प्रदीप र मिरुना ‘उत्कृष्ट अभिनेता–अभिनेत्री’

नायक प्रदीप खड्का र नायिका मिरुना मगर ‘उत्कृष्ट अभिनेता र अभिनेत्री–२०२४’ घोषित भएका छन् । बिराटनगरमा आयोजना भएको ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’मा प्रदीप ‘प्रेमगीत ३’बाट उत्कृष्ट अभिनेताको रुपमा चुनिदा मिरुनाले ‘जारी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । 

नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा कोशी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेष्टिभलमा ‘उत्कृष्ट निर्देशक फिचर फिल्म’तर्फ सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, ‘उत्कृष्ट माउन्टने फिल्म’ ‘प्रेम गीत ३’, ‘उत्कृष्ट टुरिजम फिल्म’ ‘मन्त्र’, ‘उत्कृष्ट जुरी अवार्ड ‘बिच्छेद’, ‘उत्कृष्ट कल्चर फिल्म ‘जारी’, सर्बाेत्कृष्ट अन्तराष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले हात पार्यो । 

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।

बन तथा बाताबरण मन्त्री नारायण मगरले उद्घाटन गरेको दुई दिन आयोजित फेष्टिवलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेश गरि ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त थिए । फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी ५ देशका २४ चलचित्र महोत्सवमा सहभागी थिए ।

चलचित्र विकास वोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएको महोत्सवले नेपाली कलासंकृति तथा पर्यटनका विकास बिस्तारमा टेवा पुग्ने महोत्सवका प्रमुख निर्देशक अरुणकुमार प्रधानले बताए ।

कार्यक्रममा ‘चलचित्र सम्मान २०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका संचालक ओम अग्रवाल सम्मानित भए ।

कार्यक्रममा अभिनेता सुवास मेचे, निर्देशक इन्द्र परियार, अभिनेत्री निलम खवास, अभिनेता राजेन्द्र भगत, सारदा शाक्य अभिनेत्री, अभिनेता सानुबाबा सुब्बा, एक्सन निर्देशक हेमनारायण राजबंशी, निर्देशक दीपनरायण रजबंशी, अभिनेत्री रेनु चौधरीले प्रदेश कलाकार सम्मान प्राप्त गरे ।

कार्यक्रममा अनुज सापकोटा, वीरेन्द्रकुमार शाह, सुमन भट्टराईले कदरपत्र प्राप्त गरेका थिए । फेष्टिवलले आगामी बर्षमा पनि निरन्तरता पाउने आयोजकले जानकारी दिएको छ ।