‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो

फिल्म ‘बलिदान’को छायांकनको तयारी थालिएको छ । गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोको कथामा तयार हुन लागेको यो फिल्मको पि–प्रोडक्शनको काम धमाधम चलिरहेको छ ।

फिल्मका निर्देशक सन्तोष सेनले यसको कथालाई ‘महाकथा’ भनेका छन् । उनले, यो फिल्मका लागि आफूले जस्तो सुकै त्याग र बलिदान पनि गर्न तयार रहेको बताएका छन् । 

सन्तोष लामो समयदेखि फिल्मको छायांकन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा दौडधूप गरिरहेका छन् । 

यसैबिच, अब यो फिल्मका लागि दक्षिण भारतीय फिल्ममा काम गरेका प्राविधिकहरूले काम गर्ने भएका छन् । 

यो प्रोजेक्टका लागि दक्षिण भारतका महंगा फिल्ममा काम गरिसकेका द्धन्द्ध निर्देशक स्टन्डर साम र छायांकार शरण ऋषि सहित ५० जनाको प्राविधिक टिम भित्राइएको हो । द्धन्द्ध निर्देशक सामले ‘हात्ती मेरे साथी, थङ्गलम’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

यस्तै, छायांकार ऋषिले फिल्म ‘बाटो रोड टु डेथ’को छायांकन गरिसकेका छन् । यो बाहेक उनले ‘पेट्टा र आचार्य’ जस्ता दक्षिण भारतीय फिल्म पनि खिचेका छन् । यसका साथै, फिल्मको छायांकनमा प्रयोग हुने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामानहरू पनि मुम्बईबाट ल्याउने निर्देशक सेनको तयारी छ । उनले, ‘बलिदान’लाई उच्च स्तरीय फिल्म बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

यो फिल्मको मुख्य भूमिका समीर भट्टले काम गर्दैछन् । फिल्ममा सौगात मल्ल, अर्पण थापा, दिव्य देव र ऋचा शर्मा पनि फाइनल भइसकेका छन् । आसुसेन फिल्मस् प्रा.लि तथा सन्तोष सेनको प्रस्तुति रहेको यो फिल्ममा निर्माताको रुपमा पवन ब्राडफोर्ड र सह–निर्माताको रुपमा प्रेम पुरी छन् । 

फिल्मको प्रदर्शन मिति दशैंमा तय गरिए पनि अब निर्धारित मितिमा फिल्म रिलिज हुने संभावना छैन ।