‘महाराजधिराज’ फिल्म बन्छ कि रिलिज मिति मात्र तोक्ने हो ?

परिच्छेद सेनको निर्देशनमा बन्ने भनिएको फिल्म ‘महाराजधिराज’को छायांकन अझै सुरु हुन सकेको छैन । रोचक कुरा के छ भने, यो फिल्मको प्रदर्शन मिति गतबर्ष नै निर्माणपक्षले तोकेको हो ।

गतबर्ष नै यो फिल्मलाई यो बर्षको तिहारमा रिलिज गर्ने घोषणा गरियो । तर, यो बर्षको तिहारमा फिल्म रिलिज हुनु त परको कुरा, छायांकनमा समेत जान सकेन । 

अब, यसको निर्माणपक्षले छायांकन नै सुरु नहुँदै फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने जानकारी यसका निर्माता विराज विष्टले गरेका छन् ।

सामाजिक संजालमा स्टाटस कोर्दै उनले आउँदो बर्षको दशैंमा आफूहरूले फिल्म ‘महाराजधिराज’ रिलिज गर्न लागेकाले अन्य निर्मातालाई फिल्म नजुधाइदिन आग्रह गरेका छन् । 

निर्माताले छायांकनको दिन नजिकिदै जाँदा डर लागेको पनि लेखेका छन् । यसरीहेर्दा, ‘महाराजधिराज’को टिमले चाडपर्वलाई नछाड्ने देखिएको छ । तर, प्रदर्शन मिति मात्र तोक्ने हो कि फिल्म पनि बन्छ भन्ने प्रश्न उठेको छ ।