फिल्म रिलिजको क्यालेन्डर किन यस्तो ?

असार महिनामा आप्पा फिल्म दर्शकले थाहा पाएका छन् । फाट्टफुट्ट फिल्म अरु पनि चलेका छन् । फिल्म आएको र गएको थाहा नपाएर दर्शक हलमा नजाने फिल्मलाई फिल्म के भन्नु ।

यो बर्ष फिल्म कम बन्ने त देखियो । रिलिज पनि कम छ । २०७५ सालको भन्दा २०७६  सालको फिल्म रिलिज ४० प्रतिशत कम हुनेछ । छायांकन भैरहेका फिल्मको संख्याले पनि यो कुरा थाहा हुन्छ । तर, नेपाली फिल्म कम भएर पनि रिलिज हुन लागेको मिति र क्यालेन्डर भयवित नै बनाउने खालको किन भएको हो ?

जेठ ३ गते नै २ वटा जात्रै जात्रा र विर विक्रम २ चलेका थिए । फिल्म जुध्नै पर्ने थिएन । न बिदा नै थियो । जेठ ३ मा चलेको एउटा फिल्म जेठ १० मा चलेको भए राम्रो हुन्थ्यो । तर, जेठ १० मा नेपाली फिल्म नै आएन । साउन ३० मा पनि यस्तै छ । साउन ३० मा हजार जुनी सम्म र दयारानी भिड्दैछन् । यत्रो मिति खाली छ, तर साउन ३० को जुधाई यस्तो छ ।

भदौ १३ मा मारुनी सिंगल आउनेमा ढुक्क थिइन् निर्मात्री पूनम गौतम । भदौ १३ मा मारुनी सिंगल नआउने भएको छ । मारुनीलाई कबड्डीको तेश्रो पार्टले चुनौती दिएको छ । कबड्डी नाम बनेको फिल्म हो । कबड्डी जुनसुकै मितिमा आएपनि दर्शकले हेर्छन् । तर, भदौ १३ मै आउन लागेको छ । मारुनी र कबड्डीले अरु मिति नपाए जसरी जुध्न लागेका छन् । भदौ २७ मा पासवर्ड र हृदयभरी जुध्न लागेका छन् । भदौ २७ मा यसरी २ फिल्म जुध्न नै पर्ने कारण केही पनि छैन ।

असोज ३ को अवस्था पनि भयवित बनाउने खालको छ । असोज ३ मा ३ वटा नेपाली फिल्मले रिलिज गर्ने तयारी गरेका छन् । घामट शेरे, सरौतो र लभ डायरिज यो दिनमा रिलिज हुँदैछन् । असोज ३ मा नेपाली फिल्म ३ वटा रिलिज हुँदा मंसिर महिना धेरै खाली हुनेछ । दशैंमा रातो टिका निधारमा र छ माया छपक्कै रिलिज हुन लागेका छन् । फागूण ९ मा आमा र लप्पन छप्पन २  रिलिज हुन लागेका छन् ।

फिल्म रिलिज कम छ यो बर्ष । तर, खाली हुने मिति खाली छ । एक दुई दिन बिदा पाउने मितिमा २ देखि ३ वटासम्म फिल्म छन् । नेपाली फिल्मको रिलिज क्यालेन्डर मिलाएर रिलिज गर्दा यो बर्ष फिल्म जुध्न नै पर्दैन । तर, यस्तो गरिदिने कसले ? कसले मिलाइदिने ? कसले व्यवस्थित गरिदिने ?