दिव्यालाई डेब्यूमै सकस
नायिका दिव्या रायमाझीले अभिनय गरेको पहिलो फिल्म ‘एक्टरः टेक १’को रिलिज फेरि पनि हुन सकेन । जिल्ला अदालत, काठमाडौंमा फिल्म विरुद्ध मुद्दा परेपछि माघ १६ को रिलिज स्थगित भयो । अब, यो फिल्म कहिलेबाट दर्शकमाझ आउँछ थाहा छैन । निर्माणपक्षले यो मुद्दा सुल्झिएपछि फिल्म रिलिज गर्ने तयारी गरेको छ ।
यो फिल्मबाट नायिका दिव्या रायमाझीले डेब्यु गर्दैछिन् । तर, फिल्म रिलिजमा सकस हुँदा दिव्याको डेब्यूमा पनि सकस भइरहेको छ ।
यो फिल्म कात्तिकको १५ गतेबाट रिलिजमा आएको भए दिव्याको काम आम दर्शकले हेरिसक्थे । उनको करिअरले नयाँ फड्को मारिसक्थ्यो । तर, फिल्म पोस्टपोन्ड भयो । दिव्याले फिल्म ‘पिताम्बर’मा पनि काम गरिसकेकी छिन् । उनले नयाँ फिल्म ‘माया प्रिती’मा पनि काम गर्न लागेको खबर सार्वजनिक भएको थियो ।
तर, डेब्यू फिल्म नै रिलिज नहुँदा दिव्यालाई समस्या परिरहेको छ । फिल्मको प्रिमियरमा दिव्या निकै भावुक देखिएकी थिइन् । उनले, आफ्नो डेब्यू फिल्म भएकाले आफ्ना लागि विशेष भएको बताएकी थिइन् ।
तर, हलमा दर्शकले फिल्म हेर्न नपाएपछि दिव्यालाई पनि समस्या परिरहेको छ । यो फिल्म जति चाँडो रिलिजमा आउँछ त्यसले दिव्यालाई फाइदा हुनेछ । तर, फिल्मको विभिन्न झमेलका कारण उनलाई डेब्यूमै सकस परिरहेको छ ।
प्रतिक्रिया