पोखरा ‘ओपन फिल्म स्टुडियो’
नेपाली फिल्मले ५५ वर्ष लामो यात्रा तय गरेपछि बल्ल आएर नेपाल सरकारले बक्सअफिसको प्रारम्भिक यात्रा थालेको छ । हाललाई काठमाडौं उपत्यकाका हलमा मात्र ट्रायल पिरियडमा रहेको बक्सअफिस लागू गर्न अझ थुप्रै झमेला बेहोर्नु पर्नेछ । बक्सअफिस त केवल फिल्म व्यापारको पारदर्शीता सूचक मात्र हो । यो लागू हुदैमा फिल्म उद्योगको विकास भईहाल्ने हैन । विकासको खुड्किलो भने हो ।
नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने हो भने अत्याधुनिक फिल्म स्टुडियो र फिल्म सिटी बन्न जरुरी छ । तर नेपालमा भएको नेपाल फिल्म डेभेलोपमेन्ट कर्पोरेसनको एउटै स्टुडियो पनि जीर्ण अवस्थामा पुगिसकेको छ । नीजि क्षेत्रबाट निर्माण भएका स्टुडियो नाम मात्रका छन् । यस्तोमा सरकार नै फिल्म सिटी बनाउने भनेर लागेको पनि एक दशक हुन लागिसक्यो तर कहाँ र कस्तो डिजाइनको सिटी बन्नेछ भन्ने अझै निक्र्यौल हुन सकेको छैन ।
सन्चार मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डले सुरुवातमा पोखरामा फिल्म सिटी बनाउने घोषणा गरेपनि त्यसलाई लत्याएर दोलखामा बनाउने भन्दै जग्गा अधिग्रहणको काम पनि थाल्यो । तर यतिबेला प्रम केपी शर्मा ओलीले फेरि फिल्म सिटी गण्डकी प्रदेशमा बनाउने भन्दै महिनादिन अघि एक भारतीय टोलीलाई त्यसको संभाव्यता अध्ययनका लागि बोलायो पनि । टोलीले पनि सकारात्मक सुझाव दिएपछि दोलखाको फिल्म सिटी के हुने भन्ने डर पैदा भएको छ । जबकी दोलखामा फिल्म सिटीका लागि सरकार स्वयंले केही बजेट बिनियोजन समेत गरिसकेको छ ।
अल्ट्रा फ्लाइटबाट देखिएको पोखरा
जहाँ गतिला फिल्म स्टुडियो र फिल्म सिटी छन्, त्यहाँको फिल्म क्षेत्र फस्टाएको देखिन्छ । हलिउड यसैको एक उदाहरण हो भने संसारको सबैभन्दा ठूलो फिल्म सिटी भारतमै छ । २२ वर्षअघि तेलुगु फिल्म निर्माता रामोजी रावको एकल प्रयासमा हैदारावादमा खुलेको रामोजी फिल्म सिटी १६६६ एकड क्षेत्रफलमा फैलिएको छ । वर्षेनी १५ लाख पर्यटक नै आउने उक्त फिल्म सिटीमा थुप्रै फिल्म सेट, थिम पार्कहरु, दुई होटल, साउन्ड स्टेज, रेलवे स्टेशन, मन्दिरलगायत छन् ।
सर्वोच्च शिखर सगरमाथादेखि तराईभुमिसम्म क्षेत्रफलमा फैलिएको नेपाल आफैंमा प्राकृतिक फिल्म सिटी पनि हो । यहाँको हावापानीको विविधता, भौगोलिक बुनोट, विभिन्न भाषा, संस्कृती र जातजातिको वसोवासले नेपाल साँच्चिकै मनोरम छ । अझ त्यसमा पनि पोखरा सिनेमाटिक भ्यु फाइन्डरबाट हेर्दा पर्फेक्ट छ । पर्यटकीय नगरी भनेर चिनिने पोखरामा पछिल्लो समय फिल्म सुटिङ हुने क्रम बाक्लिएको छ । मनाङ, मुस्ताङ प्रवेश द्वारसमेत रहेको पोखरा मनोरम दृश्य, हिमाली श्रृखंला, तालतलैया, मन्दिर, परम्परागत गाउँ, स्तरीय होटल, गुफा, संग्राहलय, प्याराग्लाइडिंग र यातायातको सुगमताले गर्दा पनि फिल्म सिटीको एउटा प्याकेज हो ।
केन्द्रिय सरकारले फिल्म सिटीका लागि पोखरामा लगानी गर्ने हो भने तुलनात्मक रुपमा सानो बजेटमा ठूलो लाभ लिन सक्ने देखिन्छ । कतिपय फिल्म युनिटले पोखरा र यसका आसपासमा सुटिङ गर्न चाहेपनि सबै उपकरणहरु काठमाडौंबाटै बोकेर पुग्नुपर्ने भएकोले झन्झट मान्ने गरेका छन् । यदि पोखरालाई प्राकृतिक हिसाबले मात्रै भएपनि फिल्म सिटीको अवधारणामा विकास गरी फिल्म स्टुडियो मात्रै बनाउने हो भने पनि काठमाडौंको आधा भार कम हुने निश्चित छ । केन्द्रिय सरकारको मात्रै मुख नताकी प्रदेश सरकारले पनि फिल्म सिटी वा स्टुडियोका लागि पोखरा छनौट गर्न सक्छ ।
सात तालको बगैंचा शहर भनिने लेखनाथलाई समेटेर पोखरा महानगरपालिका घोषणा गरिसकेको अवस्थामा फिल्म सिटी निर्माण अवसर पनि हो । जसरी अमेरिकी फिल्म उद्योग हलिउडका नामले विश्वभर चिनिन्छ, पोखरालाई फिल्म सिटीको अवधारणामा विकास गरि फिल्मको प्री प्रोडक्सनदेखि पोष्ट प्रोडक्सनसम्म आवश्यक पर्ने सम्पूर्ण काम हुन सक्यो भने काठमाडौंको समानान्तर फिल्म क्षेत्र बन्न सक्छ । फिल्म सिटी बन्न सकेमा स्वदेशी फिल्म क्षेत्रलाई फाइदा त हुन्छ नै, विदेशी फिल्मका लागि पनि सुटिङका लागि सहज गन्तव्य बन्न सक्छ । यसो हुन सकेमा पोखरा फिल्म पर्यटनका लागि समेत चिनिन सक्ने प्रचुर संभावना छ ।
फिल्म सिटी बन्न सक्ने आधार यी तस्बिरले केही हद सम्म प्रस्तुत गर्नेछन् :
फेवा ताल स्थित बाराही घाट
फिस्टेल रिसोर्ट
पामेबाट देखिएको फेवा ताल
सुर्योदयपुर्व शान्ती स्तुपा
अन्नपुर्ण हिम शृंखला र फेवा ताल
अन्नपुर्ण हिम शृंखला र फेवा ताल
सुर्योदयसँगै शान्ती स्तुपा
रुपा ताल र बेगनास ताल
रुपा ताल र बेगनास ताल
रुपाकोटबाट देखिएको हिम शृंखला
रुपाकोट स्थित एक होटलबाट देखिएको हिम शृंखला
रुपाकोटबाट देखिएको हिम शृंखला
अल्ट्रा फ्लाइटबाट र हिम शृंखला
अल्ट्रा फ्लाइटबाट र हिम शृंखला
अल्ट्रा फ्लाइट, प्याराग्लाइडिङ् र हिम शृंखला
शान्ती स्तुपा
प्रतिक्रिया