‘प्रेमगञ्ज’ पछि ‘चित्रा’मा सिम्रनको शक्तिशाली अभिनय

फिल्म ‘प्रेमगञ्ज’ले बक्स अफिसमा अपेक्षित व्यापार गरेन । तर, यो फिल्ममा काम गर्ने अधिकांश कलाकारको अभिनयको प्रशंसा भयो । निर्देशक परिच्छेद सेनले एउटा सुन्दर फिल्म निर्देशन गरेका थिए । फिल्ममा कलाकार सिम्रन खड्काको पनि अभिनय थियो । सिम्रनको अभिनयको प्रशंसा भयो । तर, कलाकारहरूको भिडका कारण सिम्रनले जति चर्चा  पाउनुपर्ने थियो, त्यति पाइनन् । 

तर, शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘चित्रा’को प्रिमियरपछि सिम्रनको चौतर्फी तारिफ भइरहेको छ । यो फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरेकी सिम्रनले उम्दा अभिनय गरेकी छिन् । 
फिल्ममा उनी छोरीको भूमिकामा छिन् । फिल्ममा उनको बाबुको भूमिकामा सन्तोष अधिकारीले काम गरेका छन् । 

फिल्मलाई सिम्रनले बोकेकी छिन् । सिम्रनको अभिनयले विशेषगरि दोस्रो हाफमा दर्शकलाई बाँधेर राखेको छ । उनको बुलन्द अभिनयका कारण फिल्मको दोस्रो हाफ सुन्दर बन्न मद्दत मिलेको छ । 

निर्देशन घनश्याम  लामिछानेले सिम्रनबाट राम्रो काम निकालेका छन् । एउटा शक्तिशाली भूमिकालाई सिम्रनले गजबले निर्वाह गरेकी छिन् । जसकाकारण, आगामी दिनमा फिल्म क्षेत्रमा उनको उपस्थिति अझै बलियो हुने विश्वास गर्न  सकिन्छ । 

शुक्रबारदेखि रिलिजमा आउने यो फिल्म हेरेपछि दर्शकले पनि सिम्रनलाई नै रुचाउने देखिन्छ । फिल्मको प्रचारमा यसको निर्माणपक्षले सिम्रनलाई अगाडि ल्याएको छैन । तर, फिल्म रिलिजपछि दर्शकबाट उनी धेरै खोजिने छिन् ।