फिल्मकर्मीको विवाहको वर्ष (वर्ष समीक्षा)


वर्ष २०७६ लाई फिल्मकर्मीको विवाहको वर्षको रुपमा लिन सकिन्छ । यस वर्ष धेरै कलाकार तथा फिल्मकर्मीले विवाह गरेका छन् । प्रेममा रहेका धेरै जोडीले यो वर्ष विवाह गरेका हुन् । फिल्मले सफलता प्राप्त गर्न नसकेपनि यो वर्ष प्रेम सम्बन्धको सफलता स्वरूप उनीहरु विवाहबन्धनमा बाधिएका छन् । यस बर्ष १० जोडी फिल्मकर्मीले विवाह गरेका छन् ।

दीपिका प्रसाईं र दिवाकर भट्टराईले यस वर्षको सुरुवातमा नै आफ्नो प्रेमलाई विवाहको नाम दिए । उनीहरुले बैशाख २४ गते विवाह गरेका हुन् । फिल्म ‘ऐश्वर्या’ मार्फत डेब्यु गरेकी नायिका दिपिकाले सोही फिल्मका निर्देशक भट्टराईसंग लगनगाठो कसिन् । पारिवारिक सदस्यको उपस्थितिमा यी दुइले विवाह गरे ।

सोही दिन अर्का जोडी फिल्मकर्मीले समेत विवाह गरे ।  कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले निर्माता तथा फिल्महल संचालक प्रज्वल शमसेर जवरासंग विवाह गरेकी हुन् । फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ मा एक साथ काम गरेका यी दुईले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । भब्य समारोह र फिल्मकर्मीको उपस्थितिमा यी दुईको विवाह सम्पन्न भएको थियो ।

पौषमा नै कानुनी विवाह गरेका संचारकर्मी रवी लामिछिने र फिल्मकर्मी निकिता पौडेलले जेष्ठ ३ मा सामाजिक रुपमा विवाह गरे । नगरकोट स्थित एक होटलमा विवाह गरेका यी दुवैको पहिलो विवाहको असफलता पछि यो विवाह भएको थियो । उनीहरुले फिल्मकर्मीको पनि उपस्थिति रहेको एक भब्य रिसेप्सन पार्टी दिएका थिए ।

पुरानी अभिनेत्री कृति भट्टराईले समेत यसै बर्ष लगनगाठो कसिन् । असारमा उनले इन्जिनियर रोहित पौडेलसंग पारिवारिक जमघटका बीच विवाह गरेकी हुन् । दरवारमार्ग स्थित लक्ष्मीनारायण मन्दिरमा विवाह गरेकी उनी पछिल्लो समय फिल्म क्षेत्र भन्दा टाढा रहेकी छन् ।

भाइरल तरकारीवाली कुसुम श्रेष्ठले समेत यहि बर्ष लगन गाठो कसिन् । फिल्म ‘लम्फु’ मा काम गरेकी उनले राजन श्रेष्ठ संग मङ्सिर ६ गते विवाह गरेकी हुन् ।

मेहेन्दी, संगीत लगायत विभिन्न भब्य समारोह गर्दै अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष बिक्रम राणासंग विवाह गरिन् ।  करिव २ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले मङ्सिर २१ गते सामाजीक संस्था विवाहको नाम दिए ।

सोल्टिनी नामले परिचित रिश्मा गुरुङले प्रणय दिवसको अवसरमा विवाह गरिन् । पोखरामा पारिवारिक समारोह बीच उनले प्रेमी सन्दिप गुरुङसंग एक साथ जिउने मर्ने कसम खादै विवाह गरेकी हुन् ।

कलाकार विजय बराल र प्रमिला खनालले रंगमन्चमा फस्टाएको प्रेमलाई विवाहको नाम दिए । एक साथ काम गर्दा गर्दै प्रेममा परेका यी दुईले पारिवारीक समारोह बीच सामान्य रुपले विवाह संस्कार सम्पन्न गरे । फागुन १५ गते विवाह गरेका यी दुई एक साथ खुसी देखिन्छन् ।

विवाह अघिनै चर्चाको शिखरमा रहेका आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले समेत यहि फागुनमा विवाह गरेका हुन् । उनीहरुको एक हप्ता लामो विवाह समारोहलाई लिएरर आलोचना समेत भयो । भारतीय र नेपाली संस्कृति पछ्याउदै भएको यी दुइको विवाहको मुख्य समारोह फागुन १६ मा रहेको थियो ।

वर्षकै विवादित विवाह आंचल शर्मा र उदिप श्रेष्ठको विवाह फागुन २९ मा भएको थियो । लेहेंगाको चर्चा र हेलिकप्टरबाट भएको इन्ट्रीलाई ढोंग भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो । धेरै दिन लगाएर भव्य रुपमा गरिएको विवाहलाई यी दुइले भने आफ्नो विवाह आफ्नो मर्जी भन्दै पन्छिएका छन् ।