वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा

वेब सिरिज ‘साहु बा’को टिजर काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो सिरिज एपी वान टेलिभिजन र ‘मोःमो म्युजिक एण्ड मूभिज’मा सार्वजनिक हुनेछ । 

सिरिजमा नायिका प्रियंका कार्कीको साथमा कलाकारहरू कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बाँस्तोला लगायतका कलाकारको अभिनय छ । नायिका प्रियंका कार्कीले यो सिरिजका लागि आफूले तीन बर्ष भन्दा बढी समय दिएको बताइन् । 

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई नायक आयुष्मान देशराज जोशी, संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोडमा तयार भएको यो सिरिजमा तीन सय ५० बढी कलाकारहरूले काम गरेका छन् । यो शो हरेक भाग १ घन्टा भन्दा लामो हुनेछ । निर्माण कम्पनीले नेपालमा निर्माण भएका वेब सिरिज मध्ये यो सबैभन्दा महँगो भएको दाबी गरेको छ । 

यो वेब सिरिजलाई नेपाल तथा भारतमा समेत काम गरिरहेका सुजय योङले निर्देशन गरेका हुन् । यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । यो सिरिजको कथा लकडाउनको समयमा तयार पारिएको निर्माणपक्षले बताएको छ ।

यो सिरिजले विश्वासघात र प्रतिशोधको कथा भन्छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको हो । यो सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन छ ।