‘फर्की फर्की’पछि अनमोल र सुयोगको ‘जेरीः अन टप’मा सहकार्य

नायक अनमोल केसी विगत केही हप्तादेखि फिल्म ‘फर्की फर्की’मा काम गरिरहेका छन् । यो फिल्मको छायांकन काठमाडौंमा चलिरहेको छ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गरिरहेका छन् । 

अब, अनमोलले सुयोगसँग नै अर्को फिल्ममा पनि सहकार्य गर्ने पक्का भएको छ । अनमोलले फिल्म ‘जेरीः अन टप’मा पनि सुयोगकै निर्देशनमा काम गर्ने पक्का भएको हो । यो फिल्मलाई सुरुवातमा हेमराज वीसीले निर्देशन गर्ने तयारी गरिएको थियो । तर, अमेरिका पुगेका वीसी फर्किन समय लाग्ने भएपछि सुयोगलाई निर्माता सरोज न्यौपानेले प्रोजेक्टमा भित्राएका हुन् । 

निर्माता न्यौपानेले बीसीसँग सल्लाहा गरेरै सुयोगलाई फिल्म हस्तान्तरण गरिएको बताए । यो फिल्मको टिजर खिच्नका लागि टिम मुस्ताङ जाने तयारीमा छ । अनमोल केसी र जसिता गुरुङ अभिनित फिल्म ‘फर्की फर्की’को गीतको छायांकन पनि मुस्ताङमा गर्ने तयारी गरिएको छ । सोही समयमा फिल्म ‘जेरीः अन टप’को पनि टिजर खिचिनेछ । 

फिल्मका लागि नायिकाद्धय आना शर्मा र पूर्णिका सिंजापति पनि टिजरको छायांकनका लागि मुस्ताङ पुग्नेछन् । निर्माता न्यौपानेका अनुसार, फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने तयारी छ । फिल्मलाई अष्ट्रेलिया र नेपालमा खिचिनेछ । 

यस्तै, निर्माता न्यौपानेले बनाउने भनेको अर्को फिल्म ‘लोकल हिरो’को छायांकन पनि बैशाखमा गर्ने तयारी गरिएको छ ।