तीजको महत्व, मेकअप र पहिरन
यो वर्ष पनि तिजको रौंनक बढ्न थालिसकेको छ । तीज नेपाली महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने विशेष सांस्कृतिक पर्व हो । पहिले सीमित समुदाय वा जातजातिले मात्र मनाउने यो चाड अहिले अन्य विभिन्न समुदायले पनि मनाउन थालेका छन् । पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुआत भएको मान्यता छ ।
तीजमा विवाहिता महिलाहरूले आफ्ना श्रीमान् तथा परिवारको सुख–समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहिताले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्ने परम्परा छ । समग्रमा तीज नेपाली महिलाहरूको एउटा उल्लासमय सांस्कृतिक पर्व हो, जसलाई चार दिनसम्म विभिन्न धार्मिक-सांस्कृतिक क्रियाकलापका साथ मनाइन्छ । आधुनिक समाजमा तीज फेसन पर्वका रूपमा विकास हुँदै गएकोे छ ।
भाद्र शुक्ल द्वितीयाका दिन विशेष गरी घरका छोरीचेलीहरूका साथ सबै सदस्यहरू भेला भई मीठामीठा परिकारहरू बनाएर खाने प्रचलन रहेको छ । तृतीयाका दिन विहान स्नान गरी मठ मन्दिरमा गएर महादेवको पूजा आराधना गर्ने र दिनभर व्रत बस्ने, दिदीबहिनी, साथीसँगी भेटघाट गरी नाचगान गर्ने परम्परा रहेको छ । भोलिपल्ट चौथीका दिन स्नान गरी भगवान गणेशलाई दूबो चढाई पूजा आराधना गरी व्रत पारायण गरेपछि खाना खाने गरिन्छ ।
चौथो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ, धारा वा कुवामा गई विधिविधान पूर्वक स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ । त्यसै दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाने चलन छ । पञ्चमीको पूजाको छुट्टै परम्परागत महिमा रहेको छ ।
यो पूजा गर्नाले विशेष गरी महिलाहरूले रजस्वला भएका बेला छुवाछुत भएको दोष मेटिने र पापबाट मुक्त भइने पौराणिक विश्वास रहिआएको छ ।
तीजको सामाजिक महत्व
पहिला पहिला तीजमा विवाह गरी टाढा–टाढा गएका दिदी–बहिनीहरूलाई दाजुभाइ वा माइती तर्फका परिवारका सदस्यहरू गएर सम्मानपूर्वक ल्याउने प्रचलन थियो । अहिले भने यातायात र सञ्चारको सुविधाले यस कार्यलाई सहज तुल्याइ दिएको छ । चेलीबेटीहरू माइत आउने, आमाबाबा दिदीबहिनी, दाजुभाइहरूसँग बसी दर खाने तथा साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख–दुःख गीत–संगीतका माध्यमबाट साटासाट गर्ने प्रचलन रही आएको छ । अर्थात् यो एउटा चाड मात्र नभएर परिवारका सबै सदस्यहरू तथा साथीसँगीहरूसँग भेटघाट हुने, चेलीबेटीहरूले माइत आउन पाउने र सुख दुखका कुराहरू साटासाट गर्ने सुखद् अवसरका रूपमा समेत रहेको छ ।
यस चाडले टोल छिमेकका नारीहरूमा समेत एकता, सद्भाव र आपसी सौहाद्र्रताको विकास गराएको पाइन्छ । यसर्थ यस चाडलाई नारी एकताको उत्सवका रूपमा समेत लिन सकिन्छ ।
तीजको पहिरन र शृंगार
तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ । तीजको आगमनसँगै बजारमा नयाँ नयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइूचो लाग्ने गरेको छ । सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ ।
सिन्दुर
सिन्दुर विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो । प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दुरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दुरको टीका लगाउने चलन रहिआएको छ । हाम्रोे संस्कृतिमा रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान्प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।
सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ । श्रीमान्को दीर्घायूका साथै सौन्दर्य प्रवद्र्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ ।
टीका
सौभाग्यको प्रतीक टीकाले नारीसौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौँका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ । प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो । यसलाई शक्तिको प्रतीक पनि मानिन्छ । सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ । यसले श्रीमान्लाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ । यसलाई बिन्दी पनि भनिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रंगमा प्रयोग गरिन्थो । यो रंगलाई विवाहित महिलाको प्रतीकका रुपमा लिइन्छ ।
टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रंग कालो हुन्छ । कालोले नराम्रो दृष्टिबाट बचाउनुका साथै प्रगति पथमा डो¥याउने विश्वास गरिन्छ । अहिले टीका लगाउनु आधुनिक समाजको फेसनका रूपमा विकास हुँदै गएकोे छ । आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन् । यसले अहिलेको आधुनिक समाजमा पनि टीकाको महत्व दर्शाउँछ । टीकाले महिलाको सौन्दर्यमा निखार ल्याउँछ ।
पोते
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ । अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।
रातो, पहेँलो, हरियो तथा गुलाबी रंगमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं क्रिस्टलका पोते भित्रिएका छन् । अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ ।
छड्के तिलहरी
समयको गतिसँगै हरेक कुरामा परिवर्तन हुँदैछ । पुराना पहिरन अहिले परिवर्तन भएका छन् । पुराना डिजाइनका सामग्री अहिले सोकेसमा सजाइएका छन् । दैनिकजसो फेरिने डिजाइनले मानिस प्रभावित हुन्छन् । गहनापे्रमीहरू पनि यो कुराबाट अछुतो छैनन् । उनीहरू लेटेस्ट डिजाइनका गहना छाडेर पुराना डिजाइनका गहना रुचाउँदैनन् । यस्तो अवस्थामा पनि छड्के तिलहरीले आफूलाई सुरक्षित राखेको छ । आस्थाका हिसाबले तीज नजिकिदै जाँदा हरेक महिलाको मन छड्के तिलहरीमा पुगेर अडिन्छ ।
छड्के तिलहरीे पुरानै डिजाइनमा आधारित छ । यसले नेपाली परम्परा र सभ्यताको परिचय दिन्छ । तिलहरीलाई विवाहित महिलाको सौभाग्यको प्रतीक मानिन्छ । पुरुषहरूले जनै लगाएजस्तै महिलाहरूले यसलाई बायाँ साइडबाट दायाँ छड्के गरी लगाउँछन् । यो तिलहरी नेपाली महिलाको परिचायक हो । यस्तो तिलहरी धेरैजसो हरियो र रातो रंगको पोतेमा उनिन्छ ।
प्रायः महिलाले हरियो मन पराउँछन् । हरियो रंगमा उनिएको पोते लगाउँदा सुख–शान्ति एवं समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । यस्तो तिलहरी बनाउन कम्तीमा पौने एक तोला सुन चाहिन्छ । आफ्नो इच्छा तथा बजेटअनुसार यसलाई ठूलो बनाउन सकिन्छ । यसमा कम्तीमा ७२ लुङ पोते चाहिन्छ । पोते राख्दा छड्के तिलहरीको ग्याप हेरेर राखिन्छ । ठूलो छ भने त्यसमा ९० र १ सय ५ लुङ पोते राखिन्छ । यसैगरी अहिले छड्के तिलहरीमा रंगी–बिरंगी पोते उन्ने चलन पनि बढ्दो क्रममा छ । छड्के तिलहरी लिँदा यसमा भएको काँडा हेरिन्छ । छड्के तिलहरीमा भएको काँडा जति राम्रो हुन्छ त्यसैअनुरुप तिलहरीको मूल्यांकन हुन्छ । सबै छड्के तिलहरीमा ३ वटा काँडा हुन्छन् भने गोलो आकारमा ४ वटा फूलका चित्र कूदिएको हुन्छ । यही गोलो आकारमा कूदिएको डिजाइन तथा चुच्चो भएको काँडाले नै छड्के तिलहरीलाई अरु तिलहरीभन्दा पृथक देखाउँछ ।
सुनको मूल्य आकासिँदै जाँदा अहिले सुनका जलप लगाइएका गहनाले धेरैको ध्यान खिचेको छ । अहिले बजारमा सुनजस्तै देखिने नक्कली सुनका गहनाका विभिन्न डिजाइन भित्रिएका छन् । त्यसमा नेपाली छड्के तिलहरी पनि पर्छ । तामा तथा पित्तलमा सुनको जलप लगाइएका यस्ता गहना वारेन्टीसहित आउँछन् ।
चुरा
चुरालाई नेपाली नारीको मौलिक पहिचान र शुभमंगलका साथै नारी सौन्दर्य प्रवद्र्धनको सुन्दर प्रतीक मानिन्छ । अझ तीजले त चुराको महत्वलाई विशिष्ट पारेको पाइन्छ । तीजले विशेषतः रातो चुरा, सिउँदोभरि सिन्दूर, रातो साडी, धागोले बाँधेको केश र चुराको सम्झना गराउँछ । महिना दिनअघिदेखि दर खाने र एक–अर्कामा उपहारका साथै सुख–दुःख साटासाट गर्ने तीज एउटा रमाइलो उत्सव पनि हो । तीजका बेला दर खान जाने ठाउँमा र दर खान बोलाउँदा एक–अर्कालाई उपहार दिने चलन बढ्दो छ । यसका लागि पोते, टीका र चुरा जस्ता सौभाग्यका सामग्री सबैको रोजाइमा पर्ने गरेका छन् ।
उपहारमा अरु कुरा छुटे पनि तीजका बेला चुरा सबैको रोजाइमा पर्छ । नेपाली बजारमा भएका चुरा भारत, पाकिस्तान, बंगलादेश आदि ठाउँबाट भित्रिन्छन् । पहिले बढी मात्रामा काँचको चुरा किन्ने चलन थियो तर अहिले बढ्दो आधुनिकीकरणसँगै लाख, मेटल, रबर, सीप, प्लास्टिक, टेराकोटा, माटो आदिका चुरा बजारमा उपलब्ध छन् । पहिले रेसमका सादा चुरा सबैको रोजाइमा पर्थे तर अहिले वर्क गरिएका चुरा रुचिमा पर्छन् । अहिले फेसनेबल चुराको माग पनि बढ्दो छ । हरियो र रातो रंगमा उपलब्ध बेस मेटलका चुरा हेर्दा निकै आकर्षक देखिन्छन् । बजारमा मोती भरिएका चुरा पनि किन्न सकिन्छ ।
धागो
तीजको रमझमसँगै धागोको महत्व पनि बढ्छ । अरु बेला बिरलै देख्न पाइने धागोले तीजका दिन भने प्रायः महिलाको केशको शोभा बढाएको हुन्छ । लामो अथवा छोटो जस्तोसुकै केशमा प्रयोग हुने धागोले पूणरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ । केशको शोभा बनेको धागो लगाएर नाच्दा पूण नेपालीपन झल्कन्छ ।
रातो साडी, रातो चुरा, रातो टीका र सिउँदोभरि लगाइएको सिन्दूरका साथमा धागो पनि महत्वपूण आभूण बनेको हुन्छ । केशअनुसार ठूलो, सानो र मध्यम आकारमा पाइने धागोमा पोते, सलमा, मोती, सितारा जडिएको हुन्छ । नेपालमै बनाइने यो धागो प्रायः कालो र रातो रंगमा पाइन्छ ।
कस्तो मेकअप उपयुक्त
नेपाली चाडवाड धेरै ठूलो महत्व बोकेको छ । तीज गर्मी महिनामा पर्ने हुनाले हाम्रोे शरीर तथा अनुहारको छालाबाट पसिना आउँछ । त्यसैले यो चाडमा मेकअप गर्दा, कपडा लगाउँदा वा केशको शृंगार गर्दा आफूलाई सुहाउने तर मौसमअनुकूल हल्का हुनुपर्छ । टिनएजरहरूले मेकअप गर्दा सिम्पल तर रेक्ट्रो लुक दिने किसिमको गरे राम्रो देखिन्छ, किनभने यो उमेरमा अनुहारको छाला नरम र आकर्षक हुन्छ ।
टिनएजरहरूले यो चाडका लागि मेकअप गर्दा सर्वप्रथम छालालाई सुहाउँदो फेसवासले राम्रोेसँग अनुहार धोएर टोनरलाई कटनमा राखी अनुहार, घाँटी तथा कान पुछ्नुपर्छ । त्यसपछि आफ्नो छाला सुहाउँदो थोरै फाउन्डेसनमा लोसन वा क्रिम मिसाएर अनुहार, घाँटी र कान सबैमा लगाई त्यसमाथि लुज पाउडर लगाउँदा अनुहारमा कम पसिना आउँछ जसले गर्दा मेकअप लामो समय टिक्छ । त्यसपछि आइ मेकअप सुरु गर्नु उपयुक्त हुन्छ ।
यो चाडमा प्राय रातो र हरियो पहिरन लगाइने भएकाले आइस्याडो पनि आधा रातो र आधा हरियो नै लगाउनु राम्रो हुन्छ । त्यसपछि आइब्रोमुनिको भागमा गोल्डेन कलरको आइस्याडोले हाइलाइट गरे मेकअप अझ राम्रोे देखिन्छ । रेक्ट्रो लुक्सका लागि टिनएजरहरूले आँखाको साइडमा मोटो कोष तानेर आइलाइनर लगाउने र आँखाको तलपट्टि मोटो गरी लगाउँदा आँखा ठूलो र आकर्षक देखिन्छ । त्यसपछि आँखाको कुनामा रेड वा ग्रीन कलरको आइस्याडो लगाउँदा गाजल बग्न पाउँदैन । त्यसपछि रेड लिपिस्टिक वा रेड लिपग्लस लगाउने र अनुहारमा गोल्डेन ग्लो आउने ब्लसर थोरै लगाउँदा अझ राम्रो हुन्छ ।
केशलाई रेक्ट्रो लुक्समा डिजाइन गर्ने टिनएजरहरूले सर्वप्रथम केशको अगाडिको भागमा बफ उठाउने, निधार ठूलो भए कानको अगाडिको भागको केशलाई साइड सिउँदो बनाएर मात्र बफ उठाउने र कानको पछाडिको भागमा ठूला–ठूला रवरले डिजाइन दिएर बाँकी केशलाई रातो लाछा लगाएर बाट्दा मोडर्न लुक्स दिन सकिन्छ । यसरी मेकअप पूरा भैसकेपछि रातो वा हरियो रंग मिक्स भएका फिटिङ पहिरन (साडी, लेहृंगा, चुडीदार कुर्ता, पटियाला कुर्ता अथवा वान पिसमा पनि अलि लामो लुगा) लगाउँदा राम्रोे देखिन्छ ।
यस्तै विवाहित महिला दिदी–बहिनीहरूले तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु राम्रोे हुन्छ । तीजमा बढी नाचगान गरिने भएकाले पसिना पनि बढी आउँछ जसले गर्दा मेकअप पखालिने डर हुन्छ । यस किसिमको मेकअप गर्न सर्वप्रथम आफ्नो छाला सुहाउँदो क्रिम, प्राइमर अनुहार घाँटी र कानमा राम्रोेसँग लगाउँदा यसले मेकअपलाई लामो समयसम्म टिकाएर राख्छ । त्यसपछि स्किन कलरको पेनस्टिक वा कन्सिलर दाग भएको ठाउँमा लगाएर हलुका हातले मिलाई अनि त्यसपछि छालाअनुसारको फाउन्डेसन छानेर त्यसमा क्रिम मिसाई पूरै अनुहार, घाँटी र कानमा लगाउनु राम्रो हुन्छ ।
त्यसमाथि लुज पाउडर लगाउने अनि कपडाको रंगअनुसारको आइस्याडोलाई आइबलमा मिलाएर लगाउनु पर्छ । त्यसपछि धेरै कोष नतानी हल्का मोटो गाजल लगाई गाला, निधार चिउँडो र घाँटीमा आफू सुहाउँदो रोज अनि अन्त्यमा रातो कलरको वाटरप्रुफ लिपिस्टिक लगाउनाले सौन्दर्यमा निखार ल्याउँछ । यदि ओठ सानो छ भने आउट लाइन तानेर वा ओठ ठूलो छ भने इन लाइन तानेर लगाउनु राम्रो हुन्छ ।
साइनिङका लागि लिपिस्टिक माथि वाटर कलरको लिपग्लस लगाउने, केशको डिजाइन गर्दा अगाडि थोरै बफ उठाएर साइड सिउँदो बनाउने र लाछा लगाएर बाट्ने, केशको साइडमा चन्द्रमा, नत्थी वा रातो फूल लगाउने गर्नु राम्रो हुन्छ । साडी धेरै कढाइ वा बुट्टा नभएको र आफूलाई हल्का महसुस हुने खालको हुनुपर्छ । छड्के तिलहरी छैन भने रातो, हरियो वा पहेंलो पोते पनि लगाउन सकिन्छ । त्यसपछि कम हिल भएको रातो चप्पल राम्रोे हुन्छ । हिल सानो भए नाचगान तथा हिँडडुल गर्न सहज हुन्छ ।
सुष्मा महरा – प्रबन्ध निर्देशक, फेसियल हाउस
प्रतिक्रिया