बलिउडलाई कस्तो सन्देश दिन चाहन्छन् प्रदीप ?

फिल्म ‘प्रेमगीत ३’ले नेपाली फिल्मका लागि भारतीय बजार खोलिदियो । भारतका हलमा पनि नेपाली फिल्म रिलिज हुन सक्छन् र राम्रो रकम कमाई हुन सक्छ भन्ने सन्देश यो फिल्मले दियो । फिल्मलाई भारतीय बजारसम्म पुर्याउनका लागि यसका निर्देशक सन्तोष सेन र नायक प्रदीप खड्काले कम्ता कसरत गरेनन् । 

दोस्रो फिल्म ‘ऐरी’मा भारतीय लगानीकर्ताले लगानी गर्न इच्छुक रहनुको कारण पनि यही नै हो । फिल्म ‘ऐरी’ मार्फत नायक प्रदीप खड्का बलिउड र भारतीय फिल्म नगरीलाई नयाँ सन्देश दिन चाहन्छन् । 

प्रदीपले सिंगो नेपाली फिल्म क्षेत्रलाई भारतीय बजारमा स्थापित गर्न खोजिरहेका छन् । मेरो फिल्मसँगको भेटमा प्रदीपले भारतमा नेपाली फिल्मको संभावना बलियो रहेको सुनाए । उनले भने–‘यदि हामीले भारतीय बजारबाट ८–१० करोड मात्र अहिले कमाई गर्न सक्यौँ भने, उनीहरूले हाम्रा फिल्मलाई सहजै किन्छन् । यसले, भोलिका दिनमा अझै ठूलो बजार नेपाली फिल्मको भारतमा बन्छ ।’

नेपालमा पनि स्थापित फिल्म बन्छन् र ती फिल्मले भारतमा राम्रो व्यापार गर्न सक्छन् भन्ने सन्देश आफूले दिन चाहेको प्रदीप सुनाउँछन् । 

प्रदीपको नजर अहिले नेपाली फिल्मसँगै बलिउडमा पनि छ । उनले नेपाली फिल्म पनि धमाधम साइन गरिरहेका छन् । अर्कातिर, ‘ऐरी’लाई भारतमा सफल बनाउन सक्ने हो भने बलिउड बजारमा पनि प्रवेश गर्न सकिन्छ कि भन्ने उनको सोच छ । 

विशेषगरि, ‘ऐरी’ फिल्मको तयारीमा लागेपछि प्रदीपको स्वभाव बदलिएको छ । उनी, अब नेपाली मेकरलाई पनि चिड्याउने सोचमा छैनन् । यसैले, चित्त बुझेका फिल्म उनले लगालग साइन गरिरहेका छन् । 

प्रदीप बदलिएसँगै उनको हातमा फिल्मको संख्या पनि ह्वात्तै बढेको छ । दैनिक जसो कुनै न कुनै मेकरसँग उनको भेटघाट भइरहन्छ । नयाँ नयाँ फिल्मको अफर आइरहेको उनले सुनाए । 

प्रदीपले ‘प्रकाश’पछि ‘पुजार सार्की’बाट दर्शकलाई नयाँ सरप्राइज दिने तयारी समेत गरेका छन् । यो फिल्ममा देखिने उनको लुक्स आम दर्शकका लागि विशेष हुनेछ । 

नेपाली फिल्म क्षेत्रले मात्र होइन, दर्शकले पनि प्रदीप खड्काबाट ठूलो आशा लिएका छन् । प्रदीप अब दर्शकको आशा अनुसार अगाडि बढ्ने दौडमा लागेका छन् ।