आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

नायिका वर्षा सिवाकोटी अभिनीत दुई फिल्म ‘ए साथी सुन र परदेशी २’ यो बर्ष रिलिजमा आए । जसमा ‘ए साथी सुन’ले पानी पनि भन्न पाएन । ‘परदेशी २’ बक्स अफिसमा हिट भएपनि यसको फाइदा वर्षालाई खासै भएन ।  

उनै, वर्षाले लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’ साइन गरेर बसेकी छिन् । उनले, फिल्म ‘कामिनो’मा काम गर्ने पक्का भएपनि फिल्म नै नबन्ने अवस्था आएपछि यो प्रोजेक्टबाट हात झिकिसकेकी छिन् । 

फिल्ममा मुख्य नायिकाको रुपमा चर्चा सेलाउँदै गएपछि वर्षाले फिल्मका आइटम गीतमा बढी ध्यान दिन थालेको देखिन्छ । भदौमा प्रदर्शनमा आएको फिल्म ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीतमा वर्षाले नृत्य गरिन् । 

वर्षाको हातमा फिल्म खासै छैन । तर, पनि उनलाई कामको अभाव भने नभएको जस्तो देखिन्छ । किनकी, उनले फिल्ममा आइटम नृत्य समेत गरेर भएपनि आफूलाई व्यस्त बनाइरहेकी छिन् । उनले मंसिर २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘दुई कदम’को ‘ए मेरा बाबै नि’ गीतमा आइटम डान्स गरेकी छिन् ।

फिल्ममा मुख्य नायिकाको अफर कम आउन थाल्नु र आइटम गीतमा अफर आउँदा काम गर्न राजी हुनुले कतै वर्षाको मन बदलिएको त होइन भन्ने आशंका फिल्म वृत्तमा हुन थालेको छ । 

स्मरण रहोस्, केही बर्ष अगाडि नायिका सुष्मा कार्कीले मुख्य नायिकाको रुपमा काम पाउन छाडेपछि आइटमलाई रोजेकी थिइन् । यसपछि, उनी केही बर्ष आइटममा चलिन् र अहिले कामविहिन छिन् । वर्षाले बरु, एउटा गीतमा नै सही, दर्शकमाझ आइरहन सकिन्छ भन्ने सोच बनाएको हुनुपर्छ । 

फिल्म क्षेत्रमा ‘गुमनाम’ हुन कोही कलाकार पनि चाहँदैनन् । फिल्मको एउटै गीतमा काम गरेर भएपनि चर्चामा आइरहने बाटोमा वर्षा लागेकी छिन् । मेकरले उनलाई आइटम नृत्यमा पनि कहिलेसम्म पत्याउने हुन्, समयले नै बताउँला ।