टिकटकरको फिल्मी यात्राः कस्तो होला गरिमादेखि मिस पबीको करिअर ?

नेपाली फिल्म क्षेत्रमा नायिकाहरू धेरै छन् । तर, नाम चलेका र व्यस्त थोरै मात्र देखिन्छन् । 

केही नायिकाहरूको हातमा फिल्मको अभाव छैन । यी बाहेक अधिकांश टिकटकमा भिडियो बनाएर वा केही म्युजिक भिडियो खेलेर नै समय कटाइरहेका छन् । 

तर, नेपाली फिल्म क्षेत्रमा म्युजिक भिडियोमा काम गर्दै प्रवेश गर्नेहरूको संख्या पनि राम्रै भेटिन्छ । 

कोराना महामारीको लकडाउनपछि नेपालमा टिकटकको क्रेज बढ्यो । यही क्रेजका बीचमा थुप्रै प्रतिभाहरू जन्मिए । ती मध्ये केहीले म्युजिक भिडियोमा पनि राम्रै चर्चा पाए । तर, आजको दिनसम्म आइपुग्दा थोरैको मात्र अनुहार चलिरहेको छ । 

म्युजिक भिडियोबाट फिल्मसम्मको यात्रा तय गर्न सहज छैन । केहीले भने यो यात्रालाई पनि अगाडि बढाएका छन् । तर, उनीहरूको फिल्मी यात्रा कस्तो हुने हो भन्ने अनुमान अहिले नै लगाउन सकिँदैन । 

टिकटकबाट म्युजिक भिडियो हुँदै फिल्मसम्मको यात्रा गर्नेमा गरिमा शर्मा सबैभन्दा अगाडि छिन् । उनको हातमा फिल्मको अभाव छैन । उनी, हाल फिल्म ‘ह्रस्व दीर्घ’को छायांकनमा व्यस्त छिन् ।

उनले, फिल्म ‘लण्डन टू पेरिस’को छायांकन सकेपनि यो फिल्म कहिलेबाट रिलिज हुन्छ पक्का भएको छैन । यसैले, दर्शकले उनको काम हेर्न पाएका छैनन् । यस्तै, उनले फिल्म ‘दौँतरी’ पनि साइन गरिसकेकी छिन् । यो फिल्म पनि कहिलेबाट रिलिज हुन्छ पक्का छैन । 

मोडल कुसुम शर्माले पनि फिल्म ‘सञ्जीवनी’ साइन गरेकी छिन् । तर, यो फिल्मको छायांकन पनि निर्धारित मितिमा सुरु हुन सकेको छैन । यो फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक दिनेश श्रेष्ठ छन् । तर, क्यानडामा यो फिल्मको छायांकन हुने भएकाले पनि निर्माणपक्ष अप्ठ्यारोमा परिरहेको छ । फिल्म ‘सञ्जीवनी’ बनेर हलमा आयो भने मात्र कुसुमको कामको मुल्यांकन गर्न सकिनेछ । 

अब, अर्की टिकटकर मिस पबी पनि फिल्ममा देखिने भएकी छिन् । उनले अभिनय गर्ने फिल्म ‘राजमहल’को पनि निर्माण घोषणा भएको छ ।

फिल्ममा आँचल शर्मा केन्द्रीय भूमिकामा भएकाले मिस पबीले आफूलाई अझै सशक्त रुपमा दर्शक माझ ल्याउन आवश्यक छ । 

यस्तै, यही फिल्मबाट पनि टिकटकर सिम्रन पन्तले पनि अभिनयमा डेब्यू गर्दैछिन् । यी टिकटकरहरुले त फिल्ममा अवसर पाएका छन् । तर, हलमा फिल्म नआएसम्म उनीहरूको काम र करिअरको ग्राफको मुल्यांकन गर्न गाह्रो पर्छ । कतिपय मोडलहरु भने फिल्ममा प्रवेशका लागि पर्खाइमा छन् ।