प्रदर्शकलाई साउथ फिल्ममा भर, नेपाली फिल्म चेपुवामा

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेका २ नेपाली फिल्मले देशका मुख्य मल्टिप्लेक्समा न्यून शोज पाएका छन् । विशेषगरि, साउथको फिल्म ‘क्याप्टेन मिलर’माथि प्रदर्शकहरु बढी आशावादी हुँदा नेपाली फिल्महरूमाथि शोज बाँडफाँडमा विभेद गरिएको छ । 

भोलि शुक्रबारदेखि दुई नेपाली फिल्म ‘पर्खि बसेँ तिमीलाई र चित्रा’ रिलिजमा आउँदैछन् । यी दुवै फिल्मले देशभरका मल्टिप्लेक्समा कमजोर शोज पाएका छन् । विशेषगरि, क्यूएफएक्स सिनेमाले आफ्नो चेनमा यी दुवै फिल्मलाई न्यून शोज उपलब्ध गराएको छ । 

‘चित्रा र पर्खि बसेँ तिमीलाई’ले क्यूएफएक्सको उपत्यकाका हलमा जम्मा ४–४ शोज पाएका छन् । यस्तै, बीग मुभिजले दुवै फिल्मलाई एक–एक शो मात्र उपलब्ध गराएको छ । 

यता, वान सिनमाज् भने नेपाली फिल्मका लागि केही उदार देखिएको छ । यो हलले नयाँ बाँनेश्वरमा २ शोज र कालिमाटीमा १ शो ‘चित्रा’का लागि उपलब्ध गराएको छ । यस्तै, ‘पर्खि बसेँ तिमीलाई’ लाई यो हलले नयाँ बाँनेश्वरमा ३ शोज र कालिमाटीमा २ शोज उपलब्ध गराएको छ । 

चाबहिलमा रहेको एफक्यूब सिनेमाज्ले दुवै नेपाली फिल्मलाई जम्मा १–१ शोज उपलब्ध गराएको छ । जसले गर्दा, दर्शकले आफूलाई मिल्ने समयमा यी दुवै नेपाली फिल्म हलमा हेर्न नपाउने निश्चित छ । 

बलिउड फिल्म ‘डंकी’ र साउथको फिल्म ‘सलार’ले सुखद शोजसहित हलमा निरन्तरता पाएका छन् । यस्तै, साउथको फिल्म ‘क्याप्टेन मिलर’ले हलमा निकै राम्रो शोज पाएको छ । अर्कातिर, बलिउड फिल्म ‘मेरी क्रिसमस’ले पनि हलमा सुखद शोज पाएको छ ।