मण्डलामा पशुपतिको  ‘उम्लिँदो खरानी र लेम्लेम्मा’

मण्डला थिएटरले घोषणा गरेका ७ मध्ये पाँचौँ नयाँ नाटकको घोषणा भएको छ । ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ नाम राखिएको यो नाटकको मञ्चन शुक्रवारदेखि हुने जनाइएको छ ।

पशुपति राईले निर्देशन गर्ने नाटकलाई विजय बरालले निर्माण गर्न लागेका हुन् । लोककथाबाट प्रभावित भएर मिल्सन राईले लेखेको नाटकले माझ किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई पेस गर्छ ।

मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश गर्‍यो र यसले व्यवहारगत रूपमा कसरी आफ्नो विचार हाबी गरायो भन्ने कथा सार प्रस्तुत गर्ने मण्डलाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नाटकमा ठिल्ने ल्हमो, प्रयास बान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय हुनेछ । यसलाई रोशनी स्याङ्बोले सह-निर्देशन गर्नेछिन् । नाटक चैत ३ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिवार दिउँसो १ बजे मण्डला नाटक घर थापा गाउँमा नियमित मञ्चन हुने जनाइएको छ ।