‘वीर बिक्रम २’ पिजी समिक्षा : मिम नेपाल, गौतम र चाम्स ‘टसल’

मिम नेपालको युटुब च्यानलमा नेपाली फिल्म ‘वीर विक्रम २’ को पीजी समिक्षाको भिडियो सार्वजनिक भयो । भिडियो हेरेसंगै फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले पत्रकार संघ अध्यक्ष, निर्माता संघ अध्यक्ष, पुर्व चलचित्र कलाकार संघ अध्यक्ष, चलचित्र निर्माता संघ अध्यक्ष, चलचित्र निर्देसक संघका अध्यक्ष लगायतको उपस्थितिमा महानगरीय प्रहरी परिषर टेकुमा जाहेरी दिएको जानकारी दिए ।  सोही जाहेरीको आधारमा मिम नेपालको भिडियोमा देखिएका प्रणेश गौतम अनुसन्धानका लागि गत शुक्रबारबाट थुनामा छन् । सामाजिक संजाल, पत्रपत्रिका तथा केही नेताहरु मिम नेपाल र गौतमकोको समर्थनमा आवाज उठाएका छन् भने मिम नेपाल र उनका समर्थकले विरोध सुरु गरेका छन् ।  लोकतान्त्रिक राष्ट्रमा वाकस्वतन्त्रताको घाटी रेटेको भन्ने आरोप राज्य प्रशासन र फिल्म जगत माथी लागेको छ ।  सोही क्रममा आफु माथि एकोहोरो प्रहार भएको भन्दै स्पस्टिकरण दिनका लागि निर्माता निर्देशक चाम्सले प्रेसमिट आयोजना गरे ।

के मा चुके मिम नेपाल र प्रणेश ?
१२ मिनेट ४६ सेकेन्डको भिडियोमा उनीहरुले केहि गल्ति गरेका छन् ।  वीर विक्रम २ पहिलो भाग विना नै दोस्रो आएको भनेका छन् र एकछिन पछी सच्याएर आफुलाई पहिला जानकारी नभएको भनेर थपेका छन् । नेपालमा बनेका अधिकांस फिल्मका सिक्वेल भनिएका भागहरु सिक्वेल नभएर पहिलो फिल्मको पपुलारिटीलाइ आधार मानेर चर्चाका लागि बनाउने गरेको पाइएको छ ।  सोहि क्रममा वीर विक्रमको सिक्वेल भनेर प्रचार गरिए पनि फिल्म वास्तवमा सिरिज हो ।


स्वतन्त्र पेशा व्यवसायी माथि मिम नेपालको प्रहार चित्त नाबुझ्दो छ । खलासी, टेम्पो ड्राइभरलाई फिल्म मन पर्छ भन्नाले उक्त व्यवसाय प्रति पूर्वाग्रही रहेको र हेपेको देख्न सकिन्छ । साथै फिल्मका मुख्य कलाकार पल शाहलाइ रकी सुपरस्टारसंग, नाजिर हुसेनलाई बाल गायक अशोक दर्जीसंग साथै सरिता राजभण्डारीलाइ पुर्व मिस नेपाल निकितासंग तुलना गरिएको छ ।  सो क्रममा रंग भेदलाई उचालिएको देख्न सकिन्छ । जुन नेपालको कानुन बिपरित रहेको छ । तर यस विषयमा बोल्दै चाम्सले आफ्नो फिल्मका कलाकारलाई असर परेको देखे दाजिएका व्यक्तिको विषयमा केही पनि बोलेनन् ।

वीर विक्रम हेर्न नजाउ भनेर सिधै भन्नु अनैतिक देखिन्छ । साथै उनले फिल्म नै बनाउनु हुदैन थियो भनेका छन् । यो पनि कता कता नमिलेको लाग्न सक्छ । भिडियोमा पटक पटक अश्लिल शब्द प्रयोग भएका छन् । तर भिडियोलाइ चिनाउने क्रममा पहिला नै पीजी समिक्षा भनिएको छ । यसो भन्दैमा जे पनि बोल्न पाइन्छ भन्ने हैन । सम्पादन नगरिएको भिडियोमा त झन् ‘बिप’ साउण्ड समेत हालिएको छैन । तर भिडियोको अन्तिम सम्म आइपुग्दा गौतमले ‘कति कुरा मजाकमा भनिएका हुन्, भने कति सत्य हुन्’ भनेका छन् । यहिँ वाक्यले सम्पूर्ण गल्ति माफ त गर्दैन तर माफी भने अन द स्पर्ट मागेका छन् ।

फिल्ममा अनावस्यक चिच्याएको आवाज र दृष्य समय समयमा दोहोरिएको छ । फिल्ममा ड्रोनको अत्याधिक प्रयोग भएको कुरालाई नकार्न सकिन्न । त्यसै गरि बर्षा, नाजिर र बुद्धि तामांगले पात्रलाई न्याय दिने प्रयास गरेका छन् भने पलको एकपछी अर्को फिल्ममा अभिनयमा कुनै भिन्नता न आएको कुरा एक आम दर्शकले अनुभव गरेकै कुरा हो । फिल्म हेर्दा हुन्छ, फिल्मका लागि छुट्याएको समय दिक्दार नमानी बित्छ भनेका छन् उनले । फिल्मको कथा सोलेबाट प्रभावित भएको कुरालाई पनि केहि हद सम्म मान्न सकिने अवस्था छ ।  अब कुरा रह्यो भिडियोमा प्रयोग भएको हातहतियारको । एक आम दर्शकको हैसियतले बोल्ने हो भने फिल्म हेरेर बाहिर निस्कियो, क्यामेरा र बुम तेर्सिएका हुन्छन् । फिल्म राम्रो लागोस नालागोस् राम्रो छ भन्नै पर्यो । एक किसिमले बुम धारिला हतियार भन्दा कम रुपमा प्रयोग हुने गरेका छैनन् । साथै भिडियोमा प्रयोग भएको चक्कु कै कारण हिंसा फैलियो भन्ने चाम्स र उनका समर्थकको दावी हास्यास्पद लाग्छ । फिल्मको त कुरै छोडौ ट्रेलरमात्रै हेर्ने जो कोहिले पनि बुद्दी तामांगले भालाले आक्रमण गरेको त देखेकै छन् । यस्ता दृश्य फिल्ममा धेरै नै छन् । वहाहरुकै शब्द सापटी लिने हो भने पनि ‘के फिल्मले समेत हिंसा’ फैलाउने काम गरेको हो त ?  र जस्तो फिल्मलाई पनि राम्रो भन्ने प्रचलन फिल्मका स्पेसल शो, प्रेस शो र प्रिमियरमा उपस्थित फिल्म क्षेत्रका व्यक्तिहरुबाट नै सुरु भएको हो । मन राखिदिन ठिकै छ भन्ने चलनका कारण निर्माता निर्देशकमा अपेक्षा बढ्ने गर्छ । सोही अपेक्षाको फल स्वरूप फिल्मकर्मीको आफूमाथि कसैको नकारात्मक टिप्पणी पचाउन सक्ने क्षमतामा ह्रास आउदै गएको देखिएको छ  ।

अब कुरा गरौ वीरविक्रम टिमको तर्फबाट आएका विषयहरुको :
पहिलो कुरा भिडियो पोस्ट गर्ने युटुव च्यानल ‘मेमे नेपाल’ नभएर मिम नेपाल हो जुन पटक पटक फिल्मका निर्माता तथा निर्देशक तथा उनका समर्थकले गलत उच्चारण गरेका छन् । पहिलो पटक प्रहरी समक्ष जाहेरी दिएको अर्को दिन मात्र प्रेसमिट गरेको चाम्स आफैले बताएका छन् ।  र सोहि क्रम अभियुक्त गौतम पुर्पक्षका लागि थुनामा राखेको ६ दिन पछी सामाजिक संजाल र मिडियामा आलोचना हुन थाले संगै एकतर्फी बिचार आएको भन्दै उनले प्रेसमिट बोलाए ।

पहिलो पटक यस बिषयमा मिडियामा बोल्दै चाम्सले भनेका छन्, ‘संस्था तथा व्यक्ति दुवै रुपमा फिल्मलाई नराम्रो भनेको आधारमा जाहेरी हालेको हो’ । साथै विभिन्न मिडियामा बोल्दै उनले कडा भन्दा कडा सजाय दिने बताएका छन् । तर दोश्रो प्रेस मिट सम्म आइपुग्दा उनको विचार, भनाइ र अभिव्यक्ति बिल्कुल फरक भएको छ । उनले करिव ४५ मिनेटको समयमा ५ पटक भन्दा बढीमा प्रणेशलाइ छुटाउन चाहन्छु भनेका छन् । जवकी पहिलो प्रेसमिटमा धेरै पटक उनले ‘फरार अभियुक्त’ भनेका छन् । उनको यो लचकता केस फिर्ता लिने नाटक त होइन भन्ने समेत लाग्न थालेको छ ।

उनी आफुले हालेको जाहेरी ‘के का बिरुद्ध हो’ भन्ने बिषयमा नै स्पस्ट छैनन् । पत्रकारको पटक पटकको प्रश्नका वावजुद उनी उत्तर मोड्न आतुर देखिए । र अन्तत आफुलाई थाहा नभएको भनेर पन्छिए ।  सामान्य हिसावले नै सोच्दा समेत आफु कोहि व्यक्तिमाथि आरोप लगाउदै छु र आरोप के हो भनि थाह नपाउने भने चाही नहुनु पर्ने ।  उनको अस्पस्टता गाली बेइजती ऐन अन्तर्गत हाल्नु पर्ने जाहेरी विधुतीय कारोवार ऐन ‘साइवरक्राइम’ अन्तर्गत हालेको भएर ‘निल्नु न चपाउनु’ भएको जस्तो देखिन्छ ।

उनले लेखेर मेटेको स्ट्याटसको मूल आशय ‘कानुनी राज्यमा न्यायको खोजि’ को झटारो उनी आफै माथि पो आउने हो कि ? अदालतमा गएको मुद्धा फिर्ता लिएमा नेपाल सरकारको वकिलले अदालतको समय बर्वाद गरेको भन्दै उनी माथि नै पुनः जाहेरी दिन मिल्ने अवस्था नेपालको कानुनमा रहेको छ । त्यस अवस्थामा यस पटक पत्रकारलाई, संचारकर्मी नरेश भट्टराईको आडमा उत्तर नदिएर छलेको झैँ कानुनलाई छल्न सक्ने अवस्था रहदैन । नेपालको संविधानमा स्पस्ट रुपमा उल्लेख छ कि अनविज्ञताको आधारमा जोकोहीलाई पनि माफी दिइने छैन ।

समय संगै छेपारो झैँ उनले रंग बदलेका छन् । पहिले फिल्मको समिक्षा नराम्रो भनेको उनको गुनासो, दोस्रो प्रेसमिट सम्म आइपुग्दा गालि बेइजतीमा पुग्यो । सामाजिक संजालमा फिल्म निर्देशन छोड्छु भन्ने स्ट्याटस लेखेर मेटेजस्तै गरि उनको बोलीको टुंगो हुन छोडेको देखिन्छ ।

चाम्सले बोल्ने क्रममा ‘भिडियो हेर्दा मादक पदार्थ या गाजा खाएर बोलेको’ भनेका छन् । भिडियो हेरेकै आधारमा कोहिँ कसैलाई यस किसिमको आरोप लगाउनु कति जायज कति नाजायज ? अझ त्यो पनि मिडियाको माझमा । आज मात्रै उनले आफ्नै फिल्मकी कलाकार जो पिडित हुन्, को नाम नै गलत उचाहरण गरे । सरिता राजभण्डारी भन्नु पर्ने ठाउमा उनले सरिता राज आचार्य भनिदिए ।  जसको न्यायको लागि लड्दै छु भन्दै छन् उनी, कोहिँ कसैको परिचय नै गलत दिने अधिकार उनलाई कसले दिन्छ होला ? मिम नेपाल कै अर्को अन्तर्वार्ता टेडो टकका विषयमा उनले नाजिर हुसेनमाथि विभेद गरेको भनेका छन् । तर सोही क्रममा उनले नाजिरलाई ‘तँ’ सम्बोधन गरेका छन् ।

चाम्स कै कुरालाई नियाल्दा उनले मूल मुद्धालाइ मोडेर भावनात्मक बनाउने भरपुर प्रयास गरेका छन् । प्रणेशलाइ मैले भेटिरहेको छु जति मिम नेपालका टिमले भेटेका छैनन्, मैले खान बोकेर गएको थिए, उनका बाबु आमालाइ भेटेर सान्तवना दिने गरेको छु,  हिम्मत दिएर आएको छु,  छुटाउने भरपुर प्रयास गरिरहेको छु लगायतका उनका सम्बादमा कुनै अर्थ भेटाउन सकिन्न, बाहेक मूल बिषय मोड्ने प्रयास ।

उनले सामान्य जीवनमा फर्केपछी फिल्ममा खेलाउछु भनेर चारो हाल्ने प्रयास समेत गरेका छन् । यसरी सबैको माझ प्रलोभन बाड्ने उनले बिकाउ मिडियालाई चारो चटाएर आफ्नो पक्षमा पार्दा पार्दै फिल्मको गलत रिभ्यु आएको कारण दुस्मनी मोल्ने दुस्प्रयास नगरेका होलान् भन्न सकिन्न ।

सोमबार छुटाउन भनेर गएका मिलन चाम्स र भरौटेलाई मिम नेपालका कोहि व्यक्तिको शब्दका कारण ‘अग्रज पत्रकार, कलाकारलाई चित्त नबुझेकोले’ मुद्धा फिर्ता नलिएको उनले कार्यक्रममा बोल्दै बताएका छन् । ‘अग्रज’ फिल्डमा बिताएको वर्षले जज गर्ने हो या कामको हिसावले ? मुख्य समस्या संस्थासंग हो या त गौतमसंग ? चाम्स स्पस्ट हुन जरुरि छ ।  संस्थासंगको समस्या हि भने संस्थाका पधाधिकारी धरौटीमा छुटेको बिसयमा किन बोल्दैनन् उनी । साथै संस्थालाई लिएर गौतमलाइ थुनामा नै छोड्नु कति सही हो ? ‘ठुलो कुरा’ गरेको कारण उजुरी फिर्ता नलिएको उनको दावी छ । उनले दोहोर्याएका छन् अर्काको छोरालाइ थुन्ने, दुख दिने आफ्नो नियत नरहेको । अझ एक पटक त ‘टर्चर गर्ने नियत थिएन’ भनेका छन् । के उनले मेरो बिरुद्ध केहि बोल्नेलाइ छोड्दिनभनेका हुन्? फेरी दुख नदिने नियत भए जाहेरी फिर्ता लिए भै गयो नी ।

गालीगलौज मानहानी लगायतको बिषय उठाउदै आएका चाम्सको अभिव्यक्ति ‘छोरा मान्छे भएपछी हिम्मत हार्नु हुदैन’ लाई लिएर महिलावादी उनी माथि खनिए भने ? फेरी यसरी लिङ्गको आधारमा गरिने विभेद त कानुनी रुपमा पनि मान्य छैन ।

‘प्रणेशलाई ‘लेसन’ सिकाउन खोजेको…’ जबसम्म अदालतले फैसला गरि अपराधि भन्दैन तव सम्म चाम्सलाई जो कोहिको बिषयमा यस्तो उस्तो भन्ने अधिकार कसले दियो ?

सम्पूर्ण व्यक्तिको आआफ्नै मर्यादा हुने गर्छ । कोहि कसैसंगको निकटताको आधारमा पदीय मर्यादा भुलेर अन्य शब्द प्रयोग गरी सम्बोधन गर्न नैतिकताले नदिनु पर्ने हो । तर कार्यक्रम अवधिमा धेरै वक्ताले पत्रकार भाइ बहिनी भनेको सुनियो ।  जहासम्म लाग्छ त्यहाँ उपस्थित मिडियाकर्मी सम्बन्ध स्थापित तथा विस्तार गर्न नभएर समाचार संकलन गर्नका लागि गएका थिए ।

मिम नेपालमा पोस्ट भएको भिडियोका गौतमलाई विधुतीय कारोवार ऐन अन्तर्गत पुर्पक्षका लागि थुनामा राखेको भनेर महानगरीय अपराध महाशाखाको पेजमा पोस्ट गरिएको छ । भर्खरै मात्रै पक्राउ परेका छोरीको बलात्कार गर्ने सरकारी उच्च पदस्थ कर्मचारीको नाम समेत ‘पीडित’ लाइ असर गर्छ भन्ने बहाना बनाइ सार्वजनिक नगर्ने नेपाल प्रहरीले अपराध पुष्टी नहुदै सामाजिक संजालमा तस्विर सहित गौतमलाई सार्वजनिक गरेको छ ।  यसबाट पर्ने असरको जिम्मेवारी कसले लिन्छ ?

थोरै सम्यमता अपनाउन नसक्दा छक्का पन्जाको केसमा एक व्यक्तिले आत्महत्या नै गरे । सोहि घटना दोहोरियो भने यसको जिम्मेवार को ? मिलन चाम्स, वीर विक्रम टिम, प्रहरी प्रसासन वा अरु कोही ?
प्रेसमिट भिडियो: