करोड करोडका उस्तै उस्तै गीत !

बलिउडमा सय करोड क्लबमा छिर्नु प्रतिष्ठाको विषय मानिन्छ । नेपालमा कुनै फिल्म वा गीतले सय करोडको आँकडा छुन, अझैं नचिताए हुन्छ । तर एक करोड यही साल रिलिज भएका थुप्रै गीतले पार गरे । बलिउडमा सय करोड कमाउने फिल्मको धाक बेग्लै भए झैं, एक करोड दर्शक पाउने गीतका निर्माता र संगीतकारको पनि हाउभाउ बेग्लै देखियो । यो साल लगभग दर्जन गीतले १ करोड दर्शक पाएर नयाँ रेकर्ड कायम गरे ।

यसमा निर्माताले खनखन पैसा तिरेर किनेको भ्युजको हिसाब किताब सम्बन्धित निर्मातालाई नै थाहा होला तर पनि यो सालको नेपाली फिल्म संगीतले डोमिनेट गरेको वर्षको रुपमा रह्यो भन्दा अत्युक्ति हुँदैन । यो साल सर्वा्िधक हेरिने गीतमा ‘कुटुमा कुटु’ एक नम्बरमा रह्यो भने दोस्रो नम्बरमा ‘काले दाइ’ रह्यो । यसैगरी ‘नाइलनको साडीमा’, ‘रुपै मोहनी’, ‘भन्छु आज’, ‘तिमी रोएको पल’,‘पर्ख पर्ख मायालु’, ‘चरी चट्ट पारी’, ‘कसम हो कसम’,‘आइएम सरी’,‘किन आजकल’ले पनि युट्युबमा करोड दर्शक पाए । केही वर्षयता नेपाली गीतले विवाह,पार्टी तथा सांस्कृतिक समारोहमा हिन्दी गीतलाई विस्थापित गर्न थालेका छन् जुन क्रम यो साल पनि जारी रह्यो । होली होस् वा तिहार वा कुनै अन्य कार्यक्रम सबै ठाउँमा नेपाली गीत घन्किए । अधिकांश गीत रिलिजको दुई महिना नपुग्दै करोड क्लबमा दर्शक पाइरहँदा यो मामलामा फिल्म ‘मंगलम्’को गीत ‘पर्ख पर्ख मायालु’ अलिक फरक देखियो । असोजमा फिल्म ‘छक्का पन्जा २’सँग आउने तयारी भइरहँदा त्यसको महिना दिन अघि मात्र गीत ‘पर्ख पर्ख मायालु’को गीत युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।
असोजबाट यो फिल्म सरेर फागुनमा मात्र रिलिज भयो । फिल्म रिलिजको साता अघि मात्र गीतले एक करोड दर्शक पायो । यो गीतले मात्र अग्र्यानिक दर्शक पाएको धेरैको तर्क छ । नत्र अधिकांश भिडियोमा दर्शक बढाउने माध्यम पैसा नै बन्यो ।
फिल्म कथा र कलाकारको अभिनयले राम्रो हुने गर्दछ । यसमा लोकेशनदेखि प्राविधिक अन्य विषय पनि जोडिएका हुन्छन् । त्यसैकारणले उनीहरुले फिल्मको कथाबस्तुसँगै गीतलाई पनि निकै मेहनत गर्न थालेका छन् । युट्युबमा हिट रहेका गीतको मेकिङ, गीत, लय, संगीतदेखि कलाकारले गरेको नृत्यलाई हेर्दा पनि सबै कुराले अब्बल देखिन्छन् ।

यो वर्ष फिल्मी संगीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल हाबी भए । उनीहरुले संगीत सिर्जना गरेका गीतहरु दर्शकको सर्वाधिक रोजाईमा परे । अल्मोडा राना उप्रेती, टंक बुढाथोकीलगायतका संगीतकार पनि यो साल चर्चामा त रहे, तर गीत चोरेको वा नक्कल गरेको आरोपमा । भाइरल संगीतकारको उपाधि पाएका कालीप्रसाद बास्कोटाले भने यो साल उति चल्तीका गीत दिन सकेनन् । उनलाई पनि राज सागर र प्रकाश पौडेलले आफ्ना गीत चोरेको आरोप लगाए ।
गीतलाई फिल्म पब्लिसिटीको मुख्य हतियार बनाउने क्रम यो साल पनि जारी रह््यो । कलबलछल जे गरेर हुन्छ गीतमा भ्युज देखाउने विकृति यसैसालदेखि सुरु भयो । देखासिखीमा निर्माता र संगीतकारले ट्रेन्डिङका लागि भन्दै फेक भ्युज किन्ने परम्परा यही सालबाट बलियो बनाए ।
यो साल जसरी निर्माताहरु हस्य फिल्म पछि लागेको देखियो निर्माताहरु उसैगरी लोकगीतको पनि पछि लागे । यस्ता फिल्म लगभग देख्नै मुस्किल पर्यो जहाँ राजनराज सिवाकोटीको लोकगीत फिल्ममा नघुसाइएको होस् । भित्रभन्दा आवरणमा ज्यादा भरोसा गर्ने निर्माताको यो प्रवृति गीतका मामलामा देखियो । जेनतेन एउटा गीत राम्रो बनाउने तर फिल्म गतिलो नबनाउने । त्यसैले गीत सुपरहिट भएका ‘पर्व’, ‘कारखाना’, ‘रुद्रप्रिया’, ‘राज्जा रानी’, ‘बटरफ्लाई’, ‘पञ्चेबाजा’, ‘तिमीसँग’ जस्ता फिल्मले हावा खाए ।
जसरी यो सालको नेपाली फिल्म हास्य शैलीका फिल्ममा खुम्चिएको देखियो, उसरी नै फिल्म संगीत लोकगीत र एकैखालका रोमान्टिक गीतमा सीमित भयो । यसका लागि निर्माता र संगीतकारले एक अर्कालाई चौर औंला त ठड्याउलान् तर यसको क्षति कतै उद्योगले बेहार्न नपरोस् ।