खेल्ने धोको पुरा भएको भन्दै मिडियामा रोएपछि थप चर्चामा आएको हो । हरेक गाडी गाडीमा पोस्टर टाँसेर, टयाक्सी टयाक्सीमा तस्विर टाँसेर फिल्मको भयङ्कर प्रचार गरियो । तर सिरियल जस्तो फिल्म बनाएको भन्ने आरोप समिक्षक तथा दर्शकहरुले लगाए । फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेन ।
सच्याइएको : सम्पादक
प्रतिक्रिया