२०८४ लक्षित निश्चलको ‘मिसन ८३’

करिब २० दिन अगाडि एक कार्यक्रममा बोल्दै निर्देशक नबिन सुब्बाले फिल्म ‘दिमाग खराब’ले कुनै एउटा पार्टीलाई पक्षपोषण गरेको आरोप लगाए । उनले, कुनै पार्टीलाई पक्षपोषण गरेकाले पनि यो फिल्म राम्रो बनेको हो कि भन्दै प्रश्न सोझाएका थिए । 

उनले, फिल्मलाई कसरी वुझ्ने भन्नेमा समस्या भएको तर्क गरे । नबिनले फिल्मलाई संकृती भन्ने तर कुनै एक पार्टीलाई समर्थन गरेर बनाउने भन्दै आपत्ती जनाएका थिए । यतिमात्र होइन, उनले फिल्म देशको हुन्छ भने पार्टीको किन बनाउने भनेर प्रश्न गरेका थिए ।

एकातिर नबिन सुब्बाले यस्तो आरोप लगाउँदै गर्दा अर्कोतिर यो फिल्मको प्रचारमा राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरु खुलेरै लागे । सभापति रवि लामिछानेले त यो फिल्म हेर्नका लागि विभिन्न ठाउँमा पुगेर आग्रह पनि गरे । 

फिल्मले विशेषगरि नयाँ दल र स्वतन्त्रहरुतर्फ बढी झुकाव राख्छ । यो फिल्म हेरेर हलबाट निस्किएका अधिकांश दर्शकले वि.सं २०८४ को निर्वाचनमा फिल्मको प्रभाव देखिने बताएका थिए । 

निर्देशक निश्चल बस्नेतले भने फिल्मका बारेमा आएका विभिन्न खालका टिप्पणीहरुलाई सामान्य रुपमा लिएको देखियो । तर, ‘दिमाग खराब’ले स्वतन्त्र र नयाँ पार्टीलाई काखी च्याप्दै पुराना पार्टीहरुप्रति जनताको दिकदारीलाई स्पष्ट रुपमा प्रस्तुत गरेको छ । 

एउटा फिल्मको प्रभाव बलियो हुन्छ । यो बर्ष नै रिलिजमा आएको साहरुख खान अभिनित फिल्म ‘जवान’को एउटा संवाद खुबै हिट भयो । साहरुख खानले फिल्म भित्र भोट दिनु अगाडि उम्मेदवारलाई के–के प्रश्न सोध्ने भनेर स्पष्ट भनेका छन् ।

यो संवादलाई भारतका राजनीतिक दलहरुले आ–आफ्नो फाइदाका लागि प्रयोग गरे । आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले त यो फिल्म हेर्न जनतालाई आग्रह नै गरे । अर्कोतिर, कांग्रेस र बिजेपीले पनि एक अर्काको विरुद्धमा साहरुखको उक्त संवादलाई चुनावमा प्रयोग गरेका थिए । 

फिल्मले समाज र देशको वेथितीलाई स्पष्ट रुपमा देखाउनुपर्छ । तर, त्यसले कुनै पार्टीको झण्डा ओड्न भने हुँदैन । बक्स अफिसमा ५१ दिन मनाएको फिल्म ‘दिमाग खराब’लाई यही आरोप लाग्दै आएको छ । 

यसैबिच, फिल्मको सफलता कार्यक्रममा निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब २’ निर्माणको घोषणा मात्र गरेनन् प्रदर्शन मिति पनि तय गरिदिए । उनले, निर्देशन गर्ने यो फिल्म वि.सं २०८३ सालको दशैंमा रिलिज हुँदैछ । 

निश्चलले किन ३ बर्षपछि मात्र यो फिल्म रिलिज गर्ने घोषणा गरेका होलान् ? यहाँ, विचार गर्नुपर्ने एउटा कुरा के छ भने, वि.सं २०८४ मा स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुँदैछ । यदि, यो फिल्म वि.सं २०८३ मा रिलिज भयो भने त्यसको प्रत्यक्ष प्रभाव निर्वाचनमा पर्ने निश्चित छ ।

किनकी, निश्चलले ‘दिमाग खराब’मा उठाएको बिषयले भने ‘दिमाग खराब २’मा कस्तो बिषय उठाउन सक्छन् भन्ने वुझ्न सकिन्छ । 

निश्चलले ३ बर्षपछि बल्ल फिल्म रिलिज गर्ने सोच बनाउनुले पनि उनको ‘मिसन ८३’ कतै वि.सं २०८४ को निर्वाचनसँग जोडिएको त छैन भनेर प्रश्न उठाउने ठाउँ छ । 

हेरौ, निश्चलले ‘दिमाग खराब’मा कस्तो बिषय उठाउनेछन् र त्यसले राजनीतिक रुपमा कस्तो तरंग ल्याउनेछ ?