कलाकार कहिले वर्कआउट र टिकटकबाट बाहिर आउने ?
कोरोना अर्थात कोभिड १९ ले विश्व नै दु:खमा छ । नेपालमा समेत लकडाउनको दोश्रो हप्ता पुरा भईसकेको छ । हाल सम्म सामाजिक दुरी कायम राख्नु र सरसफाईमा ध्यान दिनु नै बच्ने उत्तम उपाय मानिएको छ । जाँच गरिएका मध्ये नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखेको छ त्यस मध्ये एक जनालाई ठिक भएर घर फर्कीसकेका छन् । त्यस्तै नेपालमै रहेकी एक महिला बाहेक बाँकी सबै विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएको हो ।
हिजो मात्रै सरकारले एक हप्ता लकडाउनको समय थप गरेको छ । कैयौ परिवारमा खानेकुराको अभाव हुन थालेको छ । भौतिक समस्या एक ठाउँमा छ, मानसिक रुपमा अधिकांशलाई यो समय समस्या सुरु भएको छ। सकारात्मक रुपमा सोच्ने हो भने एक प्रकारले परिवारको साथ समय बिताउन पाईएको छ । आफ्नै लागि समय दिन पाइएको पनि छ । तर जब खाना नै छैन भने घरमा बसेर मात्रै के गर्न सकिन्छ र ? दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिको जिन्दगी त झन धेरै कठिन बनेको छ ।
अधिकांश समय बाहिर बिताउने व्यक्ति अचानक एक स्थानमा बसिरहनु परेको छ । अकस्मात आएको यो परिवर्तन सुरुका केही दिन त रोमान्चक हुन सक्छ । तर समय बित्दै जादा व्यक्तिमा समस्या देखिने थालेको छ । टाउको दुख्ने, दिक्क लाग्ने, छटपटी हुने सामान्य नै हुन थालेको छ । त्यही माथि महामारीको प्रकोप र यसले सिर्जित डर अर्कै छ ।
अहिले सबै भन्दा बलियो साहरा इन्टरनेट रहेको छ । यदि इन्टरनेट पनि नहुने हो भने ? यो प्रस्नले समय समयमा सताउँछ । फेरी यहि सामाजिक संजालमा फैलिने गलत खबरले नकारात्मक प्रभाव छोडेको छ । भ्युजका लागि राखिने शिर्षक देखेर मानिसमा अझ बढी निरासा सिर्जना भएको छ ।
स्थिति सामान्य बनाउन सरकारले गर्नु पर्ने पहल केहि पनि गरेको देखिदैन । मनोबिदले मानिसहरुमा समस्या आउने बताईरहदा कुनै पनि पक्षबाट त्यस तर्फ आवश्यक पहल भएको छैन । धेरैको पहुचमा सजिलै पुग्न सक्ने कलाकारको सक्रियता पनि खासै नभएको अनुभव हुन थालेको छ ।
पहिलो चरणमा एक पछि अर्को गर्दै सबै कलाकारहरुले घरमै बस्न र सुरक्षित रहन आग्रह गरे । दोश्रो चरणमा वर्कआउटको भिडियो सेयर गरे । त्यस्तै खाना बनाएको, घरको काम गरेको बिषय सेयर गर्दै छन् । पछिल्लो समय राहतको चर्चा र सडकका जनावरलाई खाना खुवाएको तस्विरले सामाजिक संजाल भरिएको छ । यी सम्पूर्ण पहल सकारात्मक हुदै गर्दा पनि एउटा प्रश्न उठेको छ । के कलाकारले यो भन्दा बढी केही गर्न सक्दैनन् त ? कलाको प्रयोग गरेर जनचेतना फैलाउन किन ढिलो गरिदै छ ?
कलाकारको पछिल्लो समयको सामाजिक संजालको सक्रियता संक्रमणको डर कम गर्न प्रयोग गर्न सकिन्छ । आम जनतामा त्रास बढेको छ, यसमा कुनै शंका छैन । यो समय उनीहरुको सानो सानो कुराले समेत सम्पूर्णमा सकारात्मक प्रभाव छोड्न सक्छ । यसको लागि सरकारले समेत कलाकारलाई सकारात्मक रुपमा प्रयोग गर्न सक्थ्यो । यस विषयमा निश्चल बस्नेतले आवाज उठाएका छन् । मनोज गजुरेलले आफ्नै च्यानल मार्फत केही सामाग्री सेयर गर्दै छन् । जसको सकारात्मक प्रभाव समाजमा परेको छ । तर अन्य कलाकार ?
कलाकार स्वयमले समेत आफ्नै तवरबाट संदेशमुलक बिषय सेयर गर्न सक्छन् । तर वर्कआउट, मिठो मिठो खाना र टिकटकबाट बाहिर नै आउन चाहेको देखिदैन ।
थाहा छैन यो अवस्था कहिले सम्म लम्बिने हो ? यसको अन्त्य कसरी हुन्छ ? आर्थिक रुपमा कहिले सम्म धान्न सकिने हो ? यो सबै भन्दा माथि, मानसिक रुपमा बलियो बनेर कसरी लड्ने हो ? यस विषयमा सम्पूर्ण कलाकारको समयमै ध्यान जान जरुरी छ ।
प्रतिक्रिया