रेकर्ड राख्दै कालापत्थरमा फेशन शो सम्पन्न

‘माउन्ट एभरेस्ट फेसन रनवे’ ले फेशनको क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको छ । आइतबार सोलुखुम्बुको कालापत्थरमा फेसन शो गर्दै नयाँ रेकर्ड राखेको हो । विश्वकै उच्च स्थानमा गरिएको फ्सन शो भएका कारण आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेको हो । कार्यक्रम समुन्द्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको हो ।

फेसन शोमा आठ नेपाली, एक फिनल्यान्डकी, पाँच इटालीकी, एक श्रीलंकाकी र एक सिङ्गापुरकी मोडलहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको मुख्य उद्धेश्य उच्च स्थानमा आयोजना गरी जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु रहेको पर्यटन बोर्डले जनाएको छ ।

कार्यक्रम आयोजना गर्न ४८ जनाको टोली गत जनवरी १८ तारिखमा लुक्लाबाट कालापत्थरका लागि पैदल हिँडेका थिए । पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ नन्दिनी लाहे थापा, विश्वाम्बर घिमिरे, गिनिज वर्ल्ड रेकर्डका अधिकारी समेतले कार्यक्रममा सहभागिता जनाएका थिए । सहभागीहरु जनवरी ३० तारिखमा काठमाडौं आइपुग्ने बताइएको छ ।