गीतकारसमेत बालुवाटार प्रकरणमा : को हुन् त दिनेश अधिकारी?
‘तिमी जुन रहरले ममा फुल्न आयौ’ जस्तो चर्चित गीत १८ बर्षकै उमेरमा लेखेका गीतकार दिनेश अधिकारी ‘बालुवाटार जग्गा प्रकरण’ मा मुछिएका छन् । नेपाल प्रशासन सेवामा सचिव सम्मको पदमा रहेर सेवा निबृत भएका उनी १७५ भ्रस्टाचार आरोपीको लिस्टमा परेका हुन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा उनीहरु विरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित उच्चपदस्थ पदाधिकारीहरुलाई बिगोको अनुपातमा जरिबाना र १० वर्षसम्म जेल सजाय तथा राष्ट्रसेवकका हकमा भ्रष्टाचार निवारण ऐनअनुरूप थप तीन वर्ष जेल सजाय माग गरिएको छ ।
को हुन् त दिनेश अधिकारी?
पहिलो गीत नै नारायण गोपालको आवाजमा गाउन लगाएका उनका धेरै गीत नेपाली मनमुटुमा बस्न सफल छन् । उनका सोचे जस्तो हुन्न जीवन, तिमी जुन रहरले, तिमी यसै लजायौ, बोल बोल पाखाहरु, लैजा चरी, आंधीले लुक्नु, माया मिठो, पहाडमा जाडो बढे, खुसि छु म आज लगायत गीत समेटेर १४ वटा गीत एल्बम, ४ गीतिसंग्रह सार्वजनिक भएका भएका छन् । नारायण गोपाल, तारादेवी लगायतसंग सहकार्य गरेका अधिकारीको गीत पछिल्लो समयका गायक प्रताप दासले पनि गाएका छन्।
उनले सय बढी नेपाली फिल्मका गीत समेत लेखेका छन् । २०४६ सालमा फिल्म ‘प्रेमकथा’ बाट फिल्ममा गीतहरु लेख्न थालेका अधिकारीले बिजय पराजय, प्रतिशोध, सडक, जीवन संघर्ष, जलन, जीवन साथी, मेरो हजुर, आफ्नो घर आफ्नै मान्छे, स्वाभिमान लगायत फिल्मका लागि गीतहरु लेखेका छन् ।
गीतमात्रै नभएर उनले धेरै कविता समेत लेखेका छन् । उनका दस कविता संग्रह प्रकाशित छन् । उनले कविता संग्रहबाटै २०५६ सालको मदन पुरस्कार समेत प्राप्त गरेका थिए । उनले रत्नश्री स्वर्ण पदक, मोति पुरस्कार, साझा पुरस्कार, सर्वनाम पुरस्कार, छिन्नलता गीत पुरस्कार, रास्ट्रीय प्रतिभा पुरस्कार लगायत धेरै पुरस्कार प्राप्त गरेका छन् ।
२०१६ सालमा काठमाण्डौमा जन्मिएका अधिकारीको बाल्यकाल काठमाडौँ र सर्लाहीमा बित्यो । २०३९ सालमा नै कानुनमा स्नातक गरेका उनले २०४५ मा मानविकी संकाय अन्तर्गत रहेर राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
२०३८ साल देखी नायव सुब्बा पदबाट सरकारी सेवामा स्थाई रुपमा प्रवेश गरेका उनी न्यायधिस हुदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव बने । महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायधिवक्ता रहदै उनी स्वास्थ्य मन्त्रालयको सहसचिव समेत रहिआएका छन् । २०६६ सालमा सचिवमा बढुवा भै उनी २०७१ साउनबाट सेवानिबृत भएका हुन्।
तस्विर सौजन्य : लोकान्तर टिभी
प्रतिक्रिया