फिल्मले ५१ दिन त मनाए, तर कति कमाए ?

नेपाली फिल्मले ५१ दिन मनाउनु खुशीको कुरा हो । ५१ दिनसम्म हलमा फिल्म चल्दा निर्माताले राम्रै कमाई गरे होलान् भन्ने दर्शकमा पर्छ । कतिपय निर्माताले फिल्मको लगानी सार्वजनिक गर्छन्, कसैले गर्दै गर्दैनन् त कतिपयले ह्वात्तै बढाएर पनि गर्छन् । यसैले, चलचित्र विकास बोर्डले आधिकारिक रुपमा बक्स अफिस आँकडा सार्वजनिक नगरेसम्म दर्शक र मिडियाकर्मीलाई निर्माता र वितरककै भर पर्नुपर्ने अवस्था छ । 

यो बर्ष नेपाली फिल्मले ५१ दिनको लहर नै चलाएका छन् । कोहिले हलमा जबरजस्ती फिल्म टिकाएर त कसैले दर्शकको साथ पाएर ५१ दिने यात्रा पार गरेका छन् । 

मंसिरको ७ गतेबाट रिलिजमा आएको फिल्म ‘तेल भिसा’ले ५१ दिन मनायो । फिल्मले ५१ दिन मनाएको भन्दै निर्माता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले अमेरिकामा पार्टी नै आयोजना गरे । केक काटेर उनीहरुले खुशीयाली शेयर गरे । 

तर, यो फिल्मले अहिलेसम्म कति कमायो भनेर निर्माणपक्षले आँकडा सार्वजनिक गरेको छैन । यो फिल्मका वितरक करण श्रेष्ठले बक्स अफिसमा फिल्मले ७ करोड माथिको ग्रस कलेक्शन गरेको जानकारी दिएका छन् । तर, पुरा हिसाब आफूहरूले केही दिनमा नै सार्वजनिक गर्ने उनको भनाई छ । 

रोचक कुरा त के छ भने, ५१ दिनसम्म चलेको ‘तेल भिसा’ले भन्दा ३ साता मात्र चलेको ‘ह्रस्व दीर्घ’ले कमाइमा बढी उछाल ल्याएको आँकडा सार्वजनिक गरिएको छ । ‘ह्रस्व दीर्घ’ले तीन सातामा १० करोड ६४ लाख ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको थियो । 

नेपाली फिल्मको ५१ खुसियालीले निर्मातालाई भने फाइदा दियो कि दिएन भन्ने मुख्य कुरा हो । बाहिर हल्ला मात्र गरेर भित्र ५१ दिन चल्दा पनि निर्माता पीडामा हुनुपर्ने अवस्था आयो भने त्यो सुखद नहुने निश्चित छ । 

यो बर्ष बक्स अफिसमा ऐतिहासिक रेकर्ड राख्दै ५१ दिने यात्रा पार गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको ठूलो संख्यालाई हलसम्म तान्यो । फिल्मले लगभग ५० करोडको आँकडा बक्स अफिसमा पार गरेको बताइन्छ । तर, ५१ दिनसम्मै दर्शकको साथ पाएर यसले ५१ दिन मनाएको थियो । 

यो बर्ष नै ५१ दिन मनाएको अर्को फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा २० करोड माथिको ग्रस कलेक्शन गर्यो । फिल्मको कमाइबाट विराजले ३ करोड माथिको गाडी नै किनिसकेका छन् । 

यस्तै, फिल्म ‘घर ज्वाइँ’ले पनि ५१ दिन मनाएको भन्दै सेलिब्रेशन गरियो । फिल्मले बक्स अफिसमा साढे ४ करोड हारहारीको ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको थियो । यो बर्ष नै ५१ दिन मनाएको अर्को फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा १० करोड माथिको ग्रस कलेक्शन गर्यो । तर, यो फिल्मलाई रञ्जना सिनेप्लेक्समा ५१ दिनसम्म चलाइएको थियो । 

यसरी हेर्दा, ५१ दिनसम्म चलेका फिल्महरूको व्यापारिक आँकडामा ठूलो अन्तर देखिन्छ । कुनै फिल्मले ५० करोडसम्म कमाएका छन् भने कुनै पनि ३–४ करोडमा नै थन्किएका छन् ।