अरु बोल्दा ‘बले’लाई के को हतारो ?
हाँस्य सिरियल ‘भद्रगोल र सक्किगोनी’बाट कलाकार सागर लम्साल ‘बले’ उदाए । उसो त उनले फिल्ममा पनि यसअघि काम नगरेका होइनन् । तर, उनी सिरियलमै हिट भए । उनले, लकडाउनपछि म्युजिक भिडियोमा पनि राम्रै पकड बनाएका थिए । तर, अहिले उक्त पकड उनको हातबाट फुस्किसकेको छ ।
उनै, सागर अब फिल्म ‘लाज शरणम्’मा हिरो बन्दैछन् । शुक्रबार २ घन्टा लगाएर घोषणा गरिएको कार्यक्रममा भर्खरै बैबाहिक जीवनमा बाँधिएका सागर सबैको नजरमा रहे ।
कार्यक्रम अवधीभर उनी हलमा बसे । स्टेजमा पनि पुगेर नमस्कार गरे । कार्यक्रम सकिएपछि भने फिल्ममा मुख्य टिमसँग मिडियाको अन्तरक्रिया कार्यक्रम थियो ।
आयोजकले मुख्य चुरोमा नगएर अन्य कुरामा अलमलिदा कार्यक्रम हलमा मिडियासँग अन्तरक्रिया गर्ने फुर्सद नै पाएको थिएन । यसैले, हल बाहिर अन्तरक्रियाका लागि सबै कलाकार उभिएका थिए । सागरलाई पनि मिडियाकर्मीले आफ्नो कुरा राख्नका लागि आग्रह गरे । तर, उनी हतार छ भन्दै हलबाट बाहिरिए ।
उनी बाहिरिएपछि पनि फिल्मको टिमले मिडियासँग लामै समय अन्तरक्रिया गर्यो । भर्खर बिहे बन्धनमा बाँधिएका सागर अब हिरो बन्दैछन् । मिडियाकर्मीले उनलाई यो बारेमा सोध्न चाहेका थिए ।
तर, सागरलाई ‘अब त म हिरो भएँ’ भन्ने सोच आएछ कि के हो, उनलाई मिडियासँग २ मिनेट बोल्न फुर्सद भएन । उनी भन्दा सिनियर केही कलाकारले मज्जाले अन्तरक्रिया गर्दा उनलाई भने मिडियाको क्यामेरा अगाडि बोल्न खै केले रोक्यो ?
फिल्मको छायांकन नहुँदै मिडियासँग तर्किएर हिँडेका सागरले भोलि फिल्म चल्ने बेलामा पनि मिडियालाई यसरी नै वेवास्ता गर्छन् कि के गर्छन् हेर्न बाँकी छ ।
प्रतिक्रिया