वर्षा माथि धेरै दबाब

फिल्म 'परदेशी २' भोलि शुक्रबारबाट रिलिज हुँदै छ । यो आठ वर्ष अघि रिलिज भएको 'परदेशी'को सिक्वेल हो । 

नारायण रायमाझीको निर्देशनमा बनेको यो फिल्ममा नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा छिन् । 

यो फिल्मले वैदेशिक रोजगारीमा गएका विद्यार्थीहरूको कथा भन्छ ।  फिल्मको प्रचार प्रसारलाई निकै महत्त्व दिएकी वर्षाले मौलिक नेपाली कथामा फिल्म बनेकाले सम्पूर्णले 'परदेशी २' हेर्न नछुटाउन अनुरोध गरेकी छिन् ।

उसो त यो फिल्म वर्षाका लागि चल्नै पर्ने दबाब पनि छ । यस अघि रिलिज भएका उनका दुई फिल्म 'ए साथी सुन' र 'मनसँग मन' बक्सअफिसमा असफल भएका थिए । जसले गर्दा वर्षाका लागि यो फिल्म चलेर बक्सअफिसमा सफल भएको खण्डमा ठुलो सान्त्वना मिल्ने देखिन्छ ।

त्यसो त वर्षाको 'परदेशी २' पछि पनि अर्को फिल्म 'पशुपति प्रसाद २: भष्मे डन' रिलिज हुँदै छ । तर यो फिल्ममा उनको रोल धेरै छैन । उनी अतिथि भूमिकामा छिन् । जसले गर्दा उनका लागि परदेशी २ चल्नै पर्ने दबाब छ । 'परदेशी २' चलोस् भन्नकै लागि वर्षा यति बेला प्रचार प्रसारमा देश दौडाहा र दिनहुँ जसो अन्तरवार्ता दिइरहेकी छिन् ।

फिल्ममा वर्षासँगै प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी लगायतका कलाकार छन् । यी कलाकारका आ-आफ्नै फ्यान भएका कारण पनि फिल्मलाई फाइदा हुने देखिन्छ ।