नीताको गुनासो–‘नेपाली कलाकारहरुले खेल्नुभएन, अनी भारतीय कलाकार रोजेँ’

नायिका नीता ढुंगानाले निर्माण गरिरहेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन अन्तिम चरणमा पुगेको छ । 

यो फिल्ममा दक्षिण भारतीय र बलिउडका केही चर्चित नामहरूले काम गरिरहेका छन् । प्रदीप राउत, सुनील वर्मा, अली, ब्रम्मानन्दम लगायतका कलाकार यो फिल्ममा छन् । 

यसैबिच, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नायिका नीता ढुंगानाले आफ्नो प्राथमिकतामा सधैं नै नेपाली कलाकारहरू नै परेको बताएकी छिन् । नीताले भनिन्–‘मैले पहिले प्रदीप राउत सर, सुनील सरलाई अफर गरेको भूमिका नेपालका केही नाम चलेका कलाकारहरूलाई नै अफर गरेको थिएँ । तर, उहाँहरूलाई खोई के कुरा चित्त बुझेन, गर्नुभएन ।’

उनले अगाडि भनिन्–‘मैले नेपाली कलाकार नभेटेर बलिउडका कलाकारहरूलाई अफर गरेको होइन । मेरो प्राथमिकतामा पहिला नेपाली कलाकार नै हो । यो फिल्ममा पनि दर्जनौं नेपाली कलाकारहरू हुनुहुन्छ । छिमेकी राष्ट्रबाट पनि मैले बुलन्द कलाकार नै लिएको छु । जसले नेपाली फिल्म क्षेत्र र फिल्मको व्यापारका लागि पनि केही सहयोग गरोस् भन्ने लागेको छ । भारतमा पनि यो फिल्मले गज्जबको व्यापार गरोस् भन्ने हाम्रो अपेक्षा छ ।’

नीताले फिल्म ‘ह्रस्व दीर्घ’को कथावस्तु मजबुत रहेको बताइन् । आफूले निर्देशकसँग खुबै झगडा गरेको पनि बताइन् । फिल्मलाई नै उत्कृष्ट बनाउनका लागि कहिलेकाही आफ्ना श्रीमान् हरिहर अधिकारीसँग पनि झगडा परेको उनको भनाई छ । 

यो फिल्म निर्माणका क्रममा निकै धेरै दुःख भएको उनको तर्क छ । २ बर्षदेखि यही फिल्मका लागि काम गरेको उनले सुनाइन् । कुनै समय फिल्म नै सकिँदैन कि भन्ने खालका चर्चा पनि भएको तर अहिले लगभग काम सकिएको उनले सुनाइन् । 

असोजको ३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा चन्द्र पन्तको निर्देशन छ ।