पहिलो चुम्बन (भाग – एक)
जागीरको पहिलो दिन आज । मन त्यसै खुशी थियो । भर्खर भर्खर हो जागिरे हुने रहर चलेको पनि । मान्छे’नि खासै राम्री छु जस्तो त लाग्थेन त्यहि भएर होला आज सम्म लभ नि परेको थिएन । लभ गर्ने रहर चै बबाल ठूलो थियो ।
अफिस टाइममै जानु पर्यो भनेर रेडि हुँदै थिए फोनमा घन्टि बज्यो । आमाको फोन रै’छ । उठाएँ…
म – क्यारीचौ आमै ?
आमा – तँलाई फोन गर्दैछु त, था’पाईनस ?
म – था’पाएँ । माम खायौ ?
आमा – खाईछैन । तैले खाईस ?
म – खाएर हिड्न लाकी अब ।
आमा – ल ल राम्ररी जा, काम राम्ररी गरेस । मेरो पिर नगर म’नि अब भात खाएर सहकारीको मिटिङ्गा जानु छ ।
म – ल ल आमै आफ्नो ख्याल गर, मेरो नि पिर नगर, बेल्का आएर फोन गरुँला म ।
फोन राखेँ । आमाको माया सारै लाग्थ्यो । त्यहि आमा थिईन मेरो लागि जे जे भनेनी । आमा बाहेक अरु कसैको वास्ता थिएन मलाई । बाबाको माया मैले कहिल्यै महसुस गर्न पाईन । म २ बर्ष कि हुँदा बाबा बितेको रे ! त्यसपछी आमाले अर्को बिहे गरिन । सौतेनी बाउले मलाई कहिल्यै छोरी मानेन, मलाई पनि कहिल्यै बाउ भन्ने रहर जागेर आएन । बाउको पहिलेको बुढीको एउटा छोरा छ, नातामा दाइ तर आज सम्म बोली मिसिएको छैन ।
भागेर बिहे गरेकी रे मेरी आमाले त्यसैले मामाघरबाट कहिल्यै खोज खबर भएन । आमा अर्घाखाँचीको गाउँमा थिइन । त्यो नाताले बाउ पर्नेको मुख सम्म’नि हेर्न मन लाग्दैनथ्यो । त्यहि भएर एसएलसी सक्ने बित्तिकै बुटवल आएँ । एउटा साथी थिई, त्यसैले एउटा पसलमा काम लगाईदिएकी थिइ । त्यहिँ काम गर्दै प्लस टु सकेँ । साहु ठिक थियो । केही गाह्रो भएन । प्लस टु राम्रै गरि सकेँ अनि बिबिएस सुरु गरें । एउटा कलेजमा एकाउनटेन्टको काम पाएँ, तलब पनि राम्रै छ ।
आज पहिलो दिन आमाको बोली पनि सुनें । पक्कै राम्रो होला अब । तयार भएर हिडें म । खासै टाढा त थिएन त्यसैले हिडेरै जान्थे म । काम गाह्रो त होइन तर पनि सुरु सुरुमा डर लाग्थ्यो । सरहरु कोहि कोहि त सारै राम्रा । कैले काहीँ त देखेर मनै कटक्क हुन्थ्यो । कोहि कोहि स्टुडेन्ट पनि त्यस्तै थिए । सिंगल भएर होकि, सबै राम्रा नै हुन कि आफ्नो बैँस लाएर हो कुन्नी, सबै राम्रै देख्थे ।
अफिस आउने जाने चल्दै थियो । कलेज नि कैले गईन्थ्यो कैले गइन्थेन । बाटोमा आउँदा जाँदा नि धेरै सँग आँखा जुध्थे । कलेजमा त झन कति जुधे कति । अनि काम गर्ने ठाउँमा त मलाई एक्लै देख्दा स्टुडेन्टहरु नि लाईन हान्न खोज्थे । त्यसैले राम्री नै छु कि जस्तो लाग्थ्यो ।
एक दिन घर जाँदै थिए । छिमेकीको घरमा भाडामा बस्न मान्छे आएका रैछन । एउटा ह्यान्डसम मोरो अलिक पर फोनमा बोल्दै थियो । हेर्ने बित्तिकै मन पर्यो । कुर्कुरे बैँस लागेर होकि के हो जो पनि मन पर्ने । कोठामा गएर सिरानी पट्टिको झ्याल खोलेर पानी पिउदै बाहिर हेरिरहें । को को बस्न आएका हुन, के हुन, को हुन केही बुझ्न सकिन । त्यहि घरकी भाउजूको राम्रै दोस्ती भएको थियो म सँग । उनकी ७ बर्षकि छोरी थिई । मलाई सारै गर्थि फूपू भनेर । उसको घरमा भएका सबै काम कुरा आएर मलाई सुनाउथि ।
साँझ उ मेरो कोठामा आइ । एउटा चक्लेट सधै उसको लागि राख्दिनै पर्थ्यो नत्र हंगामा मच्चाउथिई । आज नि आएर आफै मेरो ब्यागबाट चक्लेट निकालेर खाई । अनि कुरै कुरामा सोधें को आको घरमा भनेर । दुईवटा अंकल हरु हाम्रो घरमा बस्न आउनु भएको भनी । उ सारै बाठी थिई । कहिले काहीँ आफ्नै बाउ आमाको चर्तीकला नि बुझी नबुझी सुनाउथि मलाई । म भने बुझी बुझी नि सोध्थे । भाउजू संग नि धेरै राम्रो सम्बन्ध बनाएकी थिएँ, कहिले काहीँ आफै जिस्काउथें, राती लडाइ गर्नु भन्दा पैले छोरी लाई सुताउनी गर सबै हिस्ट्री बुझ्न थालिछे भनेर । तिम्रो लडाई हुनि कैले हो टुंगो छैन हाम्रै हिस्ट्रीमा मन बुझाउ भन्दै भाउजू हाँस्थिन । नानी बाट खासै केही कुरो पत्तो लाउन सकिन । अनि बेलुका भाउजू छतमा आएकी बेला सोधें ।
‘कुमार केटा हुन दुईजना आ’का छन् झ्याप्पै आँटिहाल कान्छी, कति हाम्रो हिस्ट्री सुनेर बस्छ्यौ’ भाउजुले हाँस्दै भनिन । म पनि ठुलै स्वरमा हाँसे । हामी गफिदै थियौ । त्यो ह्यान्डसम मोरो लुगा सुकाउन भन्दै आयो । हामी हाँसिरहेका थियौ । उ आए पछि हामी अलि शान्त भयौ । ‘ठुलै स्वर गुन्जेको थियो अघि सम्म अहिले किन चुप…ह ? भाउजू ?’ मोरोले भाउजुलाई सोध्यो । भाउजुले ‘हामी नन्द भाउजुको कुरो नि’ भन्नू भो । उ पनि एएए भन्दै हाँस्यो । मोरो हाँस्दा एक तिरको दाँतको दारा देखिदो रै’छ । झन मन पर्न थाल्यो अब त । ‘हजुरकी नन्द लाई मैले के भन्नू पर्ला ?’ उसले भाउजुलाई सोध्यो । भाउजुले’नि जिस्किदै भनिन – ‘बैनी भन्दिनुन, हजुर देवर उ नन्द बाँकी आफै बुझ्नु ।‘
दारे दारा देखाउदै हाँस्यो । मलाई’चै भाउजुलाई मार्दिम झै रिस उठ्यो । भाउजुले बुझिन, उनि म तिर हेरेर हाँसिन । दारेले अरु केही भनेन मेरो नाम अनिस खड्का भन्यो । मैले नि म अनिता कार्की भनें । भाउजू काम छ भनेर गइन । म नि मोबाइल चलाए’झै गरि उसलाई हेरिरहें । घरी घरी आँखा’नि जुधे । लुगा सुकाएर सके पछि म गए है फेरि फेरि नि बोल्दै गर्नु भनेर उ गयो । मैले नि हस् भने….
बाँकी अर्को भागमा…
प्रतिक्रिया