दीपकराजको छलाङः फिल्म र हलपछि अब फिल्म स्टुडियो

नेपाली बक्स अफिसका ‘राजा’ मानिएका दीपकराज गिरी र उनको टिमले यो बर्ष कुनै पनि फिल्म तयार गरेन । दीपकको टिमले फिल्म रिलिज नगर्दा नेपाली फिल्म क्षेत्रलाई भने केही घाटा लागेको छ । यो बर्ष अर्को एक ब्लकबस्टर फिल्म नेपाली फिल्म क्षेत्रले नपाउने निश्चित छ । 

तर, यो बर्ष फिल्म रिलिज नभएपनि दीपकराज गिरी र उनको टिमले ‘आईएनआई’ नामक हल नयाँ बाँनेश्वरमा संचालनमा ल्याएको छ । यो हलमा दर्शकको चाप सुखद हुन थालेको छ । दीपक भन्छन्–‘यो बर्ष हामीले फिल्म रिलिज गर्न पाएनौँ । तर, दर्शकका लागि हल ल्याएका छौँ । यसबर्ष दिमाग पुरै हलमा लगाउनुपर्दा फिल्म तयार गर्न भ्याएनौँ ।’

दीपकराज गिरीले अर्को बर्ष भने दुई वटा फिल्म रिलिज हुने बताए । उनले भने–‘आउँदो बर्ष भने हामीले दुई वटा फिल्म दर्शक माझ ल्याउने गरि काम अगाडि बढाइरहेका छौँ । यसका लागि दीपकले बाहिरी ब्यानरको फिल्मको कथा पनि पढिरहेका छन् भने आफ्नै ब्यानरका लागि पनि कथा लेखिरहेका छन् ।’

एउटा फिल्मलाई दशैँ र अर्को फिल्मलाई वि.सं २०८१ सालको अन्तिममा रिलिज गर्ने गरि काम भइरहेको दीपक बताउँछन् । 

दीपकले केही बाहिरी ब्यानरका फिल्मको कथा पढिरहेका छन्, तर अहिलेसम्म कुनै पनि टिमसँग काम गर्ने गरि संझौता गरेका छैनन् । 

दीपकले केही बर्षपछि फिल्म स्टुडियो पनि संचालनमा ल्याउने संकेत गरेका छन् । यसका लागि चन्द्रागिरि नगरपालिकामा नै स्टुडियो निर्माणको काम धमाधम अगाडि बढिरहेको दीपकको भनाई छ । यसरी हेर्दा, फिल्म निर्माणबाट अगाडि बढेका दीपकराज गिरी र उनको टिमले फिल्म हल हुँदै फिल्म स्टुडियोसम्मको योजना अगाडि बढाएको छ ।