जय नेपाल हल फेरि संचालन गर्ने तयारी

कोरोनाका कारण बन्द भएको जय नेपाल हल फेरि संचालनमा आउने भएको छ । क्यूएफएक्सको नाममा पहिले संचालनमा आएको जय नेपाल हल कोरोना कालपछि बन्द गरिएको थियो । 

तर, अब निर्माता तथा वितरक सुनिल मानन्धरले यो हललाई पुनः निर्माण गरेर संचालन गर्ने तयारी गरेका हुन् । मानन्धर र केही व्यापारीहरूको लगानीमा हल फेरि संचालनमा ल्याउन लागिएको हो ।  

हाल यो हलमा भवन बाहेक अरु केही पनि छैन । पर्दादेखि सिट सबै निकालिएको छ । यसैले, पुनः सबै कुराको व्यवस्था गरेर हल संचालनमा गर्ने तयारी मानन्धरले गरेका हुन् । मानन्धरले मेरो फिल्मसँग भने–‘हो, हामीले जय नेपाल हल फेरि संचालनमा ल्याउने तयारी गरेका हौं । संचालनका लागि काम सुरु भइसकेको छ । दशैं वा तिहारसम्म हल संचालनमा आउनेछ ।’

यो हलले काठमाडौं महानगरपालिकालाई ९० लाख रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ । मानन्धरले आफूहरूले यो बक्यौता रकम चुक्ता गर्ने बताए । 

हलमा आरामदायी सिट, उच्च प्रविधिको साउन्ड सिस्टम जडान गर्ने तयारी भइरहेको छ । मानन्धरका अनुसार, साढे ३ सयको हारहारीमा हलमा सिट हुनेछ । 

काठमाडौंको नक्सालमा रहेको यो हल बन्द भएको केही बर्ष भयो । महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने भन्दै हल परिसरमा डोजर समेत चलाएको थियो । तर, अहिले यो विवाद केही पनि नरहेको  मानन्धरले जानकारी दिए । 

२० वर्षसम्म क्यूएफएक्सको नाममा चलेको यो हल अब भने ‘जय नेपाल’को नाममा मात्र संचालनमा आउनेछ । जग्गा भाडामा लिएर यो हल संचालन गर्न लागिएको हो ।