फिल्म रि–रिलिजको लहर, तर कति सफल ?

निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट ३’लाई तीन पटक रिलिज गरे । उनको रि–रिलिजको चाहना सफल हुन सकेन । फिल्म रिलिज भएको मितिमै असफल भयो । यसपछि, दर्शकले फिल्म नै हेर्न नपाएको भन्दै  उनले बारम्बार रिलिज त गरे । तर, दर्शकले फिल्मलाई हेर्न रुची देखाएनन् । फेरि रिलिज गरेर फिल्मबाट पैसा कमाउने उनको योजना असफल भयो । 

असारको ७ गते फिल्म ‘आचार्य’को पनि रि–रिलिज गरियो । रिलिजको १५ बर्षपछि यो फिल्म फेरि रिलिज गरिएको हो । तर, यो फिल्म रिलिजको एक सातामै चलचित्र विकास बोर्डले सेन्सर नभएको भन्दै प्रदर्शन रोक्यो । फिल्म रिलिजको एक सातामा पनि कुनै कमालको व्यापार गर्न सकेन । 

अब साउन महिनामा २ वटा फिल्मको रिलिज फेरि गरिँदैछ । साउनको १८ गते फिल्म ‘नालापानी’ फेरि रिलिज गर्ने तयारी निर्माता तथा निर्देशक रिमेश अधिकारीको छ । यो फिल्मले हलमा गतिलो व्यापार गरेन । तर, यो फिल्मलाई स्कुल–स्कुलमा देखाएर रिमेशले विद्यार्थीमाझ भने पुर्याए । अब, फेरि दर्शकमाझ यो फिल्म ल्याउने तयारी उनको छ । 

यता, फिल्म ‘बुलाकी’ पनि रि–रिलिज गरिँदैछ । यो फिल्मलाई साउनको ३२ गते पुनः रिलिज गर्ने तयारी निर्माणपक्षको छ । गतबर्षको वैशाख १ गते फिल्म ‘जारी’को चेपुवामा परेको भन्दै प्रदर्शन २ दिनमै स्थगीत गरिएको थियो । यसैले, निर्माणपक्षले फेरि फिल्मलाई दर्शकमाझ ल्याउने तयारी गरेको छ । 

फिल्मको रि–रिलिजमा दर्शकको चासो खासै भएको देखिंदैन । तर, नेपाली फिल्म रि–रिलिजको लहर भने चलिरहेको छ ।