यो बर्ष ५३ वटा फिल्म रिलिज, आधा दर्जन मात्र सफल(पूर्ण सूचिसहित)

यो बर्ष नेपाली बक्स अफिसमा ५३ वटा नेपाली फिल्म रिलिज भएका छन् । चैत्र २३ गते ‘बद्री बहादुर’ र चैत्रको ३० गते ‘रेड सुटकेस र डिग्री माइला’ रिलिज हुन बाँकी छन् । ५० वटा फिल्म भने रिलिज भइसकेका छन् । ५० फिल्ममध्ये जम्मा ६ वटा फिल्मले निर्माताको लगानी सुरक्षित गरिदिएका छन् । बाँकी ४४ वटा फिल्म बक्स अफिसमा असफल भएका छन् । यसले, नेपाली फिल्म क्षेत्रमा भइरहेको करोडौंको लगानी बालुवामा पानी भए जस्तो देखिन्छ । 

यो बर्षको वैशाख, भदौ र फागुन महिनामा सर्वाधिक धेरै फिल्म रिलिज भएका छन् । बाँकी महिनामा २–३ वटाका दरले फिल्म रिलिज भएको देखिन्छ । 

यो बर्ष ‘बिहे पास, बुलाकी, जारी, कैदीको पत्र, नाई नभन्नु ल ६, पासाङः द स्याडो अफ एभरेष्ट, ज्याकीः आई एम ट्वान्टी वान, हल्करा’ वैशाख महिनामा रिलिज भएका फिल्म हुन् । यी मध्ये ‘जारी’ ब्लकबस्टर हुँदा अरु फिल्म असफल भएका थिए । 

जेठमा रिलिज भएका ‘ए साथी सुन, टुल्की, लुकिङ फर अ लेडी विथ फ्याङ्स एण्ड मस्ट्यास, हुक्का’ लगायतका फिल्मले आएको र गएको नै पत्तो भएन । 

यस्तै, यो बर्ष ‘निरफूल, वेलकम टू हेम्जाकोट, अन्तिम संस्कार, परस्त्री, बगान, एक धाक्रे दाई, लुङ्गा, अदृश्य’ लगायतका फिल्म असार र साउनमा रिलिज भए । यी कुनै पनि फिल्मले दर्शकको साथ पाएनन् । भदौमा रिलिज भएका ‘जुलेबी, हिँड्दा हिँड्दै, महानगर, जय हो, ऐँचो पैँचो, गणपति, एक भगवत् र एक गीता, नांगो गाउँ’ मध्ये ‘नाङ्गो गाउँ’ले मात्र दर्शकको साथ पायो । 

असोजमा ‘वानर सेना, कौसीद, बसेनजी र परदेशी २’ रिलिजमा आए । यो महिना ‘परदेशी २’ मात्र हिट भयो । कार्तिकमा ‘पशुपति प्रसाद २ र दिमाग खराब’ रिलिज भए । दुबै फिल्मले बक्स अफिसमा सफलता पाए ।

मंसिर महिनामा ‘दुई कदम र जम्प’, पुष महिनामा ‘पर्खि बसे तिमीलाई र चित्रा’, माघ महिनामा ‘नो विन्टर होलिडेज, दयारानी र हात्तीछाप’ फागुन महिनामा ‘जिग्री, गोर्खा वारियर, अगस्त्य, उपहार, रंगेली, काँडेतार’ रिलिजमा आए । फागुन महिना पनि नेपाली फिल्मका लागि सुखद बनेन । चैत्रमा रिलिजमा आएको ‘महाजात्रा’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । यस्तै, फिल्म ‘सलिना’ हलमा शोज खुलेपछि कम शो पाएको भन्दै प्रदर्शन स्थगीत गरेर पछि सरेको छ । 

यसरीहेर्दा, अहिलेसम्म रिलिजमा आएका ५० फिल्ममध्ये ‘जारी, नांगो गाउँ, परदेशी २, पशुपति प्रसाद २, दिमाग खराब, महाजात्रा’ मात्र बक्स अफिसमा सफल भएका छन् । अधिकांश फिल्म त आएको र गएको नै दर्शकले थाहा पाएनन् । 

अब रिलिज हुन लागेका ३ फिल्ममध्ये कुनले कस्तो व्यापार गर्ने हो, हेर्न बाँकी छ ।