छोरीका लागि राजवल्लभले सार्वजनिक गरे ‘औरा’ कविता संग्रह


नायक राजवल्लभ कोइरालाले कविता संग्रह ‘औरा’ सार्वजनिक गरेका छन् । उनले छोरी औराको लागि यो कविता संग्रह सार्वजनिक गरेको बताएका छन् । 

शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गर्दै नायक कोइरालाले यो कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए ।

‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ कोइरालाले विमोचन समारोहमा भने ।

उनले आफैँले लेखेका कविता सामाजिक सञ्जालमा अरुले राखेर लाइक गरिरहनु परेको अवस्था चिर्नका लागि पनि संग्रह निकालेको बताए ।  

पुस्तकको कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले विमोचन गरेका थिए । 

‘यो कवितामा १ सय ११ वटा कविता छन् । यी कवितालाई कम्तिमा यति दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन्,’ उनले ठट्टा गर्दै अगाडि थपे, ‘ यो दुनियाँमा कवि नै यस्तो प्राणी होला जसलाई देश, समाज, मान्छे सबको चिन्ता छ ।

उनका कवितामा चिन्तासँगै शिल्प र दर्शनको बेजोग संगम भेट्न सकिन्छ ।’
उपस्थित अतिथीहरुले राजवल्लभ अभिनयमा मात्र नभएर साहित्यमा पनि अब्बल रहेको बताएका थिए । 

शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैँयाँ रहेको छ ।