कस्तो छ ‘घरज्वाइँ’को ट्रेलर प्रतिक्रिया ?

असारको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर, टिजर, गीत र पोस्टरले दर्शकको साथ पाइरहेको छ । 

सार्वजनिक ट्रेलरमा प्रयोग गरिएको संवाद, कलाकारको अभिनय, छायांकनपक्षले दर्शकको ध्यान तानेको छ । हालसम्म फिल्मको ट्रेलरलाई करिब ८ लाख ४५ हजार बढी भ्यूज, ३५ हजार बढी लाइक्स र २ हजार भन्दा बढी प्रतिक्रिया छन् ।

दर्शकले दयाहाङ राई र मिरुना मगरको जोडी, कथावस्तु र प्रस्तुतिलाई तारिफ गरिरहेका छन् । विशेषगरि, रुकुमको तकसेराको मगर समुदायको रीतिरिवाज, परम्परा, बोलीचाली, खानपानलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । जीएम मुभिज र एबीएम फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको यो फिल्ममा जनक घर्ती मगरको लगानी छ । फिल्ममा अनिलको साथमा विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ ।

फिल्ममा दया र मिरुनाको अलवा वुद्दि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले लगायतका कलाकारको अभिनय छ ।