कोरोनाले फुर्सदमा हुनुहुन्छ ? हेर्नुस यी नेपाली फिल्म (लिंक सहित)

कोरोनाको त्रास विश्वभर छ । चिनमा नियन्त्रणमा आए पनि इटाली अमेरिका लगायत अन्य धेरै देशको स्थिति भयावह छ । यस परस्थितिमा नेपालमा हाल सम्म संक्रमण फेला नपरे पनि भारतमा समेत केहि संख्यामा मृत्यु भैसकेको अवस्थामा हामी सुरक्षित भने पक्कै छैनौ । यहि विषयलाई ध्यानमा राख्दै सरकारले आजबाट सम्पूर्ण स्कुलहरु बन्द गर्न साथै जमघट नगर्न भनेको छ ।

अब अधिकांश विद्यालय बन्द हुने छन् । अघिल्ला बर्षहरुलाई नियाल्दा यो बर्ष एक महिना बढी समय बिदा हुने भएको छ । बालबाच्चाको विदासंगै अभिवावक समेत फुर्सदिला भएका छन् । एकपछी अर्को गर्दै धेरै अफिस पसल बन्द हुन थालेका छन् । यो समय भनेको सेल्फ क्वारेन्टाइनमा राखेर आफुलाइ सुरक्षित गर्ने समय पनि हो ।

यो समयमा हामीले भने फुर्सदिलो समय सदुपयोगको लागि नेपाली फिल्म हेर्नको लागि सल्लाह दिन्छौ । समय निकालेर बिदेशी फिल्म हेर्ने हामी नेपाली दर्शकले यस पटक केहि समय नेपाली फिल्मलाई दिन सकेमा हाम्रा सन्तानहरुले समेत नेपाली फिल्मको महत्व बुझ्न पाउने थिए ।

आज हामी तपाइँहरुलाई यहि फुर्सदिलो समयमा ‘क्वालिटी’ समय व्यतित गर्न हेर्न पर्ने केही फिल्म को सुची दिदै छौ । कतिपय फिल्म समिक्षकको नजरमा परेका छन्, भने कति फिल्म दर्शकले मन पराएका । साथै कुनै फिल्मले समग्र फिल्मको र नेपालको इतिहास बोक्छ, भने कति फिल्मले फिल्म क्षेत्रको ट्रेन्ड नै परिवर्तन गरेका छन् । फिल्मको सुची तयार गर्दै गर्दा केही महत्वपुर्ण फिल्मलाई भने समेट्न सकिएको छैन । किनकी आजको फिल्मको लिस्टमा युट्युव च्यानलमा उपलब्धताको आधारमा तयार गरिएको छ । यस्ता फिल्महरु जसले अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चा पाए, तर युट्युवमा उपलव्ध छैनन् । हरी, कालो पोथी, सेतो सुर्य लगायत यो सुचिमा समावश हुन सकेनन् ।

हेरौं हामीले तयार गरेका विदाको सदुपयोग गर्दै हेर्नुपर्ने केही फिल्म:
बलिदान :
मोदनाथ प्रसितले लेखेको फिल्म बलिदान चर्चित निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका हुन् । हरी वंश आचार्य, मदन कृष्ण श्रेष्ठ, अन्जना श्रेष्ठ, बिएस राणा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको फिल्म श्याम सापकोटाले निर्माण गरेका हुन् । फिल्म नेपालमा १९९७ अप्रिल १०मा प्रदर्शनमा आएको थियो ।

उजेली :
डकुमेन्ट्री फिल्म ‘उजेली’ हेर्ने पर्ने नेपाली फिल्म मध्ये एक हो । वालविवाहको विषयमा युनिसेफको सहकार्यमा फिल्म निर्माण भएको थियो । रीना गेलले निर्माण गरेको फिल्म दिपेन्द्र गौचनले निर्देशन गरेका थिए भने उजेलीको भूमिकामा वृन्दा अधिकारी छिन् । पछिल्लो समय अधिकारी सामाजिक संजालमा भाइरल समेत भएकी थिइन् फिल्म सन् १९९२को प्रणय दिवशमा प्रदर्शनमा आएको थियो ।

दर्पण छायाँ :
तुलशी घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्म दर्पण छायाँमा दुइ साथीको एक केटीसंग बसेको प्रेमको कथा छ । फिल्ममा दिलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको छ ।

कुसुमे रुमाल :
तुलशी गिमिरेकै लेखन तथा निदेशन रहेको फिल्म कुसुमे रुमाल पनि त्रिकोणात्मक प्रेम कथामा बनेको फिल्म हो । फिल्ममा भुवन केसी, तृप्ति नाडकर उदितनारायण झा लगायतको मुख्य भूमिका रहेको छ ।

चिनो :
घिमिरेकै लेखन निर्देशन रहेको फिल्मले समकालीन समयमा तहल्का मचाएको थियो । फिल्ममा रामचन्द्र अधिकारी, श्रवन घिमिरे, तुलशी घिमिरे, सुनिल थापा लगायतको मुख्य भूमिका रहेको छ । फिल्ममा बदलाको कथा छ ।

माइतीघर :
बिएस थापाको लेखन निर्देशन रहेको फिल्मले जेल परेर छुटेकी नारीको कथा बोल्छ । फिल्ममा माला सिन्हा, चिदम्बर प्रसाद लोहनी, टिका भुषण दाहाल सुनिल दत्त लगायतको अभिनय रहेको छ । फिल्म नेपालमा सन् १९९६ डिसेम्बर १६मा प्रदर्शनमा आएको थियो ।

मोक्ष:
प्रविन श्रेष्ठको निर्देशन राजन कठेतको लेखन रहेको फिल्ममा संगीत कर्मीको कथा छ । कोशिस छेत्री, बेनिशा हमाल, बसन्त भट्ट लगायतको फिल्ममा अभिनय रहेको छ ।

दक्षिणा :
तुलशी घिमिरे कै लेखन निर्देशन रहेको दक्षिणामा शिक्षकको कथा छ । फिल्ममा तुलशी घिमिरे, भुवन केसी, निरुता शिंह लहायतको अभिनय रहेको छ । यो फिल्म निरुताको डेब्यु फिल्म समेत हो ।

लूट :
नेपाली फिल्म जगतमा पछिल्लो समयको ट्रेन्ड स्तर फिल्मको रुपमा लूटलाई लिइन्छ । सपनाको सहर काठमाडौंको कथा फिल्मले समेटेको छ । निश्चल बस्नेतको लेखन निर्देशन रहेको फिल्ममा निश्चल स्वयम्, सौगात मल्ल, दयाहंग राइ, बिपिन कार्की, रिचा शर्मा लगायतको अभिनय रहेको छ ।

पशुपति प्रसाद :
दिपेन्द्र के खनाल निर्देशित फिल्म पशुपति प्रसाद खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा खगेन्द्र, रविन्द्र सिंह बानिया, बिपिन कार्की, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ । फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरेको थियो ।

जात्रा :
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको जात्रा फिल्म पछी २ सिक्वेल समेत बनि सकेका छन् । फिल्मले पैसाको कथा बोल्छ । फिल्ममा बिपिन कार्की, बर्षा राउत, रविन्द्र झा लगायतको अभिनय रहेको छ ।

बसन्ती :
नीर विक्रम शाह निर्देशित बसन्ती ऐतिहासिक उपन्यास बसन्तीमा आधारित रहेर बनेको फिल्म हो । डाइमन्ड सम्सेरले लेखेको कितावले नेपाली इतिहासको एक पाटोको जानकारी दिन्छ । फिल्ममा करिश्मा मानन्धर, राजेश हमाल, गौरी मल्ल लगायतको अभिनय रहेको छ ।

झोला
कृष्ण धरावासीको उपन्यास झोलामा आधारित फिल्म यादव कुमार भट्टराईले निर्देशन गरेका हुन् । सति प्रथाको बिषयमा बनेको फिल्ममा गरिमा पन्त्त, सुजल नेपाल, लक्ष्मी गिरी, दिपक छेत्री लगायतको अभिनय रहेको छ ।

गोपी :
गाई पालन गर्ने कृषकको कथामा बनेको गोपी फिल्ममा दिपेन्द्र लामाको लेखन तथा निदेशन रहेको छ । फिल्ममा बिपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । फिल्मले नेपालमा बसेर केही खोज्दा आइपर्ने समस्या बारे बोलेको छ ।