सपना टुटेकाहरुको कथा : मिलन कंडेलको ‘यो समय’

महिला प्रति रंगिन दुनिया भनिएको ग्ल्यामर क्षेत्रमा गरिने विभेद अझ भनौ पुरुष पात्रको नियतलाई पुस्तक ‘नियत’ मार्फत पत्रकार तथा लेखक डीवि क्षेत्रीले छर्लंग पारेका छन् । यहि बीच पुरुष पात्र जो यो ग्ल्यामरको दुनिया प्रवेश गर्न खोज्दै छ र आफुसंग ‘क्षमता’ मात्रै बोकेर आएको छ, उसले भोग्ने नियतको कथा मिलन कंडेलले एक गीत मार्फत स्पस्ट पार्न खोजेका छन् ।

ग्रामिण क्षेत्रबाट गीत संगीत र अभिनयमा नै केहि गर्छु भनेर सहर पसेका अधिकांस युवाको कथा बोल्छ गीत ‘यो समय’ ले । आमाको हातबाट टिका र आशिर्वाद थाप्दै, आमा र बहिनीलाई समेत सहर छिट्टै ल्याउने बाचा सहित घर छोडेको एक आम युवाको शरीर अन्त सम्म आइपुग्दा बीच सडकमा बिना हलचल लम्पसार परेको देख्न सकिन्छ । आशको बदला ‘सास’ गुमाउनु पर्ने नियत त्यो सहर र यो क्षेत्रले शिर्जना गरेको छ उसलाई ।

अपुरा सपनाको कथा भन्दै , गीतको भिडियो सुरु हुन्छ । सपना बिर्सेर अगाडी बढ्ने हिम्मत उ संग छैन । यसको सबै दोष समय र भाग्यलाई दिदै उ अगाडी बढ्दै छ । लामो समय संगीत साधना गरेर पोख्त बनेर गीत रेकर्डिङ गर्न जादा, ठाडो मुखले पैसा माग्ने प्रचलन धेरै नया सर्जकले भोगेकै छन्, यो सहरमा । हो यहि नै हुन्छ, भिडियोको मुख्य पात्रको जीवनमा पनि । यसले कला पैसामा बिक्न थालेको भान हुन्छ ।  त्यहि माथि आफ्नै साथिको दुरुत्साहन टिठलाग्दो छ ।  पैसा सकिदै गर्दा आफ्नासंगै साथि पनि टाढिन्छन ।

अभिनय गर्न भन्दै जादा त झन् उनी हाँसोको पात्र पो बन्छन ।  अभिनय कस्तो छ भन्ने तर्फ ध्यान नै नदिइ सिदा लगानी गर्नु पर्ने बाध्यतालाइ देखाउदै गर्दा ,धमला पत्नी एलिजा गौतम लगायतको अनुहार याद आउछ ।  र यो नै रंगिन जगतको आजको रियालिटी हो ।

कोठामा फर्केर आउदा अर्को दर्दनाक स्थिति देखिन्छ । आफु बसिरहेको कोठाको सामान कोठा भाडा तिर्न नसकेकै कारण रोडमा फ्यालिएको हुन्छ । त्यो ग्यालिन, प्रेसर कुकर, राइस कुकर, एउटा कपडा भरिएको झोला, एउटा बाटा र पानि राख्ने एउटा बाल्टिन ।  संघर्ष गर्दै गरेको, गाउँ छोडेर आएको जो कोहिको सम्पति यति नै हो ।  त्यति मै चलेको जिन्दगि पनि रोडमा आउदै गर्दा आफ्नो ‘मार्दै गरेको सपना’ ले अझ बढी पिरोल्छ । घरमा बुढी भाकी आमा र बिवाहको उमेर काट्न लागेकी बहिनिको पिडा अझ छुट्टै छ ।

जब मान्छेले कुनै आधार नै पाउदैन अगाडी बढ्न र मर्न पनि सक्दैन, हो त्यहि बेला हो मान्छे बहुलाउने । सभ्य भाषा बनाउदै ‘डिप्रेसन’ भन्दैमा भावना परिवर्तन हुदैन ।  भित्र मारेर बाहिर आफुलाई सामान्य देखाउदै गरेका यहि संघर्ष गर्दै हजारौ मन भन्दा थोरै फरक यो कथाको मुख्य पात्रलाई ‘बहुला’ बनाएका छन् निर्देशकले । यसै गरि बहुलाएर आफ्नो सत्यबाट टाढा भाग्न त कतिले सक्छन् खै ।  तर भित्र भित्र मारेर बाहिर हास्नेको ठुलो जमात भेटिन्छ सहरका गल्लि गल्लिमा ।

बहुलाएरै पनि सुख छैन उसलाई । यति हो पहिला किन्न नसकेको खानेकुरा मागेरै पनि उसले पाएको चै छ ।  अन्त्य मिठो छैन, यो कथाको ।  हुन त संघर्षको दिन पनि मरेतुल्य नै त थियो ।

भिडियोको प्राविधिक पक्षलाई हेर्दा, संघर्सको जीवनकालका अभाव देखिन्छन् । देखाएको बिषयमा प्राविधिक त्रुटी भए पनि देखाउन खोजेको बिषय स्पस्ट छ ।  थोरैमा धेरै कुरा पुर्याउन पर्ने बाध्यता सर्जक कंडेलमा परेको भान हुन्छ । सफल हुनु भन्दा अघिको सत्यता नै यहि हो ।  तर जति छ त्यो अब्बल देख्निछ ।
मिलन कडेलको स्वर, शब्द, संगीत गीतमा रहेको छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । भिडियोमा कंडेलकै अभिनय रहेको छ । भिडियोमा संगीता कडेलको शृंगार, सुवास शाहको सम्पादन,  प्रवेश राईको छायंकन तथा निक्रम कार्कीको निर्देशन रहेको छ ।