ओसिनलाई कार्यलयमा बोलाएर प्रेस काउन्सिलले भन्यो–‘विवादस्पद अंश हटाउनुहोस्’

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा प्रशारण भएका आपत्तिजनक र विवादस्पद अंश हटाउन प्रेस काउन्सिलले निर्देशन दिएको छ । कार्यक्रम प्रस्तोता ओसिन सिटौलालाई कार्यालयमै बोलाएर काउन्सिलले यस्तो निर्देशन दिएको हो । 

प्रेस काउन्सिलसँगको छलफलमा ओसिनले अरुको चरित्र हत्या गर्ने, गोपनीयता भंग गर्ने उद्देश्य आफ्नो नरहेको बताएकी थिइन् । अध्यक्ष बालकृष्ण बस्नेतसहितसँग छलफलका क्रममा ओसिनले आफूले प्रश्न मात्र सोधेको र जवाफ अतिथीहरुले दिएको बयान दिएकी थिइन् । 

तर, काउन्सिलले कार्यक्रमको विवादित अंश हटाउन निर्देशन दिएको छ । नायिका जसिता गुरुङले केही दिन अगाडि प्रेस काउन्सिलमा उजुरी दिँदै शोमा प्रशारण भएको केही विषयले आफ्नो चरित्र हत्या भएको उल्लेख गरेकी थिइन् । उनले, शो हटाउन पनि माग गरेकी थिइन् । 

ओसिनले संचालन गरेको यो शोको पहिलो भागमा नायिकाद्धय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथिको रुपमा पुगेका थिए ।

उनीहरुले नायिका जसिता गुरुङ, अनमोल केसी लगायतको व्यक्तिगत जीवनमा हानी पुग्ने कुरा गरेका थिए । यसपछि, अनमोल र जसिता दुबैले सामाजिक संजालमा स्टाटस लेखेर आपत्ति जनाएका थिए ।