लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति

निर्माता, निर्देशक तथा कलाकार दिनेश डीसीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले फिल्म क्षेत्रलाई राज्यले संरक्षण गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिमा आफ्नो असहमति रहेको बताएका छन् । साथै, चलचित्र विकास बोर्डका अध्यक्ष पैसामा बिक्री हुन्छन् भन्ने लिङ्देनको आरोपमा पनि उनले असहमति जनाएका छन् । 

फिल्म ‘दान्भी’ हेरेर निस्किएपछि दिनेशले भने–‘राप्रपा अध्यक्ष आक्रोशित नै भएर भन्नु भयो । तर त्यति साह्रो पनि होइन, जति उहाँले भन्नुभयो । फिल्म क्षेत्रलाई राज्यले संरक्षण मात्र गर्ने हो । तर, काम गर्ने हामीले नै हो ।’

उनले संसारका कुनै पनि देशले फिल्म क्षेत्रलाई पूर्ण रुपमा सहयोग नगर्ने बताए । उनले अगाडि भने–‘फिल्म क्षेत्रलाई राज्यले संरक्षण मात्र गर्ने हो, राज्यले बर्षमा १–२ वटा फिल्मलाई मात्र केही गर्न सक्ला । झन्, तेस्रो विश्वको गरिब मुलुकमा गाँस, बास, कपास र शान्तिपछि मनोरञ्जन आउँछ ।

हामी त्यो अन्तिम विषयका लागि काम गरिरहेका छौं । यसैले, म राजेन्द्र लिङ्देनको भनाइमा असहमति जनाउँछु ।’