कलाकारको पारिश्रमिक बढ्यो, अभिनय बढेन

नेपाली फिल्मका दर्शक अहिले कलाकारको अभिनय हेर्न ब्याकुल छन् । दर्शकलाइ रिझाउने अभिनय गर्न नेपालमा थोरै कलाकार छन् । अरु, कलाकारको अभिनय हेरेर दर्शक दिक्क मान्छन् ।

अहिले त झन् सबैभन्दा महंगो रकम लिएका कलाकारको अभिनय आलोचित बढी छ । अभिनेता अनमोल केसीको अभिनयबाट अहिले पनि दर्शक सन्तुष्ट छैनन् । उनको अभिनय पारिश्रमिक लिए अनुसारको देखिदैन । अनमोलले फिल्मका लागि मिहिनेत गरेका छन् भन्ने भन्दा पारिश्रमिक ५० लाख मागे भन्ने बढी सुनिएको छ । यसले दर्शकलाई प्रभावित गर्दैन ।

अभिनेता प्रदिप खड्काले खेलेका सबै सिनेमामा उनको गेटअप उस्तै छ । उनी लभरब्वाई बनेर हिउमा नाच्न र हिरोइनसँग रोमान्स गर्न नै फोकसमा छन् । यसले उनले ४० लाख पारिश्रमिक त मागे, तर आफूमा के परिवर्तन ल्याए भन्ने नै सुनिदैन ।

दर्शकले फिल्मका लागि कलाकारको भूमिका खोज्छन् । उसले गरेको नयाँपन खोज्छन् । तर, नेपाली फिल्मका महंगो भनिएका कलाकार पारिश्रमिक मात्र बढाएर आफूलाई स्टार भनिरहेका छन् । अभिनय त जिरो ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मका लागि १६ लाखसम्म माग्न थालेकी छिन् । तर, साम्राज्ञीले ड्रिम्सदेखि इन्टु मिन्टुमा एउटै अभिनय गरिन् । उनको अभिनय हेरेर दर्शक दिक्क छन् ।

भर्खरै फिल्ममा आएकी अभिनेत्री जसिता गुरुङले पनि १० लाख मागिसकिन् । तर, जसिताको अभिनय पनि अहिलेसम्म प्रेमिका भन्दा बाहिर गएको छैन ।

नेपाली कलाकारले किन पारिश्रमिकलाई यति धेरै महत्व दिएका छन् । आफूलाई फिल्ममा ढाल्नका लागि उनीहरुले गरेको मिहेनत खै त ? सधै एउटै प्रकारको अभिनय गर्ने अनी पारिश्रमिक चै दिनको दुई गुणा रातको चार गुणा बढाइदिने ?

कलाकारले  लिने महंगो पारिश्रमिकमध्ये सोही फिल्मका लागि गरेको परिश्रम दर्शक हेर्न चाहन्छन् । त्यो परिश्रम फिल्ममा देखियोस् भन्ने दर्शक चाहन्छन् । तर, त्यो कही कतै देखिएको छैन । पैसा मागिदियो, दिनेले दिन्छन् नदिनेले लिन सक्दैनन् । कलाकारले फिल्मको व्यापार पनि हेरेका होलान् ? फिल्मको व्यापार नेपालमा कती धराशायी बनिरहेको छ ? बजारमा कलाकारको महत्व सस्तिदै जादा उनीहरुको पारिश्रमिक भने महंगिदै गएको छ ।

यसले न त फिल्मका कलाकारको लामो जाने बाटोलाई तय गर्छ न त फिल्म क्षेत्रलाई ।