भदौ र असोजमा फिल्म नै फिल्म

फिल्म निर्माणको संख्या बढेसँगै प्रदर्शनको चाप पनि देखिएको छ । विशेषगरि, चाडपर्वको छेको पारेर निर्माताहरूले फिल्म रिलिज गर्दा एउटै महिनामा चाप पनि बढी देखिएको छ । 

वैशाख र जेठमा फिल्मको चाप बढी देखियो । असार र साउनमा यो चाप केही कम छ । तर, भदौ र असोजमा फिल्मको चाप फेरि बढ्ने देखिएको छ । 

भदौमा एकपछि अर्को फिल्मको प्रदर्शन मिति फाइनल भइरहेको छ । भदौ र असोजमा नेपाली फिल्मको व्यापार पनि सुखद हुने भएकाले निर्माताहरू आकर्षित भएका हुन् । 

भदौको ७ गते फिल्म ‘सतीदेवी’, भदौको १४ गते फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति पक्का भएको छ । 

यसअघि नै भदौको २१ गते फिल्म ‘रावायण र देवी’को रिलिज मिति पक्का भइसकेको छ । भदौको २८ मा फिल्म ‘तेल भीसा’ले प्रदर्शन मिति फाइनल गरिसकेको छ । 

भदौमा हरेक साता एउटा फिल्म रिलिज हुने पक्का भइसकेको छ । यसैले, दर्शकले यी सबै फिल्म हेर्नका लागि राम्रै पैसा खर्च गर्नुपर्ने हुन्छ । 
असोज महिनामा झन् फिल्मको चाप बढी छ । असोजको ३ गते ‘आउटलः दफा २१९, ह्रस्व दीर्घ र खुस्मा’ रिलिज फाइनल गरिएको छ । यी तिनै फिल्म यो मितिमा रिलिजका लागि तयार भएका छन् । निर्माताहरूले यो मितिबाट पछि नहट्ने छनक दिइसकेका छन् । 

यस्तै, दशैंमा ४ वटा फिल्म रिलिज पक्का गरिएको छ । दशैंमा ‘सानो संसार, छक्का पन्जा ५, १२ गाउँ र बेहुली फ्रेम मेघौली’को रिलिज मिति पक्का भइसकेको छ । यी मध्ये ‘सानो संसार’ घटस्थापना र ‘छक्का पन्जा ५’ फूलपातीमा आउने पक्का भइसकेको छ । बाँकी दुई फिल्म दशैं भनेपनि कुन दिनबाट फिल्म रिलिज गर्ने फाइनल गरेका छैनन् । 

तर, भदौ र असोजमा अहिलेसम्म १२ वटा फिल्मको रिलिज फाइनल गरिएको छ । यो मितिमा अरु केही फिल्म रिलिज नहोलान् भन्न सकिँदैन ।