अनमोल–जसिताको प्रेमबारे साम्राज्ञी–स्वस्तिमाको विवादित बयान

कान्तिपुर टेलिभिजनमा प्रशारण भएको ‘इट्स माई शो’मा अतिथि बनेर पुगेका नायिकाद्धय साम्राज्ञी राज्यलक्ष्मी शाह र स्वस्तिमा खड्काले केही नेपाली फिल्मका कलाकारहरूको व्यक्तिगत कुरालाई पनि खोलेका छन् । जुन विवादित बन्ने देखिएको छ । 

विशेषगरि, उनीहरुले नायिका जसिता गुरुङको प्रेमको बिषयमा विवादित बयान दिएका हुन् । कार्यक्रमकी संचालिका ओसिन सिटौलाले सोधेकी छिन्–‘पहिले धिरज मगरसँग डेट गरेकी एक नायिका जो अहिले अनमोल केसीसँग डेट गरिरहेकी छिन् ? उनी को हुन् ?

यसको जवाफ दिँदै स्वस्तिमाले भनिन्–‘जसिता गुरुङ’ । यसपछि, साम्राज्ञीले थप्छिन्–‘धिरज मगर, प्रदीप खड्का अनि अनमोल केसी ।’

यो बिषयमा आजसम्म जसिताले सार्वजनिक रुपमा स्विकार गरेकी छैनन् । तर, पहिलो भागबाट नै विवादित बनिरहेको यो शोमा नायिकाद्धयले भने जसिताको ३ प्रेमी भएको भन्दै नाम नै खुलाइदिएका छन् । 

यता, अर्को एक प्रश्नमा स्वस्तिमाले अनमोल केसीको २ प्रेमिकाको नाम बताएकी छिन् । उनले भनिन्–‘आना शर्मा र अश्मी श्रेष्ठ ।’ अनमोलको आनासँग प्रेम भएको चर्चा चलेपनि अश्मीसँग भने आजसम्म कुनै खबर सार्वजनिक भएको छैन । यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै अनमोलले भने–‘खै स्वस्तिमाले कसरी भनिन् मलाई थाहा भएन । तर, यी दुबै कुरा गलत हो ।’

स्वस्तिमाले अश्मी श्रेष्ठको नाम लिदा साम्राज्ञी भने आश्चर्यमा परेको देखिन्छ । तर, स्वस्तिमाले मलाई त्यस्तो लाग्यो अनि भने भनेर जवाफ दिएकी छिन् । 

यी दुई नायिकाले विवादित बयान दिएका छन् । कलाकारहरूको व्यक्तिगत जीवनको बिषयमा उनीहरुले दिएको बयानलाई अब यी कलाकारहरूले कसरी लिन्छन्, हेर्न बाँकी छ ।